Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमालेले सरकारी कोषमा राहत नदिने, आफ्नै संयन्त्रबाट वितरण गर्ने

एमालेले सरकारी कोषमा राहत नदिने, आफ्नै संयन्त्रबाट वितरण गर्ने


  • 1.1K
    Shares

    एमालेले सरकारी कोषमा राहत नदिने, आफ्नै संयन्त्रबाट वितरण गर्ने
    images

    काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितका लागि घोषणा गरेको १ करोड २० लाख रुपैयाँ राहत सरकारी कोषमा जम्मा नगरी पार्टीकै राहत कोषमार्फत वितरण गर्ने भएको छ ।

    सोमबार एमालेले बाढी तथा पहिरो प्रभावितका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । तर, उक्त रकम सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला नगरी पार्टीको केन्द्रीय राहत कोषमार्फत केन्द्र तथा आवश्यकताअनुसार स्थानीय तहलाई उपलब्ध गराउने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

    पोखरेलका अनुसार प्रदेश अध्यक्ष र इन्चार्जहरूको नेतृत्वमा पार्टीले बाढीपीडितका लागि राहत अभियान सञ्चालन गर्नेछ । पार्टीका विभिन्न तहबाट संकलन भएको सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार पठाइनेछ ।

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएको एमाले टोलीले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा विपद् प्रभावित क्षेत्रमा देखिएको वास्तविक अवस्था र सरकारी संयन्त्रबाट भएको राहत तथा उद्धारबीच फरक रहेको निष्कर्ष निकालिएको एमालेले जनाएको छ ।

    एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पनि सरकारी संयन्त्रमार्फत राहत वितरण प्रभावकारी नभएको भन्दै पार्टीको केन्द्रीय कमान्डमा राहत तथा पुनर्निर्माण अभियान सञ्चालन गर्ने बताए ।

    भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण सयौँको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । दर्जनौँ पुल, विद्युत् आयोजना, बैंक शाखा, सडक तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ ।

    सरकारले बाढी प्रभावित विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका तथा नुवाकोटका विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वरलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ, तनहुँको देवघाट र आँबुखैरेनी तथा गोरखाको गण्डकी गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

    यसैबीच, सरकारले बाढीपीडितका लागि प्राप्त हुने राहत सामग्री संकलन गर्न विभिन्न स्थान तोकेको छ । विदेशबाट हवाईमार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदाममा संकलन गरिनेछ भने स्वदेशबाट प्राप्त सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिने सरकारले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १६:४५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij