२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ ।
नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सुरक्षाकर्मीले खोजी गर्ने क्रममा बेत्रावतीस्थित एक घरबाट २४ जनाको शव उत्खनन गरी निकालेका हुन् ।
फेला परेका शवमध्ये १३ जना महिलाका, ११ जना पुरुषका र एक बालकको रहेको प्रहरीले जनाएको छ । हालसम्म शवको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार बाढीले पुरिएको घरमा खोजी तथा उत्खननका क्रममा शवहरू फेला परेका हुन् । उद्धार टोलीले थप बेपत्ताको खोजी कार्यसमेत जारी राखेको जनाएको छ ।
फेला परेका शवहरू पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
भोटेकोशी बाढीपछि नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोजी, उद्धार तथा शव व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij