Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभा बैठक भोलि बस्ने, महाविपद्बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक भोलि बस्ने, महाविपद्बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने


  • 1.1K
    Shares

    प्रतिनिधिसभा बैठक भोलि बस्ने, महाविपद्बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने
    images

    काठमाडौं । अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

    भोलिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले देशमा उत्पन्न महाविपद्का विषयमा विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा सहभागी सबै दलका नेताहरूले धारणा राख्नेछन् ।

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

    बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी नदीको बहाव एक्कासि बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकसमेत प्रभावित भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीमा परी ९८७ जनाको शव फेला परेको छ । रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।

    उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन् ।

    भोलिको प्रतिनिधिसभा बैठकमा महाविपद्बाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा सांसदहरूले धारणा राख्ने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १२:४०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij