२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विपद् प्रभावित जिल्लाहरुमा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएको छ । भोटेकोशीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा उद्धारमा सहभागी हुन गएको सो समूहको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर स्थानीयहरूले यसको आधिकारीकताबारे प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको एउटा भिडियोमा भनिएको छ, ‘नेपाल आर्मी भन्ने थाहा थियो, यहाँ त ग्रीन आर्मी पनि रहेछ ।’ प्रभावित क्षेत्रमा उनीहरू सैन्य पोसाक जस्तै देखिने चुस्ता लगाएर उपस्थित भएका छन् । स्थानीयहरूले प्रश्न गर्दा सो समूहका एक जना युवाले भनेका छन्, ‘हामी ग्रीन आर्मी हौँ, काठमाडौंदेखि आएको ।’
नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुका अनुसार उनीहरूले खोज तथा उद्धार गर्न सरकारका निकायसँग कुनै समन्वय गरेका छैनन् । बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले ग्रीन आर्मीले प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मलाई जानकारी भएन, म बुझौँला ।’
सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले पनि त्यसबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘हामी बुझ्दैछौं ।’
सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रीन आर्मी नेपाल काठमाडौं’ नामको एउटा पेजमा उनीहरुको गतिविधि देखिने सामग्री पोस्ट गरेको भेटिएको छ । त्यहाँ उपलब्ध दुई वटा नम्बरमा फोन गर्दा ती नम्बरमा सम्पर्क हुन सकेन । त्यो पेजमा उल्लेख भएअनुसार स्कुल कलेजका विद्यार्थीहरूलाई उनीहरूलाई आबद्ध गरेर सङ्गठन बनाएको र खोज तथा उद्धारमा परिचालन गरेको देखिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij