Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा क्षति

भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा क्षति


  • 792
    Shares

    भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा क्षति
    images

    काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बाढी र पहिरोले विशेषगरी गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको छ । 

    महानिर्देशक जैसीकाअनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ । यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ । गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो, जसलाई विभागले चुनौतीपूर्ण अवस्थाका बीच पन्छाएर यातायात सुचारु गरेको छ । 

    बाढीले देशभर विभाग मातहतका ३१ वटा पुलमा क्षति पु¥याएको छ । कतिपय पुल पूर्ण रूपमा बगेका छन् भने कतिपयको स्पानमा क्षति पुगेको छ । विभागले तत्कालका लागि तीन स्थानमा बेलिब्रिज जडानको प्रक्रिया शुरु गरिसकेको छ । देवीघाटस्थित तादी खोलामा ५० मिटर लामो बेलिब्रिज हाल्ने तयारी भइरहेको छ भने त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडानका लागि डिजाइन सम्पन्न भएको छ । अन्य २० वटा क्षतिग्रस्त पुलहरूको प्राविधिक सर्वेक्षण भइरहेको र आवश्यकताअनुसार बेलिब्रिज राखिने विभागले जनाएको छ । 

    धादिङबेंसी जोड्ने फुर्केखोलाको पुल भाँचिएपछि माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गमार्फत सम्पर्क स्थापित गरिएको छ । त्यसैगरी, काठमाडौंबाट धुन्चे जानका लागि टोखा–छहरे–विदुर–बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशूली पारिबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जैसीले बताए । 

    सडकको आकस्मिक मर्मत र पुनस्र्थापनाका लागि सडक बोर्डको बैठकले तत्काल ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । थप आवश्यक खर्च योजना अन्तर्गतकै बजेटबाट व्यवस्थापन गरिनेछ । हाल कार्यक्षेत्रमा ५० जनाभन्दा बढी वरिष्ठ प्राविधिक, इन्जिनियर र मेकानिक्सहरू खटिएका छन् । 

    विभागले १५ वटाभन्दा बढी हेभी इक्विपमेन्टहरू विभिन्न खण्डमा परिचालन गरेको छ । दशैँ नजिकिँदै गरेको अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ र ग्यास बुलेटको आपूर्तिका लागि त्रिभूवन राजपथ र कान्ति लोकपथलाई प्राथमिकतामा राखिएको छ । वीपी राजमार्गमा साना सवारीलाई प्राथमिकता दिने र अत्यावश्यक सामग्री बोकेका ट्रकहरूलाई रातको समयमा हेटौँडाबाट पठाउने योजना आपूर्ति मन्त्रालयसँगको समन्वयमा बनाइएको छ ।
      
    महानिर्देशक जैसीकाअनुसार हाल कोदारी राजमार्ग सञ्चालनमा छ भने इलामको राँके–दुहाली खण्डको अवरोध पनि हटाइएको छ । वर्षात्को मौसम अझै बाँकी रहेकाले विभागले आफ्ना सम्पूर्ण संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखेको जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १६:५५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij