२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालले बाढीपीडित तथा मृतकको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडितको पहिचानका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सिंगापुरसँग अनुरोध गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार नेपालले संयुक्त राज्य अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग मागेको छ भने चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन अनुरोध गरिएको छ।
त्यस्तै, जापान र दक्षिण कोरियाबाट पनि विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीका अनुसार अहिलेसम्म भारत, चीन, फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरियालगायतका देश तथा विभिन्न साझेदार संस्थाबाट उद्धार तथा राहत सामग्री प्राप्त भएका छन्।
संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र युनिसेफबाट पनि थप सामग्री तथा सहयोग आउने क्रममा रहेको उनले बताए।
अन्तर्राष्ट्रिय सहयोगअन्तर्गत उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधिलगायतका सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ।
भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने दक्षिण कोरियाको टोली पनि घटनास्थलमा खटिएको छ।
प्रवक्ता क्षेत्रीले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि समेत नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए। बाढीबाट भएको क्षतिको विस्तृत मूल्यांकनपछि घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधार पुनःस्थापनाका लागि आवश्यक स्रोत निर्धारण गरिने मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij