२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमालेले छाडेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको तयारी गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार नवनियुक्त मन्त्रीको शपथ आज बिहान साढे ११ बजे गराउने तयारी छ । सचिवालयले ‘मन्त्रीको नियुक्ति आजै हुँदैछ, शपथका लागि तयारी गरिएको’ जनाएको छ ।
आज एकजनामात्रै मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । नेपाल समाजवादी पार्टी (नेसपा)का फणीन्द्र देवकोटा मन्त्रीमा नियुक्त हुन लागेका हुन् । यद्यपि, उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन ।
हाल गण्डकी प्रदेशमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था कृषि तथा सहकारी, स्वास्थ्य तथा उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छन् ।
केन्द्रमा भएको निर्णयअनुसार गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चारैजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि ती मन्त्रालयहरू रिक्त भएका हुन् ।
देवकोटा यसअघि गण्डकी प्रदेश सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री थिए । जेनजी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारबाहिर रहे पनि उनले मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij