Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकमा किराँती समूह अनुपस्थित

श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकमा किराँती समूह अनुपस्थित


  • 953
    Shares

    श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकमा किराँती समूह अनुपस्थित
    images

    काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा जारी छ । तर, पूर्वमन्त्री सुदन किराँती समूह भने बैठकमा सहभागी भएको छैन ।

    पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा किराँती पक्षलाई नबोलाइएको वरिष्ठ नेता सुदन किराँतीले बताएका छन् । उनले बैठक बस्दै गरेको सुने पनि आफूहरूलाई औपचारिक रूपमा जानकारी नगराइएको बताए ।

    श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेका अनुसार यसअघि भएको पार्टी एकताको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुन बाँकी रहेकाले किराँती समूहलाई बैठकमा सहभागी नगराइएको हो ।

    ‘बाहिर आएको हल्ला हल्ला मात्रै हो । एकताको निर्णय हाम्रो केन्द्रीय समितिले गरेको थिएन । आजको बैठकले त्यो अनुमोदन गरेपछि उहाँहरूलाई बैठकमा सहभागी गराउने हो,’ घलेले भने ।

    चार महिनाअघि भएको पार्टी एकताका क्रममा सुदन किराँतीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो । किराँती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना श्रम संस्कृति पार्टीमा समाहित भएका थिए ।

    एकताअघि २३ सदस्यीय रहेको पार्टीको केन्द्रीय समिति एकतापछि ४१ सदस्यीय बनेको थियो । पार्टी एकतापछि किराँतीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने बताइएको थियो ।

    तर, अहिले पहिलो केन्द्रीय समिति बैठकमै किराँती समूह अनुपस्थित भएपछि पार्टी एकताबारे पुनः प्रश्न उठेको छ । वरिष्ठ नेता किराँतीले भने आफूहरूलाई बैठकमा नबोलाइएको स्पष्ट पारेका छन् ।

    ‘बैठक छ भन्ने सुनेको हो, हामीलाई बोलाएको छैन,’ किराँतीले भने, ‘किन नबोलाएको हो भन्ने थाहा छैन ।’

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १२:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij