२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बाढी तथा प्राकृतिक विपद्का कारण बैंकिङ कारोबार गर्न आवश्यक चेक, एटीएम कार्ड, मोबाइल फोन तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै विपद्बाट प्रभावित ग्राहकको बैंकिङ सेवा नरोक्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार ग्राहकले आवश्यक कागजात गुमाएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफूसँग सुरक्षित रहेको ग्राहकको विवरणका आधारमा पहिचान पुष्टि गरी वित्तीय सेवा उपलब्ध गराउनुपर्नेछ ।
बैंकमा रहेको ग्राहकको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहक यकिन गरी सेवा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यसबाट बाढीका कारण महत्वपूर्ण कागजात तथा बैंकिङ सामग्री गुमाएका सेवाग्राहीलाई तत्काल बैंकिङ कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंकले रसुवालगायत प्राकृतिक विपद्बाट प्रभावित जिल्लाका ग्राहकलाई विशेष प्राथमिकताका साथ बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्न भनेको छ ।
त्यस्तै, प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।
प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित नागरिकलाई दैनिक आवश्यकताका लागि रकम झिक्न, पठाउन तथा अन्य वित्तीय कारोबार गर्न समस्या नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij