२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालतले सुर्खेतकी १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणमा बालसुधार गृहमा रहेका चार नाबालकमध्ये तीन जनालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
भदौ १५ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले तीन जना नाबालकलाई तारिखमा छाड्न आदेश दिएको हो । उनीहरूलाई गत चैतदेखि इनिसामाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बालसुधार गृहमा राखिएको थियो ।
सर्वोच्चले सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतका यसअघिका आदेश बदर गर्दै १५, १६ र १७ वर्षीय तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । उनीहरूको परिवर्तित नाम ‘वीरेन्द्रनगर घ’, ‘वीरेन्द्रनगर फ’ र ‘वीरेन्द्रनगर न’ राखिएको छ । मुख्य अभियुक्त मानिएका १६ वर्षीय ‘वीरेन्द्रनगर प’ भने थुनामै रहनेछन् ।
सर्वोच्चका अनुसार तीनै जना नाबालकले घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका थिए । मुख्य अभियुक्त मानिएका ‘वीरेन्द्रनगर प’ले समेत उनीहरूको घटनामा कुनै कसुर नरहेको बयान दिएको अदालतले उल्लेख गरेको छ ।
यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान, फोन संवादको समय तथा ट्राफिक कार्यालय, आयुर्वेद अस्पताललगायतका स्थानका सीसीटीभी फुटेज विश्लेषण गर्दा तीन जना नाबालक घटना घटेपछि उद्धार तथा सहयोगका लागि मात्र घटनास्थल पुगेको देखिएको सर्वोच्चले जनाएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४(२)(ख) बमोजिम थुनामा राख्न आवश्यक पर्याप्त प्रमाण र आधार नदेखिएको भन्दै सर्वोच्चले उनीहरूलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij