२०८३ आश्विन १ गते बिहिवार
रसुवा । रसुवाको विनाशकारी बाढीमा घरसँगै पुरिएकी पाँच वर्षीया मनिषा उचा मगरलाई ६० घण्टापछि सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। टिमुरे बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ भत्किएको घरभित्र पुरिएको अवस्थामा मनिषाको उद्धार गरेको थियो। उद्धारपछि उनलाई केही समय बीओपीमै राखियो। शनिबार जिल्ला अस्पताल धुन्चे लगिए पनि करिब १२ घण्टासम्म उनको पहिचान खुलेन।
धुन्चे अस्पतालमा उपचारका क्रममा प्रभु बैंक टिमुरे शाखाका कर्मचारी दावा तामाङले मनिषालाई चिने। उनले मनिषा आफ्नै कार्यालयमा काम गर्ने गीता उचा मगरकी छोरी भएको पत्ता लगाएपछि गीतालाई फोन गरेर छोरी जीवितै भेटिएको खबर सुनाए। तर तीन दिनसम्म छोरीको कुनै अत्तोपत्तो नलागेपछि आशा मारिसकेकी गीताले सुरुमा त्यो खबर पत्याइनन्। दावाले मनिषाको फोटो पठाएपछि मात्रै उनी आफ्नै छोरी भएकोमा विश्वस्त भइन्।
शनिबार रसुवाबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएकी मनिषाका बुबा लोकबहादुर र आमा गीता उचा मगरले छोरी जीवितै भेटिएको खबर सुन्दा सुरुमा पत्याउनै सकेनन्। ‘दावा सरले फोन गरेर मनिषा भेटियो भन्नुभयो। तर मलाई विश्वास नै लागेन। फोटो पठाइदिनुभयो। हो रहेछ, हाम्रै नानी रहिछ,’ गीताले भनिन्।
मनिषा लोकबहादुर र गीताकी कान्छी छोरी हुन्। बाढीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको देखेपछि उनीहरूले छोरी जीवित भेटिने आशा लगभग मारिसकेका थिए। ‘जीवित त के, चिनो नै भेटिँदैन भनेर हामी त अर्घाखाँची हिँडेका हौँ,’ शनिबार राति त्रिवि शिक्षण अस्पतालमा छोरीको कुरुवा बसेकी गीताले भनिन्, ‘नानी यहीँ आँखा अगाडि छे। तर मलाई अहिले पनि भेटिएकै हो र जस्तो लाग्छ घरीघरी। सपना जस्तो भइराछ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij