Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

रसुवा बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग


  • 827
    Shares

    रसुवा बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् ।

    राष्ट्रिय सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग आग्रह गरे । उनले विपद्को समयमा सबै एकजुट भएर खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने बताए ।

    ‘जे नहुनु थियो भइसक्यो । अब खोजी, उद्धार, राहत र पुनर्स्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,’ उनले भने, ‘प्रचारभन्दा परिणाममुखी कार्य र सुरक्षित व्यवस्थापन आवश्यक छ ।’

    नेकपाकी सांसद मदनकुमारी शाह गरिमाले पनि एक दिन राष्ट्रिय झण्डा झुकाएर राष्ट्रिय शोक घोषणा गर्न माग गरिन् । उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको प्राकृतिक विपद्को विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् ।

    यस्तै, नेकपाका सांसद सुरेशकुमार आलेमगरले धनी तथा विकसित मुलुकहरूले सिर्जना गरेको जलवायु परिवर्तन र त्यसका असरका कारण नेपालजस्ता गरीब तथा विकासोन्मुख देशहरूले प्राकृतिक विपद्को ठूलो क्षति व्यहोर्नुपरेको बताए । उनले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सरकारसँग आग्रह गरे ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म भोटेकोशी बाढीमा परी ९८७ जनाको शव फेला परेको छ । रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।

    उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन् । तीमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना रहेका छन् ।

    सांसदहरूले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १४:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij