२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सल्यानका २१ वर्षीय आयुष खड्काको रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएको पाँच दिनपछि सोमबार देवघाटमा अन्त्येष्टि गरिएको छ ।
लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा पहिलो पोस्टिङ भएका आयुष सेवा प्रवेश गरेको पाँच महिनामै बाढीको चपेटामा परेका हुन् ।
आयुष स्नातक तहको परीक्षा दिन गृहजिल्ला सल्यान जाने तयारीमा थिए । भदौ १२ गते काठमाडौं आउने र त्यसपछि भदौ १६ गते परीक्षा दिन घर जाने उनको योजना थियो । तर, घर जाने तयारी गरिरहेका बेला भदौ १० गते बिहान आएको बाढीमा परेर उनको ज्यान गयो ।
बाढीमा परी मृत्यु भएको पाँच दिनपछि उनको शव फेला परेको थियो । शव बिग्रँदै गएको र घरसम्म लैजान सम्भव नभएपछि चितवन र तनहुँको संगमस्थल देवघाटमै सोमबार अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए ।
बागचौर नगरपालिका–१० पिपलनेटाका आयुष खड्का परिवारका जेठा छोरा थिए । उनका बुवा, आमा र एक बहिनी छन् ।
काका रमेशका अनुसार आयुष पढाइमा निकै रुचि राख्थे । लोकसेवा आयोगबाट खरिदार पदमा नाम निकालेपछि सरकारी सेवामा प्रवेश गरेका उनले कामसँगै अध्ययनलाई निरन्तरता दिँदै भविष्यमा अधिकृत बन्ने लक्ष्य राखेका थिए ।
‘पढ्नमा साह्रै रुचि राख्थ्यो । खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले सम्झिँदै भने ।
रसुवाको पोस्टिङमा आयुषको खासै रुचि नभए पनि परिवारको सल्लाहपछि उनी टिमुरे पुगेका थिए । सरकारी सेवामा प्रवेश गरेर आफ्नो भविष्य बनाउने योजनामा रहेका आयुषको सपना भने बाढीसँगै अधुरै रह्यो ।
आयुष बाढीमा परेको खबर पाएपछि उनकी आमा मुना बेहोस भएकी थिइन् । सोमबार देवघाटमा अन्त्येष्टि भइरहँदा पनि आमा मुना र बहिनी आयुषा अर्धमूर्छित अवस्थामा थिए । आफन्तहरूले उनीहरूलाई सम्हाल्दै अन्तिम संस्कारमा सहभागी गराएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij