२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ ।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताए । उनले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने जानकारी दिए। विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उनको भनाई छ ।
उनले हाल वैकल्पिक रुट र स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ । विभागका सहसचिव ढकालले नदीको उच्च बहावको स्तरलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक ठाउँमा साना सुरुङ निर्माण गर्ने तथा प्राविधिक रूपमा सुरक्षित संरचना विकास गर्नुपर्ने बताए। उनका अनुसार सुरुआती लागत केही बढेपनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
उनले भने, ‘राजमार्ग खुलाउनलाई सडक विभागले यसलाई हाइप्रायोरिटी दिएको छ । आज हामी पनि हेरेर यसको एउटा प्रतिवेदन दिन्छौँ र तत्कालै यही राजमार्ग खुलाउने र पारीबाट वैकल्पिक मार्गहरू पनि प्रयोग गर्ने गरी काम गर्छौं । यो राजमार्ग नेपालकै लाइफलाइन भएको हुनाले यसलाई हाम्रो उच्च प्राथमिकता दिएर तत्काल गर्नुपर्ने सबै कदम चाल्छौँ । सबै विज्ञहरूको टिम बनाएर उहाँहरूको राय अनुसार र विभागको सम्पूर्ण टिम बसेर निर्णय गरेर सकेसम्म हामी १० देखि १५ दिनमा खुलाउन प्रयत्न गर्छौँ भने वैकल्पिक रुटहरू, स्थानीय सडकहरूलाई पनि प्रयोग गरेर राजमार्गलाई सुचारु गर्छौँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij