२०८३ आश्विन १ गते बिहिवार
१. संसदमा एक हप्ता विपद्बारे मात्रै छलफल हुने, दलका नेताहरुले सम्बोधन गर्ने
संघीय संसदको कार्य व्यवस्था परामर्श समितिको मंगलवार बसेको बैठकले प्रतिनिधि सभाको बैठक बुधवार (भोलि) देखि नै सुचारु गर्ने निर्णय गरेको छ । प्रतिपक्ष दलहरुको आग्रह र दबाबपछि यसअघि ढिलो गरी बस्ने भनिएको बैठकलाई अगाडि सारिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले बाढीपहिरो जस्तो राष्ट्रिय संकटको समयमा जनसरोकारका मुद्दाहरू उठाउन संसद छिटो सञ्चालन हुनुपर्नेमा जोड दिइएको बताउनु भयो । उहाँकाअनुसार शुरुमा आगामी असोज २२ गतेका लागि बैठक आह्वान गर्ने तयारी भएपनि दलहरूको सुझावका आधारमा भोलिबाटै सदन सुचारु गर्न सभामुख सहमत हुनुभएको हो । भोलिको बैठकमा हालैको प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशेष शोक प्रश्ताव पारित गर्ने कार्यसूची तय गरिएको छ ।
२. विपद् व्यवस्थापनमा सरकारको सक्रियता पुगेन, संसदलाई यथार्थ जानकारी गराउनुपर्छः कमला पन्त
राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले प्राकृतिक विपत्तिका बेला सरकारको उपस्थिति प्रभावकारी नभएको भन्दै आलोचना गर्नुभएको छ । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा राज्यको उपस्थिति कागजमा मात्र नभई पीडितको घरदैलोमा देखिनुपर्नेमा जोड दिनुभयो । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभयो । बाढीका कारण तिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशुली क्षेत्रका बस्ती तथा सडक, सञ्चार र जलविद्युत आयोजना जस्ता महत्त्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुगेको उहाँले बताउनु भयो । सरकारले विदेशी प्राविधिक टोलीलाई फिर्ता पठाएको भन्ने सुन्नमा आएको उल्लेख गर्दै उहाँले संकटको समयमा यस्तो गैरजिम्मेवार व्यवहार नगर्न सचेत गराउनु भयो ।
३. विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ
गृहमन्त्री सुदन गुरुङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले उद्धारका क्रममा भोग्नुपरेका जटिलता, अन्तर्राष्ट्रिय सहयोग र राहत वितरणको अवस्थाबारे जानकारी दिनुभयो । विपद्ग्रस्त क्षेत्र, विशेषगरी थ्री ए र टनेल क्षेत्रमा उद्धार कार्य अत्यन्तै कठिन रहेको उहाँले बताउनु भयो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण हवाई उद्धारमा समस्या भए पनि रातको समयमा समेत प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अहिले सुरुङको माथिल्लो भाग (हेड) बाट खनेर वा ड्रिल गरेर भित्र रहेकाहरूका लागि अक्सिजन र खाद्यान्न पु¥याउन सकिन्छ कि भन्ने वैकल्पिक योजनामा सरकारले काम गरिरहेको उहाँले बताउनु भयो । विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चाको खण्डन गर्दै गृहमन्त्रीले नेपाल सरकारले शुरुदेखि नै छिमेकी राष्ट्रहरूसँग समन्वय गरिरहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार हाल भारतीय र चिनियाँ टोलीहरूले नेपाली सेनासँगको समन्वयमा प्राविधिक सहयोग र उद्धार कार्य गरिरहेका छन् ।
४. रुिवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु)
स्याँफ्रुबेंसी,टिमुरे, बेत्रावती लगायत भोटेकोशी बाढीले बगाएका स्थानहरु अहिले चित्कार र विलापको बगर बनेको छ । भदौ १० गते मध्यरातमा भोटेकोशीको मुहानबाट गर्जंदै झरेको कालो लेदो र चट्टानी बाढीले केरुङ, रसुवागढी, स्याफ्रुबेंसी, मैलुङ हुँदै बेत्रावतीका सयौं वर्ष पुराना बस्तीहरूलाई केही मिनेटमै सोहोरेर त्रिशूलीको गहिराइमा बिलाइदियो । भदौ १० गते बिहान जब रसुवा र नुवाकोटका सीमावर्ती बासिन्दा नयाँ दिनको दिनचर्या शुरु गर्दै थिए । हिमालको फेदबाट ढुङ्गा र माटोको भीषण गडगडाहट सुनियो । सीमाक्षेत्र केरुङतर्फ भीषण हिमताल वा पहिरो थुनिएर फुटेको बाढी भोटेकोशीको साँघुरो गल्छीबाट उर्लिएको थियो । पानीको सतह सामान्यभन्दा धेरै मिटर माथि उठेको थियो । खोला किनारका घरहरू तासको पत्ताझैं ढले र सडकहरू क्षतविक्षत भए । कतिले आँखा अगाडि आफ्नै घर र छिमेकीका परिवार खोलाले निलेको देखे । न बचाउन गुहार माग्न सके न कता भाग्ने पत्तो भयो । बेत्रावती बजारको आधा भाग अहिले त्रिशूलीको बगर भएको छ ।
५. रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले भदौ १० गते रसुवागढीको टिमुरे नाकामा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता सुवेदीले उक्त बाढीलाई इतिहासकै क्रूर र हृदयविदारक घटनाको रूपमा चित्रण गर्नुभयो । सो विपद्मा थुप्रै नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत झन्डै दुई दर्जन जिल्लाका नागरिकलाई प्रभावित पारेको छ । साथै, सो क्षेत्रमा रहेका चीन, भारतसहित विभिन्न देशका सयौँ पर्यटकहरू समेत बेपत्ता भएको उहाँले जानकारी दिनुभयो ।
६. रसुवा बाढी अपडेटः हालसम्म १०५० को मृत्यु, ३,९१६ जना अझै बेपत्ता
रसुवा केन्द्रबिन्दु भई आएको विनाशकारी भोटेकोशी बाढीका कारण हालसम्म १ हजार ५० जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय १६ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज (भदौ १६ गते) साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो । प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान गुमाउने १०५० मध्ये विभिन्न स्थानबाट शव फेला पार्ने क्रम जारी छ । नुवाकोटमा १ सय ४२, रसुवामा ४१, तनहुँमा ३८, धादिङमा ५७, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५ र चितवनमा ३२१ जनाको शव फेला परेको विवरण प्राप्त भएको छ ।
७. रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता
रसुवा बाढीमा परी निधन हुनेहरुको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो । विभिन्न जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म चितवनमा ३ सय २१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । यसमा विभिन्न मानव अङ्गहरूसमेत समावेश छन् । विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन् । घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनामार्फत २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको छ ।
८. रसुवा बाढी अपडेटः ९८७ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भोटेकोशी बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले (आज) मंगलवार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान गुमाउनेहरूको शव विभिन्न जिल्लाबाट सङ्कलन गरिएको छ । जसअनुसार चितवनमा सबैभन्दा बढी ३२१ (विभिन्न मानव अङ्गसहित), नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ । यसैगरी नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन् । नेपाली सेनाले मात्रै २ हजार ७४० जनालाई स्वास्थ्य उपचार प्रदान गरेको छ ।
९.भोलिदेखि संसद बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रश्ताव पारित गरिने
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा जनसरोकारका विषयलाई सम्बोधन गर्न संसदको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मंगलवार आयोजित कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संसद् बैठक शिघ्र सुचारु गर्नुपर्नेमा जोड दिनुभएको हो । प्रमुख सचेतक थापाकाअनुसार यसअघि भदौ २२ गतेका लागि तय गरिएको संसद बैठक राजनीतिक दलहरूको आग्रह र कार्यव्यवस्था परामर्श समितिको निर्णयबमोजिम बुधवार (भोलि) देखि नै सुचारु हुने भएको छ । भोलिको बैठकमा हालैको अविरल वर्षा, बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव पारित गरिने जानकारी उहाँले दिनुभयो ।
१०. भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा क्षति
भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार बाढी र पहिरोले विशेषगरी गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको छ । महानिर्देशक जैसीकाअनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ । यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ । गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो, जसलाई विभागले चुनौतीपूर्ण अवस्थाका बीच पन्छाएर यातायात सुचारु गरेको छ ।
११. भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने
शहरी विकास तथा भवन निर्माण विभागले भदौ १० गतेको भोटेकोशी बाढीबाट देशका विभिन्न जिल्लामा ७ हजार ५ सय ७० वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक ई. रवीन्द्र बोहराले बाढी र पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्र्थापना योजनाबारे जानकारी दिनुभएको हो । विभागको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ । नुवाकोटमा ३ हजार ९ सय ७७, धादिङमा ३ हजार ४ सय ५१ र रसुवामा १ हजार ७ सय ७९ घरमा क्षति पुगेको छ । यसैगरी गोरखामा २ सय ६३ र चितवनमा ६१ वटा घर क्षतिग्रस्त भएका छन् । निजी आवासतर्फ करिव १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ ।
१२. भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग सक्रिय
भोटेकोशी बाढीका कारण बाढी प्रभावित विभिन्न जिल्लामा खानेपानी तथा सरसफाईका संरचनामा ठूलो क्षति पुगेको छ । नेपानी तथा ढल व्यवस्थापन विभागकाअनुसार बाढी प्रभावित चार जिल्लाहरूमा मात्रै करिव ६४ करोड रुपैयाँ बराबरको भौतिक संरचना र २९ करोड रुपैयाँ बराबरको सरसफाइ संरचना (शौचालय आदि) गरी कुल ९३ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलराज श्रेष्ठले दिनुभएको जानकारी अनुसार नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लाका खानेपानी आयोजनाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । विभागकाअनुसार धादिङ जिल्लामा त्रिशूली नदी किनारमा रहेका ६५ वटा ‘समवेल’ (इनार) इन्टेक र १११ वटा रिजर्भवाइर ट्याङ्कीमा क्षति पुगेको छ । त्यस्तै, रसुवामा १४ वटा इन्टेक र १० वटा रिजर्भवाइर, नुवाकोटमा ११ वटा इन्टेक र ७ वटा रिजर्भवाइर तथा गोरखामा ४ वटा इन्टेक र २४ वटा रिजर्भवाइर ट्याङ्की बाढीले क्षतिग्रस्त बनाएको छ ।
१३. भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन जडान गरिँदै
भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लाका ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । महानिर्देशक साहकाअनुसार कुल क्षतिग्रस्त पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका (वास आउट) छन् भने २० वटा सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । पूर्ण रूपमा क्षतिग्रस्त भएका ३३ वटा पुलको पुनर्निर्माण गर्नुपर्ने र बाँकी २० वटाको मर्मत कार्य तत्काल अघि बढाइने विभागले जनाएको छ । बाढीले पुल बगाएपछि विच्छेद भएको जनजीवन र दुई बस्तीबीचको आवागमनलाई सहज बनाउन विभागले तत्काल पाँच स्थानमा अस्थायी तुइन जडान गर्ने कार्य शुरु गरेको छ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको इन्द्रायणी चौरमा २५५ मिटर लामो तुइन सोमबारदेखि सञ्चालनमा आइसकेको छ ।
१४. भोटेकोशी बाढीको वितण्डाः राष्ट्रिय शोक घोषणा गर्न र राहतमा तदारुकता देखाउन सांसदहरूको माग
राष्ट्रिय सभाका सदस्यहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बेपत्ता नागरिकहरूको खोजी, प्रभावकारी राहत वितरण र ‘राष्ट्रिय शोक दिवस’ घोषणा गर्न माग गरेका हुन् । बैठकमा बोल्दै सांसद कमला पन्तले मनसुनजन्य विपत्तिका बारेमा संसदमा पटक–पटक पूर्वसावधानीका लागि ध्यान आकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढिरहेकाले चेतावनीलाई बेवास्ता नगरी तत्काल उद्धारमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गर्नुभयो । सांसद मदनकुमारी शाहले बाढीका कारण ९ सय भन्दा बढीको मृत्यु भएको र हजारौँ बेपत्ता भएको जानकारी दिँदै १७ हजारभन्दा बढी बालबालिका प्रभावित भएको बताउनु भयो । उहाँले ‘अरूको विकासको कारण हामीले विनाश भोग्नुपरेको’ उल्लेख गर्दै राष्ट्रिय झण्डा झुकाएर शोक व्यक्त गर्न र सेल्टरमा रहेका महिला तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन माग गर्नुभयो ।
१५. भोटेकोशी बाढीको क्षतिप्रति सांसद महन्थ ठाकुरद्वारा राष्ट्रिय सभामा शोक व्यक्त
जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ठाकुरले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । सांसद ठाकुरले बाढीलाई एक ठूलो प्राकृतिक विपत्तिको संज्ञा दिँदै यसले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत पु¥याएको उल्लेख गर्नुभयो । बाढीका कारण कैयौँ नागरिक बेपत्ता भएको र सीमापारि समेत शवहरू भेटिएको घटनाले सबैलाई स्तब्ध बनाएको उहाँको भनाइ छ ।
१६. भोटेकोशी बाढीः सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (तस्बिरसहित)
भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पु¥याउन गम्भीर चुनौती खडा भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका वडा नं. ३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
१७. भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग गर्ने
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । रोल...
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि राष्ट्रिय एकताका साथ अघि बढ्न अपिल गर्नुभयो । अध्यक्ष दाहालकाअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण उल्लेख गर्दै उहाँले भदौ १६ गतेसम्म ११ हजार ८ सय १४ जनाको उद्धार गरिएको र ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभयो ।
१८. बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि काठमाडौंमा पनि जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ । देशभरका अस्पतालहरूमा रहेका शवगृहको क्षमता भन्दा बढी शव संकलन भएपछि सरकारले सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार देशभरका अस्पतालहरूमा कुल ६ सय शव मात्र राख्न सक्ने क्षमता रहेको छ । हालसम्म एक हजार शव संकलन भइसकेको र अझै चार हजार भन्दा बढी मानिस सम्पर्कविहीन रहेकाले शवगृहले भार थाम्न नसक्ने अवस्था सिर्जना भएको हो ।
१९. बाढी प्रभावितको उद्धार र पुनस्र्थापनामा युद्धस्तरमा जुट्न सरकारसँग एमाले नेता डा. दंगालको आग्रह
राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । रोल...
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दंगालले विपद्को यस घडीमा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो । चीनको तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको सन्दर्भ उल्लेख गर्दै उहाँले हजारौँ नागरिक अझै बेपत्ता रहेको र घाइतेहरूको सङ्ख्या ठूलो रहेको बताउनु भयो । मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै उहाँले बेपत्ताको खोजी र घाइतेको उपचारमा ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले राहत वितरणमा देखिएको सुस्तताप्रति चिन्ता व्यक्त गर्दै तीनै तहका सरकारबिच प्रभावकारी समन्वय गरी राहत र खोज कार्यलाई गति दिन आग्रह गर्नुभयो ।
२०. बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति मिल्थ्यो’
गत भदौ १० गते चीनको केरुङ क्षेत्रबाट आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) का कारण हजारौँ नागरिक बेपत्ता भएका छन् भने अर्बौँको भौतिक पूर्वाधार ध्वस्त भएको छ । विपद्को यतिका दिन बितिसक्दा पनि पीडितहरूले राज्यको उपस्थिति महशुस गर्न नसकेको र उद्धार तथा राहतमा चरम ढिलाइ भएको गुनासो गरेका छन् । कालिका गाउँपालिका–३ का स्थानीय अर्जुनप्रसाद न्यौपानेकाअनुसार बाढीले रसुवागढी बोर्डरदेखि बेत्रावतीसम्मको तल्लो र माथिल्लो तटीय क्षेत्रमा अपूरणीय क्षति पु¥याएको छ । रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेसी, पहिरेबेसी र मैलुङ लगायतका क्षेत्रमा रहेका मानवीय बस्ती र भौतिक संरचनाहरू बाढीले नामेट पारेको छ ।
२१. पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १६ जनाको शव सनाखत भएको छ । पोखरा लगिएका १०२ शवमध्ये १६ जनाको मात्रै सनाखत भएको हो । पहिचान हुन नसकेका बाँकी शवहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित सिंचाईको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी भइरहेको छ । शव व्यवस्थापनका लागि हाल उक्त स्थानमा तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने कार्य भइरहेको छ । भदौ १० गतेको प्राकृतिक विपत्तिमा परी उनीहरूको निधन भएको थियो । पहिचान हुन नसकेका मृतकहरूको शव व्यवस्थापनका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
२२. पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन शुरु
रसुवाको भोटेकोशी बाढीमा परी निधन भइ पोखरा लगिएका १०२ जनाको पोस्टमार्टम प्रक्रियासम्पन्न भएको छ । रोल...
पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ वटा शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य शुरु गरिएको हो । पोखरामा राखिएका १०२ वटा शवहरूमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा रहेका थिए । तीमध्ये २४ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी ७८ वटा शव पहिचान हुन बाँकी रहेका छन् ।
२३. जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति बैठकः बाढीपहिरो राहत र पार्टी समायोजन मुख्य एजेण्डा
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक भदौ शुरु भएको छ । मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बैठक शुरु भएको हो । देशमा बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो । पार्टीका महासचिव सुरेन्द्रकुमार झाकाअनुसार बैठकमा मुख्यगरी बाढीपहिरोले पु¥याएको मानवीय तथा भौतिक क्षति र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे गहन छलफल हुनेछ । सरकारले गरिरहेको उद्धार र राहत कार्यलाई अझ प्रभावकारी र घरदैलोसम्म पु¥याउन पार्टीले रचनात्मक सुझाव दिने तथा पार्टीको तर्फबाट भौतिक, आर्थिक र स्वयंसेवक परिचालन गरी राहत कार्यमा सघाउने निर्णय बैठकले गर्ने बताइएको छ ।
२४. जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकताको एजेण्डा बनाउनुपर्छः वनमन्त्री चौधरी
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । मन्त्री चौधरीले अति कम विकसित मुलुकहरुको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा आयोजित विज्ञहरुको छलफलमा जलवायु परिवर्तनको मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्नेमा जोड दिनुभएको हो ।
२५. जब शान्त बग्ने भोटेकोशी एक्कासि भयानक गर्जनसहित बस्तीतिर सोझियो... (तस्बिरहरु)
भीरको मुखमा अड्किएका घरहरू र आँशुमा डुबेका स्थानीय बासिन्दा । भदौ १० गते उर्लिएको भोटेकोशी बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याँफ्रुबेंसीलाई क्षतविक्षत बनाएको छ । स्याँफ्रुबेंसीमा भोटेकोशीको अभूतपूर्व कटान छ । नदीको तिब्र धारले दायाँबायाँका पहाडी स्लोपको जग नै उधिनेपछि हरियाली खेतबारी, पक्की घर र पासाङ ल्हामु राजमार्ग भग्नावशेषमा परिणत भएका छन् । भदौ १० गते स्याँफ्रुबेंसीका बासिन्दाका लागि केवल एउटा सामान्य थिएन । त्यो थियो जीवनभरको पसिना, सपना र थातथलो क्षणभरमै बालुवा र बगरमा विलीन भएको कालो प्रहर । मुसलधारे वर्षासँगै हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेन, वर्षौंदेखि जोडेको मानव बस्तीको भूगोल नै नामेट पारिदियो । मा
२६. काभा बिच भलिबलमा उपाधि लक्ष्यमा नेपाल
नेपाली राष्ट्रिय बीच भलिबल महिला र पुरुष टोली भुटानमा आयोजना हुने काभा बिच भलिबल टुरमा उपाधि जित्ने लक्ष्यमा छ ।
भुटानको राजधानी थिम्पुमा आगामी सेप्टेम्बर ४ देखि ६ तारिखसम्म बिच भलिबल टुर आयोजना हुँदै छ । उक्त टुरमा नेपालका समान २÷२ महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् । बीच भलिबलकी अनुभवी खेलाडी कमला पुन पनि उक्त टुरमा खेल्दैछिन् । उनी सम्मिलित टोलीले काभा बीच भलिबलमा नेपाललाई समान एक स्वर्ण र रजत दिलाएकी छन् । यसपल्ट उनी र कोपिला रानाको टोलीले थिम्पुमा प्रतिस्पर्धा गर्दैछन् । महिलाको अर्को टोलीमा सुनिता राई र भावना डाँगी छन् । पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले प्रतिष्पर्धा गर्नेछ । झमनसिंह दर्जी र शरण कार्कीको जोडीले पनि नेपालको चुनौती प्रश्तुत गर्नेछन् ।
२७. अफगानिस्तानमा दुई दशक लामो युद्धको दस्ताबेज समेटिएको पुस्तक सार्वजनिक
अफगानिस्तानमा २० वर्षसम्म चलेको अमेरिकी नेतृत्वको सैन्य उपस्थिति र त्यसका प्रभावहरूलाई समेटेर लेखिएको पुस्तक ‘मेमोरिज अफ जिहादः ट्वान्टी इयर्स इन अकुपेसन’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ । अफगानिस्तानको सूचना तथा संस्कृति मन्त्रालयका प्रकाशन उपमन्त्री मुहाजेर फराहीद्वारा लिखित यस पुस्तकमा सन् २००१ देखि २०२१ सम्मको युद्धकालीन समयका विभिन्न घटनाक्रमहरूलाई चित्रण गरिएको छ । विशेषगरी, सन् २००९ मा अफगानिस्तानको फराह प्रान्तमा अमेरिकी बमबारीका क्रममा मारिएकी आमाको दूध चुस्न खोजिरहेको एक अवोध शिशुको मार्मिक दृश्यबाट पुस्तकको उठान गरिएको छ ।
२८. अमेरिका–इरानबीच पुनः शुरु भएको द्वन्द्वप्रति राष्ट्रसंघको चासो, ‘अधिकतम संयम’ अपनाउन महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इरानबीच पुनः शुरु भएको द्वन्द्वप्रति गहिरो चासो व्यक्त गर्दै दुवै पक्षलाई ‘अधिकतम संयम’ अपनाउन आह्वान गर्नुभएको छ । गत सप्ताहान्तमा दुई देशबीच पुनः शुरु भएको शत्रुतापूर्ण सैन्य गतिविधि र आक्रमणका घटनाहरूपछि महासचिव गुटेरेसको यस्तो प्रतिक्रिया आएको हो । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले सोमबार आयोजित पत्रकार सम्मेलनमा यस विषयमा जानकारी गराउनुभएको हो । प्रवक्ता दुजारिककाअनुसार महासचिव गुटेरेसले करिब एक महिनाको सापेक्षिक शान्तिपछि फेरि शुरु भएको गोलाबारी र आक्रमणका घटनाहरूलाई ‘अत्यन्तै खेदजनक’ भन्नुभएको छ ।
२९. अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा
चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत कार्यलाई तिब्र पारेका छन् । अवरुद्ध सडकको मर्मत कार्य सम्पन्न भई नाकाभन्दा १ किलोमिटरभन्दा कमको दुरीमा पुगेको छ । गत अगस्ट २६ मा आएको भीषण पहिरोका कारण लेदो र ढुङ्गा थुप्रिएर यो राजमार्ग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । मर्मत कार्य भइरहेको भौगोलिक क्षेत्र निकै कठिन मानिएको छ । भिरालो पहाडी खोँचमा अवस्थित उक्त स्थानको एकातर्फ अग्लो भीर र अर्कोतर्फ प्रतिसेकेन्ड ६ देखि ७ मिटरको गतिमा बग्ने तिब्र बहावको नदी रहेको छ ।
३०. क्षेत्रीय सुरक्षा र सहयोगका लागि नयाँ संरचनाको अभ्यासः टर्की, साउदी अरब र पाकिस्तानबीच रक्षा गठबन्धन
टर्कीका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा ‘नयाँ सुरक्षा र सहयोग संरचना’ निर्माणको प्रक्रिया शुरु भएको बताउनुभएको छ । टर्की, साउदी अरब र पाकिस्तान सम्मिलित संयुक्त रक्षा समितिको उद्घाटन बैठक सम्पन्न भएपछि विदेशमन्त्री फिदानले यस्तो घोषणा गर्नुभएको हो । ‘मक्का रक्षा गठबन्धन’ को रणनीतिक, राजनीतिक तथा रक्षा समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै विदेशमन्त्री फिदानले क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरताका लागि जिम्मेवारी बहन गर्न आफूहरू तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको यस बैठकले क्षेत्रीय स्थिरताका लागि हाम्रो तत्परता प्रदर्शन गरेको छ । हामी पाकिस्तान र साउदी अरबजस्ता मित्र राष्ट्रहरूसँगको घनिष्ठ सहयोग र समन्वयलाई निरन्तरता दिनेछौँ ।’
३१. चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना
दक्षिण–पश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरुङ काउन्टीमा मंगलवार बिहान एक विशेष शोक सभाको आयोजना गरिएको छ । गत अगस्ट २६ मा आएको विनाशकारी लेदोसहितको पहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अगस्ट २६ को सो भीषण प्राकृतिक विपत्तिमा परी ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै कैयौँ मानिसहरू बेपत्ता भएका थिए । मंगलवार बिहान आयोजित स्मृति सभामा सहभागीहरूले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । उक्त पहिरोले केरुङ क्षेत्रमा व्यापक जनधनको क्षति पु¥याएको थियो। बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत कार्य जारी रहेकै समयमा स्थानीय अधिकारी र सर्वसाधारणको उपस्थितिमा यो शोक सभा सम्पन्न भएको हो ।
३२. टर्किए, साउदी अरब र पाकिस्तानबीच पहिलो संयुक्त रक्षा समितिको बैठक सम्पन्न
साउदी अरब र पाकिस्तानका शिर्ष कुटनीतिज्ञ तथा रक्षा प्रमुखहरूबीच सोमवार इस्तानबुलमा पहिलो संयुक्त रक्षा समितिको बैठक सम्पन्न भएको छ । हालै हस्ताक्षरित ‘मक्का संयुक्त रक्षा सम्झौता’ अन्तर्गत यो समितिको औपचारिक बैठक आह्वान गरिएको हो । इस्तानबुलस्थित बोस्फोरस जलसन्धको किनारमा रहेको सिरागन प्यालेसमा ‘रणनीतिक राजनीतिक तथा रक्षा समिति’ को बैठक बन्द कोठामा आयोजना गरिएको थियो। मुख्य बैठकको साथसाथै तीनै देशका प्रतिनिधिहरूबीच छुट्टाछुट्टै द्विपक्षीय वार्ताहरू समेत सम्पन्न भएका छन् । टर्किएका परराष्ट्र मन्त्रालयका स्रोतहरूकाअनुसार उक्त बैठकमा अन्तर्राष्ट्रिय सुरक्षाका मुद्दाहरू, रक्षा उद्योगमा सहकार्य र सैन्य अन्तरसञ्चालनका विषयमा विस्तृत छलफल भएको थियो ।
३३. कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ । रोल...
भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनु भयो । उहाँले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने जानकारी दिनुभयो । विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उहाँको भनाई छ ।
३४. टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन: प्रवक्ता पौडेल
रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले मंगलवार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताउनुभएको हो । उहाँकाअनुसार टनेल रेस्क्यूको लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरूले काम गरिरहेका छन् । उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् ।
३५. बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ वटा भन्दा बढी पुल बगाएको छ । रसुवा, नुवाकोट र धादिङका पक्की, बेलव्रिज तथा झोलुङ्गे पुल बगाएको हो । बाढीले केही पुल पूरै बगाएको छ भने केहिमा आंशिक क्षति पु¥याएको छ । तर त्रिशूली नदीमा भीषण बाढी आउँदा पनि धादिङको गल्छीमा रहेको एउटा पुल भने जोगिएको छ । अधिकांश पुलमा क्षति हुँदा धादिङस्थित महेशदोभानमा त्रिशूली नदीमाथी निर्माणधिन पुल जोगिएको हो । धादिङवेशी जोड्ने फुर्केखोला पुल समेत बाढीले लैजाँदा गल्छीको पुल कसरी जोगियो त ? सडक विभागका महानिर्देशक डा विजय जैसीकाअनुसार नदीको भौगोलिक बनोट, पुलको स्पान र पुलको जग चट्टानभित्र गहिरोसम्म पु¥याएर निर्माण गरेको कारण जोगिएको देखिन्छ ।
३६. रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः ३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै बेपत्ता
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ज्यान गुमाउन पुगेको १ हजार १० जनाको शव फेला परेको छ । परराष्ट्र मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी १ हजार १० जनाको शव फेला परेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार ४ हजार व्यक्ति अझै बेपत्ता रहेका छन् । वाढी प्रभावित ११ हजार ८ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये करिव ३२४ जना विदेशी नागरिक छन् । ३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । वाढी प्रभावितहरुको खोजी, उद्धार, स्थानान्तरण र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनु भयो ।
३७. रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा
रसुवा बाढीका कारण त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुगेपछि यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङ जिल्लाका सदरमुकामलाई वैकल्पिक मार्गमार्फत सडक सञ्जालमा जोडिएको छ । सडक डिभिजन नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माले रसुवा र धादिङका दुबै सदरमुकामलाई सडक सम्पर्कमा ल्याईसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार टोखा–गुर्जे–छहरे हुँदै बाहुनेबेसी, समरथली र जिरो किलोमिटरबाट पासाङल्हामु मार्गमार्फत रसुवातर्फको वैकल्पिक सडक सञ्चालनमा ल्याईएको हो । उक्त मार्गमा साना सवारी सञ्चालनमा आएका छन् भने ठूला सवारीसमेत सञ्चालन गर्न अर्को वैकल्पिक मार्ग तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
३८. सांसदहरुको १५ दिनको पारिश्रामिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय
नेकपा एमालेका संघीय सांसदहरुले १५ दिनको पारिश्रामिक रसुवा बाढी पीडितहरुलाई दिने भएका छन् । एमालेको मंगलवार बसेको संसदीय दलको बैठकले १५ दिनको पारिश्रामिक बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो । संघीय सांसदहरुले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभयो । सांसदहरुको पारिश्रामिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने उहाँले बताउनु भयो । उहाँकाअनुसार एमालेले बाढीपीडितको राहतका लागि यसअघि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
३९. ‘सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूमाथि राज्यले पशुवत व्यवहार ग¥यो’
भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरुले दबाबमूलक अभियान चलाएका छन् । मंगलवार सम्पर्कविहीन भएका प्राविधिक तथा कर्मचारीका आफन्तहरुले आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीमा गएर यथाशिघ्र उद्धार गर्न दबाब दिएका छन् । काँकडभिट्टाका कृष्ण खरेलले बाढी गएको सातौँ दिनपछि बल्ल उद्धार कार्य शुरु गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले आयोजनामा फसेका नागरिकमाथि राज्य र निर्माण कम्पनीले पशुवत् व्यवहार गरेको आरोप पनि लगाउनु भयो ।
४०. बाढी प्रभावित क्षेत्रका नागरिक भोकभोकै बस्नुपरेको छ, सरकार प्रचारबाजीमा लाग्योः सांसद शर्मा
नेपाली काँग्रेसका सांसद युवराज शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत वितरण तथा बेपत्ता नागरिकको खोजी कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले सबै पक्षसँग समन्वय गर्न नसक्दा देश विदेशबाट प्राप्त राहत सामग्री प्रभावित नागरिकसम्म पुग्न नसकेको गुनासो आएको बताउनु भयो ।
४१. भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताउनुभएको छ । मंगलवार सिंहदरबास्थित मन्त्रालय स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पदाधिकारीहरुसँगको छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायुजन्य विपद्को सामना गर्नसक्ने तथा भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको बताउनु भयो । उहाँले भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुनसक्ने समेत बताउनु भयो ।
४२. रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःसपनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने
१० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको नेताहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रदेश र स्थानीय तहमा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरि राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको बताउनु भयो । उहाँकाअनुसार बैठकले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएका छन् । नेता पुनले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाएपनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै राहत वितरणको विषयमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताउनु भयो । उहाँले विपद्को उद्धार तथा राहतमा निजी क्षेत्रलाई सुरुदेखि नै सहभागी गराउनुपर्नेमा सरकारले त्यस्तो नगराएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको समेत बताउनु भयो । उहाँले जलविद्युत आयोजनामा कार्यरत मजदुर उद्धारका क्रममा सम्बन्धित कम्पनीसँग रहेका सुरुङका डिजाइन, ड्रइङ तथा प्राविधिक विशेषज्ञताको उपयोग गर्न सकिने भएपनि निजी क्षेत्रको भुमिका प्रारम्भिक चरणमा प्रभावकारी रूपमा समेटिन समेट्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो ।
४३. रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जलविद्युत आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरुले यस्तो गुनासो गर्नुभएको हो । विपद्पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरेपनि सुरुङ र पावरहाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे । बाढीमा परि सम्पर्कविहीन हुनुभएका इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले ६ दिनदेखि भतिज निरजको उद्धार गरिदिन भन्दै राज्यका निकायहरमा हारगुहार गर्दा समेत अपेक्षित सहयोग पाउन नसकेको बताउनु भयो ।
४४. रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मंगलवार सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले यस्तो घोषणा गर्नुभएको हो । उहाँकाअनुसार भदौ ११ गते बसेको इप्पानको आकस्मिक कार्यसमिति बैठकले सहयोगका लागि आह्वान गरेको थियो । सोहीअनुसार सहयोग रकम प्राप्त भइरहेको र छिट्टै राहत कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।
४५. राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुना
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राहत वितरण प्रक्रियामा संघीय सरकार र प्रदेश तथा स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव देखिएको बताउनुभयो । उहाँले स्थानीय तहसँग सहकार्य र समन्वय गरेर तत्काल प्रभावित क्षेत्रका नागरिकसम्म राहत पु¥याउन सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारलाई राहत वितरणमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
४६. विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद भइरहेको छः प्रवक्ता खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको उहाँको दाबी छ । प्रवक्ता खरेलले सरकारले सिमित स्रोत र साधनका बाबजुद १२ हजारभन्दा बढी नागरिकको उद्धार गर्न सफल भएको बताउनु भयो ।
४७. सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री
नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाउनुभएको छ ।
मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाउनु भयो । सरकारका मन्त्रीहरु सामाजिक सञ्जालमा प्रचार गर्नमा व्यस्त भएपनि विपद् प्रभावित नागरिकले सरकार आफूसँगै रहेको आभास गर्न नसकेको उहाँको भनाइ छ ।
४८. सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुङमार्गभित्र फसेका नागरिकको उद्धारका लागि पावरहाउससम्म पुगेर खोजी तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जलविद्युत आयोजनाका पावरहाउसमा रहेका नागरिकको उद्धारमा विज्ञ परिचालन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपद् प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै स्थानीय तहलाई परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो । सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पठाए पनि स्थानीय निकायसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन नसकेको शाहीको भनाइ छ ।
४९. सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
नेपाली काँग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण बाढीमा परि सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट यस्तो आग्रह गरिएको केन्द्रिय सदस्य देवराज चालिसेले बताउनुएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सुरुङभित्र फसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताउनु भयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij