२०८३ आश्विन १ गते बिहिवार
काठमाडौँ- ६४ हजार रुपैयाँ घुस रकमसहित काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की रंगेहात पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले सातौँ तहमा कार्यरत इन्जिनियर कार्कीका साथै घुस रकम लिन मध्यस्थता गर्ने आस्मा कार्कीलाई समेत नियन्त्रणमा लिएको हो।
नगरपालिका क्षेत्रभित्र भवन निर्माणका क्रममा 'स्ट्रक्चरल एनालाइसिस' (संरचनात्मक विश्लेषण) को काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दीपा नगरपालिकाको भवन तथा बस्ती विकास शाखा प्रमुखका रुपमा कार्यरत थिइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि मंगलबार विशेष अदालतबाट म्याद थप अनुमति लिइएको छ। उनीहरूलाई हिरासतमा राखी गैरकानुनी लाभ लिएको अभियोगमा थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij