२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी असहज भएपछि वितरणमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइने भएको छ । होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीहरूले भने उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्ने भएको छ ।
पछिल्लो समय राजमार्गमा आएको पहिरो तथा अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले यस्तो व्यवस्था गरेको हो ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार व्यावसायिक क्षेत्रमा ग्यास बिक्रीमा पूर्ण रोक लगाइएको भने होइन । ‘व्यावसायिक प्रयोजनमा रोक लगाइएको होइन, तर अहिलेको विषम परिस्थितिमा सर्वसाधारणको भान्सा प्रभावित नहोस् भनेर प्राथमिकता घरायसी उपभोक्तालाई दिइएको हो,’ प्रवक्ता ठाकुरले भने, ‘व्यावसायिक प्रयोजनका लागि ग्यास चाहिने व्यवसायीहरूले काठमाडौंका ब्रान्डहरू रिफिलिङ हुने तराईका उद्योगहरूबाट आफैँ ढुवानी गरेर ल्याउन सक्नुहुन्छ ।’
सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ मध्ये १८ वटा उद्योगमा ग्यास बुलेट पुग्न सकेको छैन । धादिङ, काभ्रे र काठमाडौंमा रहेका ती उद्योगहरूमा बुलेट जान नसकेपछि ती उद्योगका सिलिन्डरहरू ट्रक मार्फत तराईका बोटलिङ प्लान्टमा पठाएर रिफिलिङ गरी उपत्यका भित्र्याउने तयारी भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij