२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली राष्ट्रिय बीच भलिबल महिला र पुरुष टोली भुटानमा आयोजना हुने काभा बिच भलिबल टुरमा उपाधि जित्ने लक्ष्यमा छ ।
भुटानको राजधानी थिम्पुमा आगामी सेप्टेम्बर ४ देखि ६ तारिखसम्म बिच भलिबल टुर आयोजना हुँदै छ । उक्त टुरमा नेपालका समान २÷२ महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् । बीच भलिबलकी अनुभवी खेलाडी कमला पुन पनि उक्त टुरमा खेल्दैछिन् । उनी सम्मिलित टोलीले काभा बीच भलिबलमा नेपाललाई समान एक स्वर्ण र रजत दिलाएकी छन् ।
यसपल्ट उनी र कोपिला रानाको टोलीले थिम्पुमा प्रतिस्पर्धा गर्दैछन् । महिलाको अर्को टोलीमा सुनिता राई र भावना डाँगी छन् । पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले प्रतिष्पर्धा गर्नेछ । झमनसिंह दर्जी र शरण कार्कीको जोडीले पनि नेपालको चुनौती प्रश्तुत गर्नेछन् ।
नेपाली बिच भबिलल टोलीको प्रशिक्षक श्रीराम बोगाटी छन् । काभा बिच भलिबलमा नेपालले पदक जित्दै आएको छ । यसपल्ट पनि नेपाली टोली स्वर्ण पदक जित्ने लक्ष्यसहित थिम्पु जाने तयारीमा छ । जितेन्द्र श्रेष्ठको नेतृत्वमा खेलाडी, प्रशिक्षक र व्यवस्थापनसहित कुल १० सदस्य नेपाली टोली बुधबार भुटान जाने नेपाल भलिबल संघले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रामचरित मेहता र नेपाल भलिबल संघका अध्यक्षका जितेन्द्रबहादुर चन्द लगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा सदस्यसचिव मेहताले तीन करोड जनताको प्रतिनिधित्व राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडीले उच्च मनोबलका साथ प्रतियोगितामा प्रदर्शन गर्नुपर्ने बताए ।
नेपाली भलिबलको आवश्यकता र विद्यमान अभावबारे आफू जानकार रहेको उल्लेख गर्दै सदस्यसचिव मेहताले स्रोत र साधनका सीमितताका कारण कतिपय लक्ष्य पूरा गर्न कठिनाइ भइरहेको सदस्यसचिव मेहता बताउँछन् । तर, उपलब्ध अवसरलाई सदुपयोग गर्दै खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पाकिस्तानमा तय आगामी १४औं दक्षिण एसियाली खेलकुद (साग) मा बिच भलिबल समावेश गरिएकाले नेपालले अहिलेबाटै योजनाबद्ध तयारी गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैले दशौं राष्ट्रिय खेलकुदमा पनि बिच भलिबल समावेश गरी तयारी गर्न उनको आग्रह छ । थिम्पुमा हुने काभा भलिबल टुरमा नेपालसहित आयोजक भूटान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र उज्बेकिस्तानका टोलीले प्रतिस्पर्धा गर्दैछन् । पछिल्ला वर्ष नेपालले बिच भलिबलमा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।
२०८१ सालमा भुटानमै सम्पन्न बिच भलिबलको फाइनलमा उज्बेकिस्तानलाई हराउँदै नेपालकी कमला पुन र मनीषा चौधरीको जोडीले महिला बिच भलिबलको उपाधि जितेको थियो । त्यसअघि बंगलादेशमा भएको काभा बिच भलिबलमा पनि कमला र कोपिला उप्रेतीको जोडीले रजत पदक जितेको थियो ।
नेपालकै पुरुष टोलीले पनि रजत पदक जितेका थिए । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले रजत पदक जितेका थिए । पछिल्लो सफलताले नेपाली बिच भलिबलमा सम्भावना देखिए पनि नियमित प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर र पूर्वाधारको अभाव चुनौतीका रूपमा रहेको संघको भनाइ छ । करिव एक महिनाको प्रशिक्षणबाट पदक जित्ने लक्ष्यसहित नेपाली बिच भलिबल टोली भुटानतर्फ जाँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij