२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण पुलहरूमा क्षति पुगी यातायात विच्छेद भएको नुवाकोटको त्रिशुलीपारीका भूभागलाई जोड्न वैकल्पिक सडक मार्ग सुचारु भएको छ । सडक विभागले गल्छी–त्रिशुली राजमार्ग अन्तर्गत त्रिशुली नदीको दायाँ किनारतर्फको सडक सञ्चालनमा आएको जानकारी दिएको हो ।
विगत केही दिनदेखिको अविरल वर्षा र बाढीले त्रिशुली नदीका पुलहरूमा क्षति पुर्याएपछि सो क्षेत्रको यातायात सम्पर्क टुटेको थियो। नागरिकको सास्ती र आवश्यकतालाई ध्यानमा राख्दै विभागले गल्छी (त्रिशुली पुलपारी) बाट त्रिशुली नदीको दायाँ किनारै किनार हुँदै त्रिशुली बजारसम्मको मार्ग सुचारु गरेको हो ।
सडक विभागका अनुसार अब सवारी साधनहरू गल्छीबाट कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशुली बजारसम्म पुग्न सक्नेछन् ।
यो सडक सुचारु भएसँगै नुवाकोटका त्रिशूली पारिका बासिन्दाहरूलाई जिल्ला सदरमुकामसम्मको पहुँच सहज भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij