२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नुवाकोटमा भेटिएका थप तीन वटा शवको पहिचान खुलेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बगेर मृत्यु भएका थप तीन जनाको शवको सनाखत भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार सोमबार नुवाकोटमा फेला परेका शवमध्ये फुलकुमारी ढकाल, गोपे तामाङ र अमृत तामाङको पहिचान खुलेको हो।
पहिचान खुलेसँगै नुवाकोटमा भेटिएका पहिचान भएका शवको संख्या सात पुगेको प्रहरीले जनाएको छ।
पहिचान भएका व्यक्तिहरूमा विदुर नगरपालिका–७ सोलेकी ६७ वर्षीया फुलकुमारी ढकाल, रसुवाको उत्तरगया गाउँपालिका–१ का गोपे तामाङ र नुवाकोटको किस्पाङ गाउँपालिका–५ का अमृत तामाङ रहेका छन्।
यसअघि नुवाकोटमा भेटिएका चार जनाको पनि पहिचान खुलेको थियो। उनीहरूमा सूर्यगढी गाउँपालिका–५ का ५६ वर्षीय रामकृष्ण तामाङ, विदुर नगरपालिका–५ का ३५ वर्षीय निरज भण्डारी, धादिङको थाक्रे गाउँपालिका–८ का ४४ वर्षीय राजकुमार आले र सूर्यगढी गाउँपालिका–२ की ५० वर्षीया शर्मिला तितुङ रहेका छन्।
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि बेपत्ता तथा मृतकको खोजी र शव पहिचानको काम अझै जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij