२०८३ आश्विन १ गते बिहिवार
१. सरकारले राज्यको सामथ्र्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी भएनः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभएको हो । महासचिव शंकर पोखरेलले बुझाउनुभएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाउनु भयो ।
२. सरकारलाई प्रभावकारी उद्धार र राहतमा जुट्न माधव नेपालको आग्रह
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालैको प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सहयोगका लागि आफ्नो पार्टीको तर्फबाट २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ । आईतवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त रकम राज्य सरकारको राहत कोषमा जम्मा गरिने जानकारी दिनुभएको हो । सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले धेरै परिवारहरू शोकमा डुबेको र कतिपयको उठिबास भएको उल्लेख गर्दै पार्टीका तर्फबाट उद्धार र राहत कार्यमा सक्रिय हुन कार्यकर्ताहरूलाई निर्देशन दिइएको बताउनु भयो ।
३. विपद् व्यवस्थापनमा सरकारलाई काँग्रेसको साथ र खबरदारीः स्थानीय सरकारलाई जिम्मेवार बनाउन जोड
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने बताउनुभएको छ । बाढी–पहिरो पछिको अवस्था र पार्टीको भुमिकाबारे छलफल गर्न पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित बैठकमा उहाँले विपद् व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो । सभापति थापाले जाजरकोट भूकम्प लगायतका विगतका विपद्हरूबाट सिकेको ज्ञानलाई संस्थागत गर्नुपर्ने बताउनु भयो । पार्टीका कार्यकर्ताहरूलाई तालिम दिएर मैदानमा खटाउँदा त्यसले राहत र उद्धारमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ ।
४. विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराउने काँग्रेसको निर्णय, सार्वजनिक उत्सव नमनाउन सभापति थापाको निर्देशन
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मुलुकमा निम्तिएको बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पदाधिकारी, केन्द्रिय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा सभापति गगनकुमार थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको बताउनु भयो । उहाँले सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पार्नुभयो । सभापति थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताउनु भयो ।
५. विपद् व्यवस्थापन र राहतमा नेपाली काँग्रेस सक्रिय, संसदीय संयन्त्र बनाउने गृहकार्य
रसुवा बाढीका कारण सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्न नेपाली काँग्रेसले आफ्नो सक्रियता बढाएको छ । विपद् व्यवस्थापनमा पार्टीको भुमिका र आगामी कार्ययोजनाबारे छलफल गर्न पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित बैठकमा काँग्रेसले सरकारसँगको समन्वय र सर्वदलीय सहकार्यलाई जोड दिएको हो । बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले विपद्को यस घडीमा सबै राजनीतिक दलहरूबीच साझा प्रतिवद्धता व्यक्त भएको जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि दलहरूबीच संसदभित्रै एउटा साझा संयन्त्र निर्माण गर्ने समझदारी बनेको उहाँले बताउनु भयो । सो संयन्त्रलाई पूर्णता दिई तत्काल काम अघि बढाउन रास्वपा सभापतिसँग थप छलफल गरिने उहाँको भनाइ छ ।
६. विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत, एकद्वार प्रणालीलाई प्रभावकारी बनाइने
सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका लागि ‘प्रोटेक्सन क्लस्टर’ (संरक्षण समूह) को कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावितहरूको सुरक्षा र सहयोगका लागि ११ वटा क्लस्टरमध्ये संरक्षण क्लस्टरको कार्ययोजना पारित भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । गृह मन्त्रालय, महिला मन्त्रालय, नेपाल प्रहरी, नागरिक समाज र विभिन्न साझेदार संस्थाहरूको सहभागितामा तयार पारिएको उक्त कार्ययोजनाले बाल संरक्षण, लैङ्गिक हिंसा (जीबीभी) नियन्त्रण र मनोसामाजिक परामर्शका विषयलाई प्राथमिकतामा राखेको छ ।
७. रसुवाका बाढीपीडितको सहयोगका लागि नेकपाले २५ लाख रुपैयाँ प्रदान गर्ने
नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाकाअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सहायता पु¥याउने उद्देश्यले सो रकम सहयोग गर्ने निर्णय भएको हो । नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ ।
८. रसुवा भोटेकोशी बाढी अपडेटः ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ शव फेला परेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म ७ सय ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन् । प्राधिकरणकाअनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लामा गरी ७ सय ३४ जनाको शव फेला परेको छ । जसमध्ये सबैभन्दा बढी चितवनमा २ सय ५९ जनाको शव फेला परेको छ । । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा १ सय ८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमा विभिन्न मानव अङ्गहरूसमेत रहेको प्राधिकरणले जनाएको छ ।
९.रसुवा बाढीः सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ । सेनाको हवाई टोलीले आईतवार अपराह्न ३ बजेसम्म १६ जना विदेशी नागरिकसहित कुल ४०९ जनाको सफल उद्धार गरेको छ । उद्धार गरिएका विदेशी नागरिकहरूमा १५ जना चिनियाँ र १ जना भारतीय रहेका छन् । यसैबीच, त्रिशूली–३ जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेका व्यक्तिहरूको उद्धारका लागि विशेष टोली निरन्तर परिचालित छ । गत भदौ १२ गतेदेखि अस्थायी रूपमा बेस क्याम्प खडा गरी खटिएको विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटर जस्ता उपकरणहरूको प्रयोग गरी ‘क्राउनहेड’ फेला पार्न सफल भएको छ ।
१०. यो हामी सबैको साझा पीडा हो, राष्ट्रिय विपत्तिमा राजनीति नगरौँः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । एमाले महासचिव शङ्कर पोखरेलले नेतृत्व गरेको टोलीले रसुवाको प्रभावित क्षेत्रको अनुगमन गरी तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष ओलीले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गर्नुभयो । उहाँले यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
११. भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति, उद्धार र राहत कार्य जारी
गएको भदौ १० गते त्रिशूली तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । नदी तटीय क्षेत्रमा रहेका प्रमुख बस्तीहरू टिमुरे, स्याँप्रुबेंसी,त्रिशूली, बट्टार र देवीघाट लगायतका स्थानमा बाढीले व्यापक भौतिक तथा मानवीय क्षति पु¥याएको हो । नदीको जलस्तर बढेर बस्तीमा पसेपछि ठूलो संख्यामा निजी आवास, कृषि योग्य जमिन र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । बाढीका कारण विस्थापित भएका परिवारहरू हाल बिचल्लीमा परेका छन् । प्राप्त जानकारीअनुसार प्रभावित क्षेत्रहरूमा अहिले सरकारी निकाय, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरूको सक्रियतामा उद्धार तथा राहतका कार्यहरू सञ्चालन भइरहेका छन् । बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव संकलन र व्यवस्थापनको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
१२. बाढीपहिरोले राष्ट्र निर्माणमा खटिने दक्ष जनशक्तिको ठूलो क्षति भएको छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीका कारण राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने दक्ष जनशक्तिको अपूरणीय क्षति भएको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि महासचिव शंकर पोखरेलद्वारा प्रश्तुत प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले बेपत्ता र मृत्यु हुनेमा ४० वर्ष मुनिका इन्जिनियर तथा प्राविधिकहरू ठूलो संख्यामा रहेको उल्लेख गर्दै यसले मुलुकको पुनर्निर्माण र विकासका कार्यमा जनशक्तिको अभाव खड्किने चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले पीडितहरूको पुनस्र्थापना केवल घर निर्माणमा मात्र सीमित हुन नहुने बताउनु भयो ।
१३. बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार प्रभावकारी भएन, सरकारको उपस्थिति देखिएनः काँग्रेस नेता केसी
नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी राहत र उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको बैठकमा बोल्दै नेता केसीले विपद्को समयमा राज्यको उपस्थिति कमजोर देखिएको बताउनुभएको हो । पीडितहरूको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी गराउँदै नेता केसीले भैरमकोट, केउरिनी, बुढासिंह घाट र त्रिशूली बजार क्षेत्रका हजारौँ नागरिक विस्थापित भएर विद्यालय तथा कभर्ड हलमा शरण लिइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार त्रिशूली नदी पारिपट्टिका क्षेत्रहरूमा हालसम्म विद्युत सेवा अवरुद्ध छ भने अस्पतालहरूमा जेनेरेटरको अभावमा उपचार सेवा प्रभावित भएको छ ।नेता केसीले राहत सामग्री सङ्कलन भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको दाबी गर्नुभयो ।
१४. बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन, वागमती प्रदेश कमिटीलाई संयोजनको जिम्मेवारी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई परिचालन गर्न निर्देशन दिनुभएको छ । आईतवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी बुझाएको प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले उक्त निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले पार्टीले खाद्यान्न, कपडा र अन्य राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी दिनुभयो ।
१५. बाढीको पुनरावृत्ति, मेटिएको ‘संस्थागत स्मरण’–ई. आशिष गजुरेल (सांसद तथा पूर्वाधारविद)
वर्षायाम शुरु हुनासाथ नेपालका पहाडी खोच र नदी तटीय क्षेत्रहरूमा बाढी, पहिरो र लेदोको वितण्डा दोहोरिनु कुनै नौलो नियति होइन । तर हरेक वर्ष उस्तै प्रकृतिको विपत्तिले सयौँ नागरिकको ज्यान लिँदा र अर्बौंको भौतिक संरचना बगाउँदा पनि राज्य सधैँ पहिलो पटक दुर्घटना भोगेझैँ लाचार किन देखिन्छ ? हालै भोटेकोशी–रसुवा करिडोरको बाढीग्रस्त क्षेत्रमा पुगेर फर्किएका पूर्वाधारविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ई. आशिष गजुरेलको स्थलगत अनुभूति र विश्लेषणले हाम्रो विपद् व्यवस्थापन प्रणालीको चरम लाचारी र नीतिगत अन्धोपनलाई छर्लङ्ग पारेको छ ।
१६. बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि एकीकृत समन्वय आवश्यकः पूर्वमुख्यमन्त्री लामा
नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा बाढी र पहिरोले अकल्पनीय क्षति पु¥याएको भन्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गर्नुभएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा आयोजित विपद् व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता लामाले भदौ १० गते चीनको सीमावर्ती क्षेत्रबाट शुरु भएको बाढीले ठूलो जनधनको क्षति गरेको बताउनु भयो । गोसाइँकुण्ड मेला र जनैपूर्णिमाको समयमा आएको यस प्राकृतिक विपद्ले तीर्थयात्री र स्थानीय बासिन्दालाई गम्भीर रूपमा प्रभावित पारेको उहाँले बताउनु भयो । नेता लामाले त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको सुरुङभित्र ४१ जना श्रमिकहरू अझै फसिरहेको जानकारी दिनुभयो ।
१७. बाढी प्रभावित क्षेत्रमा ‘एकद्वार प्रणाली’ ले महिला र बालबालिकाका समस्या ओझेलमा परेः प्रमुख सचेतक थापा
नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बाढी प्रभावित क्षेत्रमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला र बालबालिकाका विशेष आवश्यकता र अधिकारका विषयहरू ओझेलमा परेको बताउनुभएको छ । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित बाढीपहिरो विपद् व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक थापाले हालैको स्थलगत अनुगमनका क्रममा राहत र उद्धार कार्यमा केही सकारात्मक प्रयास देखिए पनि वितरण प्रक्रियामा भने गम्भीर त्रुटी पाइएको उल्लेख गर्नुभएको हो ।
१८. बाढी प्रभावित क्षेत्रको अवस्था भयावह, उद्धार र व्यवस्थापनमा तिब्रता दिन काँग्रेस नेता आङदेम्बेको आग्रह
नेपाली काँग्रेसका नेता तथा संसदीय दलका पदाधिकारी सम्मिलित टोलीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी सरकारको ध्यानाकर्षण गराएको छ । नुवाकोटको विदुर, देवीघाट लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले त्यहाँको अवस्था कल्पनाभन्दा बाहिर र भयावह रहेको बताउनुभएको हो । नेपाली काँग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक, सांसदहरू टेकबहादुर गुरुङ, साजा खातुन र पूर्व मुख्यमन्त्री बहादुर लामासहितको टोलीले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएको हो । निरीक्षणका क्रममा नेता आङदेम्बेले विदुर र आसपासका क्षेत्रमा बाढीले पु¥याएको क्षति निकै ठूलो रहेको जानकारी दिनुभयो ।
१९. प्रहरी प्रधान कार्यालयमा स्थापित ‘आपत्कालीन समन्वय केन्द्र’ ले विपद् व्यवस्थापन तथा उद्धारमा कसरी काम गर्दैछ ?
भदौ १० गतेको भोटेकोशी बाढी र त्यसपछिको विपद्का घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरी कार्य शुरु गरिरहेको छ । प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा स्थापित यस केन्द्रको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले गरिरहनुभएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेकाअनुसार यस केन्द्रले विपद्का घटनामा परेका व्यक्तिको खोजतलास, शव व्यवस्थापन र उद्धार कार्यमा अन्तरनिकाय समन्वयको मुख्य भुमिका निर्वाह गरिरहेको छ ।
२०. पल्सर अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक, अवार्ड बाढी पीडितप्रति समर्पित
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड, २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आईतवार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३ औं संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५÷५ मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनित भएका छन् ।
२२. त्रिशूलीको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा धादिङको कृष्णभीर क्षेत्रमा सडकको तल्लो भागबाट कटान भई सडक भासिएपछि यातायात ठप्प भएको हो । त्रिशूलीमा आएको तिब्र बहावले सडकको जगबाटै कटान शुरु गरेपछि सडक भासिएको र सवारी आवागमन असुरक्षित बनेको हो । आज बिहान केही समयका लागि सञ्चालनमा आएको यो सडकखण्ड पुनः कटान बढ्न थालेपछि पूर्ण रूपमा बन्द गरिएको छ । मुख्य राजमार्ग नै अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
२३. चीनद्वारा नेपाललाई ५० टन आपतकालीन राहत सामग्री हस्तान्तरण
चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् । राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र सङ्घीय संसदका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । सो अवसरमा राजदुत माओमिङले राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुका साथै नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गर्नुभयो ।
२४. उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी
नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका भवनमा अनधिकृत रूपमा प्रवेश गरी आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनधिकृत रूपमा प्रवेश गर्न नपाइने बताउनुभएको हो । उहाँका अनुसार प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइनेछ । विपद्को फाइदा उठाउँदै कानूनले वर्जित गरेका गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको उहाँको भनाइ छ ।
२५. आफन्तको अनुमति बिनै शव व्यवस्थापन गरेको भन्दै काँग्रेसको आपत्ति
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछिको विपद् व्यवस्थापनका सन्दर्भमा चासो व्यक्त गरेको छ । पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको विषयप्रति गम्भीर आपत्ति जनाउनुभएको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले शव व्यवस्थापनको संवेदनशीलतालाई ध्यान नदिइएको गुनासो आएको बताउनु भयो । नेता आङदेम्बेले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको उल्लेख गर्नुभयो ।
२५. आफन्त गुमाएका परिवारका सदस्यलाई मनोसामाजिक परामर्श आवश्यक छः मन्त्री वादी
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गरेको भुमिकाको उच्च प्रशंसा गर्नुभएको छ । विपद्का समयमा तत्कालै कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहतमा पु¥याएको योगदानका लागि उहाँले रेडक्रसलाई धन्यवाद ज्ञापन गर्नुभयो । विपद् व्यवस्थापनका सन्दर्भमा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वादीले मन्त्रालयले विभिन्न संघसंस्थासँग समन्वय गरी काम गरिरहेको र त्यसमा रेडक्रसको सहयोग प्रभावकारी रहेको बताउनु भयो । मन्त्री वादीले हालको परिस्थितिमा परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
२७. इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह
इजिप्ट र कुवेतले इरान र अमेरिकाबीच बढ्दो क्षेत्रीय तनाव कम गर्न तथा कूटनीति र वार्ताको प्रक्रियामा तत्काल फर्कन आग्रह गरेका छन् । इजिप्टको परराष्ट्र मन्त्रालयकाअनुसार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र कुवेती समकक्षी शेख जर्राह जाबेर अल–अहमद अल–सबाहबीच शनिबार भएको टेलिफोन वार्ताका क्रममा उक्त आह्वान गरिएको हो । दुई मन्त्रीहरूले द्रुत रूपमा विकसित भइरहेका क्षेत्रीय घटनाक्रम र वर्तमान तनावलाई नियन्त्रण गर्ने उपायहरूबारे विस्तृत छलफल गर्नुभएको थियो । छलफलका क्रममा दुवै देशका मन्त्रीहरूले इरान र अमेरिकाबीचको वार्तालाई पुनः शुरु गर्नु अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् ।
२८. चीनको चेङ्दु र इथियोपियाको अदिस अबाबाबीच सिधा कार्गो हवाई सेवा शुरु
चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनको राजधानी चेङ्दु र इथियोपियाको राजधानी अदिस अबाबालाई जोड्ने नयाँ कार्गो हवाई मार्ग शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । बोइङ ७७७ एफ फ्रेटर विमानमार्फत सञ्चालन गरिएको यो हवाई सेवा हालका लागि हप्ताको दुई पटक (सोमवार र शुक्रवार) उपलब्ध हुनेछ । बजारको माग र आवश्यकतालाई मध्यनजर गर्दै भविष्यमा उडान संख्या बढाएर हप्ताको चार पटक पु¥याउने योजना रहेको बताइएको छ ।
२९. चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
चीन र नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित केरुङ नाकामा गएको भीषण पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शनिवार बिहान १ बजेसम्मको विवरणअनुसार ५ सय ५४ जना अझै बेपत्ता रहेका छन् । विपत्ति लगत्तै उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । उद्धारकर्ताहरू कम्मरसम्म आउने बाक्लो हिलो र लेदो छिचोल्दै पहिरोग्रस्त क्षेत्रको मुख्य भागसम्म पुग्ने प्रयास गरिरहेका छन् । कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।
३०. म्यानमारमा इन्धनको मूल्यमा वृद्धि, नयाँ साप्ताहिक दर सार्वजनिक
म्यानमार सरकारले पेट्रोलियम पदार्थको साप्ताहिक मूल्य सीमा (प्राइस क्याप) मा वृद्धि गरेको छ । म्यानमारको पेट्रोलियम पदार्थ नियामक विभागले शुक्रवार सार्वजनिक गरेको नयाँ दर अनुसार इन्धनको मूल्यमा वृद्धि गरिएको हो । नयाँ मूल्य सूचीअनुसार ९२ रोन पेट्रोलको मूल्य प्रतिलिटर ३,७१० क्यात (करिव १.७६ अमेरिकी डलर) र ९५ रोन पेट्रोलको मूल्य ३,८१५ क्यात कायम गरिएको छ । त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ४,२४० क्यात र प्रिमियम डिजेलको मूल्य ५,१४० क्यात पुगेको विभागले जनाएको छ ।
यसअघि अगस्ट २१ देखि २७ सम्मको सातामा ९२ रोन पेट्रोलको मूल्य ३,५७५ क्यात र ९५ रोनको ३,६९० क्यात तोकिएको थियो । सोही अवधिमा डिजेलको मूल्य ४,०७० क्यात र प्रिमियम डिजेलको ४,९२५ क्यात रहेको थियो ।
३१. वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैंकको उत्तरी सहर जेनिनमा भएको इजरायली हवाई आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । स्थानीय प्यालेस्टाइनी स्रोतहरूकाअनुसार इजरायली लडाकु विमानले सहरको हर्ष अल–सादा क्षेत्रमा रहेको एक घरलाई लक्षित गरी सो आक्रमण गरेको हो । आक्रमणलगत्तै उक्त क्षेत्रमा इजरायली सुरक्षा फौज ठूलो संख्यामा परिचालन गरिएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेना घटनास्थलमा पुग्नुअघि नै आफ्ना चिकित्सा टोलीहरू त्यहाँ पुगेको जानकारी दिएको छ । यद्यपि, इजरायली सेनाले पछि स्वास्थ्यकर्मीहरूलाई नियन्त्रणमा लिएको सोसाइटीले जनाएको छ । विज्ञप्तिकाअनुसार सेनाले चिकित्सा टोलीका उपकरणहरू जफत गर्नुका साथै उनीहरूलाई घटनास्थलबाट बाहिर जान आदेश दिएको थियो ।
३२. बाढीमा ज्यान गुमाएकाको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने अधिकार सुनिश्चित गर्न काँग्रेसले गरायो सरकारको ध्यानाकर्षण
नेपाली काँग्रेसले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहत वितरणमा देखिएका कमजोरी सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी तथा सांसदहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्त देवराज चालिसेले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा पार्टीका कार्यकर्ता र संगठनात्मक संयन्त्रलाई परिचालन गर्दै सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । उहाँले बैठकमा विशेषगरी विपद्पछिको खोज, उद्धार र राहत वितरणको विषयमा गम्भीर समिक्षा भएको बताउनु भयो ।
३३. रसुवा बाढीः ७ सय ३४ को मृत्यु, २ हजार ४ सय ९८ जना अझै सम्पर्कविहीन
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले आईतवार आईतवार दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताउनु भयो । उहाँकाअनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभाति क्षेत्रबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उहाँले जानकारी दिनुभयो । उहाँले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविही अवस्थामा रहेको समेत जानकारी दिनुभयो ।
३४. रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सम्पर्कविहीन हुनेमा २५ जना प्रहरी समेत रहेकोमा ३ जना मृत फेला परि सनाखत समेत भइसकेको छ । उहाँले सम्पर्कविहीन हुने कर्मचारीहरुमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९ सय ३३ जना रहेका छन् । प्रवक्ता काफ्लेले रसुवाबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा ४ सय ८१ जना तथा कोशी प्रदेशमा १ सय ३८ जना सम्पर्कविहीन रहेको आएको समेत बताउनु भयो ।
३५. रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड
१० भदौ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् । उनीहरुका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा उद्धार कार्य तिब्र बनाउन आग्रह गरिरहेका छन् । सिन्धुपालचोककी निरुता तामाङका श्रीमान रसुवाबाट सम्पर्कविहीन भएको आईतवार पाँच दिन भइसक्यो । दुई वर्षको सानो बच्चासहित श्रीमानको खोजीमा अहिले उहाँ काठमाडौं आइपुग्नुभएको छ । तामाङले श्रीमान कतै जंगल वा सुरक्षित स्थानमा पुगेर बाँचिरहेको हुन सक्ने आशा अझै नमरेको बताउनु भयो । उहाँले सरकारसँग सम्पर्कविहीन भएका मानिसको खोजी तथा उद्धारलाई तत्काल प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
३६. विगतबाट पाठ सिक्न नसक्दा उद्धार तथा राहत वितरणमा राज्यको कमजोरी दोहोरियोः नेता भण्डारी
नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले विगतका विपद्बाट पाठ सिक्न नसक्दा रसुवा बाढीपछि समेत उद्धार तथा राहत व्यवस्थापन प्रणालीमा कमजोरी दोहोरिएको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका विपद्बाट पाठ सिकेर सोहीअनुसार भौतिक विकास निर्माण र विपद् प्रतिकार्यको तयारी गर्नुपर्नेमा त्यस्तो गर्न नसकिएको बताउनु भयो । उहाँले जलविद्युत् आयोजनाका टनेलमा रहेका नागरिकको उद्धारमा भारत र चीनले सहयोग गर्न चाहाँदा पनि सरकार सहयोग माग्न हिच्किचाहेको आरोप लगाउनु भयो । उहाँले सरकारको उद्धार तथा राहत वितरण कार्यमा समेत कमजोरी देखिएको बताउनु भयो ।
३७. दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो
रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो । जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड ब्रिज हो । बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्याधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाईमा उठेको उहाँले जानकारी दिनुभयो ।
३८. धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएनः महानिर्देशक डा जैशी
रसुवा बाढीले बगाएको काठमाडौं धादिङबेंसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन देखिएको छ । बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङवेशी जाने वैकल्पिक सडकमार्ग खोजिएको सडक विभागले जनाएको छ । फुर्केखोलमा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ । पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्केखोलामा तत्काल बेलीब्रिज राखेर सडक सञ्चालन गर्न समस्या रहेको बताउनु भयो । तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भएपनि पुलको लम्बाइ र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाई छ ।
३९. धादिङबेंसी जोड्ने वैकल्पिक सडक सञ्चालन
रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेंसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ । फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङवेशी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो । संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालकाअनुसार बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो । त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेंसी जोड्ने सडक खुलाएको उहाँले जानकारी दिनुभयो ।
४०. यातयात व्यवसायीलाई अध्यक्ष सिटौलाको आग्रह– ‘तोकिएको भाडाभन्दा बढी नलिनुस्, बरु कम लिनुस्’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातयात व्यवसायी तथा चालकहरुलाई तोकिएको भाडाभन्दा बढी भाडा नलिन आग्रह गर्नुभएको छ । पोखरेली ट्याक्सी सेवा प्रालिको वार्षिकोत्सवमा उहाँले विपद्को समयमा बरु कम भाडा लिन आग्रह गर्नुभएको हो । उहाँले भारी वर्षाका कारण विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएकाले विपद्को समयमा जबर्जस्ती सवारी नचलाउन पनि आग्रह गर्नुभयो । उहाँले स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय र मौसमविद्ले दिएका सूचनालाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो । प्रशासनसँग समन्वय नगरी जबर्जस्ती सवारी चलाउन नहुने उहाँले बताउनु भयो ।
४१. विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
वागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आईतवार एमाले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको हो । मुख्यमन्त्री थापाकाअनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याईएइको छ । यस्तै नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।
४२. विपद् प्रभावितको तथ्यांक संकलन गर्न महानगरको हेल्प डेस्क र सूचना केन्द्र सञ्चालन
काठमाडौं महानगरपालिकाले विपद्मा परेका नागरिकको तथ्यांक संकलन तथा आवश्यक सहयोगका लागि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आईतवार आयोजित एक कायक्रममा हेल्प डेस्क तथा विपद् सूचना केन्द्रको शुभारम्भ गर्नुभएको हो । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगालले विपद्का बेला प्राप्त हुने सहयोगलाई प्रभावितसम्म पु¥याउन हेल्प डेस्कले समन्वयकारी भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँका अनुसार सहयोगलाई नगद, जिन्सी र सेवा गरी तीन वर्गमा विभाजन गरिएको छ । नगद सहयोगलाई प्रधानमन्त्री राष्ट्रिय विपद् उद्धार तथा राहत कोषसँग जोडिने उहाँले जानकारी दिनुभयो ।
४३. शव पहिचान र व्यवस्थापनमा सरकारले लिएको नीति गलतः एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरुको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताउनुभएको छ । आईतवार पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उहाँले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताउनुभएको हो । शवलाई पहिचान नगरि जमिनमुनी व्यवस्थापन गर्ने कार्य गलत भएको उहाँले बताउनु भयो । शवको डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी व्यवस्थापन गरिएको भएपनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उहाँको भनाई छ । शव व्यवस्थापनका विषयमा पीडित परिवारबाट असन्तुष्टि व्यक्त भइरहेको भन्दै उहाँले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
४४. संघीय सरकारले राहत संकलन गरेको छ, वितरण गर्न सकेको छैनः मुख्यमन्त्री थापा
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले रसुवा वाढी पीडितको लागि राहत सामग्री संकलन गरेपनि प्रभावित क्षेत्रमा पु¥याउन नसकेको आरोप लगाउनुभएको छ । आईतवार एमाले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उहाँले प्रभावित क्षेत्रमा राहत पु¥याउन सरकार असफल भएको बताउनुभएको हो । संघिय सरकारले राहत नेपाली सेनाको नुवाकोटको बट्टारस्थित ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा संकलन गरेर राखेको उहाँले बताउनु भयो । उहाँले संघीय सरकारले स्थानिय र प्रदेश सरकारलाई बेवस्ता गर्दा प्रभावकारी ढंगले राहत वितरण तथा उद्धारको काम हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालयमा आइतबार भएको छलफलपछि राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी वाग्मति सरकारलाई दिएको जानकारी दिनुभयो । उहाँले अब प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने बताउनु भयो ।
४५. कृष्णभीरको सडक पूर्ण रूपमा क्षतिग्रस्त
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएको छ । लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो । सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ । विभागको प्राविधिक टोलीले सो स्थानको भौगोलिक अवस्था र सडक भासिनुको कारणबारे विस्तृत अध्ययन शुरु गरेको जनाएको छ । अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij