२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक भदौ शुरु भएको छ । मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बैठक शुरु भएको हो ।
देशमा बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो । पार्टीका महासचिव सुरेन्द्रकुमार झाकाअनुसार बैठकमा मुख्यगरी बाढीपहिरोले पु¥याएको मानवीय तथा भौतिक क्षति र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे गहन छलफल हुनेछ । सरकारले गरिरहेको उद्धार र राहत कार्यलाई अझ प्रभावकारी र घरदैलोसम्म पु¥याउन पार्टीले रचनात्मक सुझाव दिने तथा पार्टीको तर्फबाट भौतिक, आर्थिक र स्वयंसेवक परिचालन गरी राहत कार्यमा सघाउने निर्णय बैठकले गर्ने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थिति, भू–राजनीतिक अवस्था र देशको आर्थिक सङ्कटलाई सन्तुलनमा राख्दै तयार पारिएको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । उक्त प्रतिवेदनमा पार्टीले विगतमा गरेका कामको समीक्षा र आगामी कार्यदिशाबारे विस्तृत खाका समेटिने महासचिव झाले जानकारी दिए । साङ्गठनिक एजेण्डातर्फ, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीचको एकीकरणपछि बाँकी रहेका समायोजनका कार्यहरूलाई टुङ्ग्याउनु यस बैठकको अर्को महत्वपूर्ण उद्देश्य रहेको छ । केन्द्रिय कार्यकारिणी समिति समायोजन भइसकेको अवस्थामा अब प्रदेश, जिल्ला, स्थानीय तह, भ्रातृ सङ्गठन र विभागहरूको समायोजन प्रक्रियालाई गति दिइनेछ ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘संसदीय बोर्ड’ र ‘केन्द्रीय सचिवालय’ गठन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको छ । पार्टीको नीति र निर्देशन विपरीत काम गर्ने तथा अनुशासन उल्लंघन गर्ने प्रदेश सांसद र नेता–कार्यकर्ताहरूमाथि कारबाही गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । महासचिव झाले राष्ट्रिय राजनीतिक निकासका लागि गठित ‘अग्रगामी मोर्चा’लाई थप प्रभावकारी बनाउने र पार्टीका नेताहरूको कार्यविभाजन गर्ने विषयमा समेत निर्णय लिइने उल्लेख गरे । बैठकले आगामी असोज दोस्रो साताका लागि समायोजित केन्द्रिय समितिको पहिलो बैठकको मिति समेत तय गर्नेछ ।
यसका साथै, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा हुन बाँकी जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमहरू यसै महिनाको चौथो हप्ताभित्र सम्पन्न गर्नेगरी कार्यतालिका तय गरिनेछ । कार्यकारिणी समितिको बैठकमा हुने निर्णयहरूलाई सञ्चार माध्यममार्फत सार्वजनिक गरिने पार्टीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij