Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीको पाँचौँ दिनसम्म पनि जलविद्युत् आयोजनाको सुरुङभित्रै छन् फसेका ६ सय

बाढीको पाँचौँ दिनसम्म पनि जलविद्युत् आयोजनाको सुरुङभित्रै छन् फसेका ६ सय


  • 2.4K
    Shares

    बाढीको पाँचौँ दिनसम्म पनि जलविद्युत् आयोजनाको सुरुङभित्रै छन् फसेका ६ सय
    images

    काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको पाँच दिन बितिसकेको छ । तर, अझै पनि विभिन्न आयोजनाका सुरुङभित्र फसेका सयौँ श्रमिक तथा प्राविधिकहरूको उद्धार हुन सकेको छैन । 

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार ११ वटा जलविद्युत् आयोजनाका कुल ८९८ जना कर्मचारी र श्रमिकहरू अझै पनि सम्पर्कविहीन छन्, जसमध्ये ठुलो संख्या सुरुङ र पावरहाउसभित्रै फसेको अनुमान गरिएको छ । बाढी आएको पाँच दिन बितिसक्दा पनि आवश्यक जनशक्ति, आधुनिक उपकरण र सरकारी तत्परताको अभावमा सुरुङभित्र फसेकाहरूको अवस्था अज्ञात छ । बाढी आएको क्षेत्रमा धेरै जलविद्युत आयोजनाहरू क्षेतिग्रस्त बनेका छन् । 

    सम्बन्धित आयोजनाका प्रवर्द्धकहरूले दिएको जानकारी अनुसार समयमै उद्धार हुन नसक्दा भित्र फसेकाहरूको अवस्था झनै नाजुक बन्दै गइरहेको छ । पाँच दिनसम्म उद्धार नभएको भन्दै आफ्न्तहरू आयोजनाका कार्यालय र सरकारसँग हारगुहार गरिरहेका छन् । 

    रसुवाको धुन्चेमा अहिले आफन्तको बाटो कुरेर बसेका परिवारहरूको रुवाबासी छ । म्याग्दीबाट आफ्ना बेपत्ता बुवा खोज्न आएका एक बालक र उनका मामा जसिन्द्र रसाइलीको व्यथा झन् मर्मस्पर्शी छ । ती बालकका मामा रसाइलीले भने, ‘मेरो गाउँ र छिमेकी जिल्लाबाट मात्रै २० जनाभन्दा बढी मानिस बेपत्ता छन् । सुरुङभित्र उनीहरू जीवितै छन् भन्ने हाम्रो विश्वास छ । तर यहाँ आएको चार दिन भयो, सरकारले केही हेलिकप्टर उडाएर भिडियो खिच्यो, तर सुरुङभित्र पस्ने हिम्मत कसैले गरेन ।’ 

    उनले थपे, ‘प्रशासन भन्छ । सुरुङ सफा गरेर मान्छे निकाल्न कम्तीमा एक महिना लाग्छ रे ! गृहमन्त्रीज्यू, के एउटा सुरुङभित्र मान्छे जीवित छ कि छैन भनेर हेर्न पनि हामीले एक महिना कुर्नुपर्ने हो ! के हाम्रा आफन्तको ज्यानको मूल्य यति सस्तो छ !’ 

    आवश्यक जनशक्ति, आधुनिक उपकरण अभाव, भौगोलिक जटिलता र पूर्वाधारको अभावको कारण केही ढिलाइ भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले गुनासो बढेकाले उद्धार कार्यलाई तीव्रता दिन र जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकलाई निकाल्न भारतीय र चिनियाँ विशेषज्ञ टोलीसहितको आधुनिक प्रविधि परिचालन गरिएको जानकारी दिएका छन् । 

    सरकारले जोखिमयुक्त क्षेत्र र सुरुङहरूमा फसेकाहरूको उद्धारका लागि भारतीय र अन्य विदेशी प्राविधिक टोली परिचालन गरेको जनाएको छ । उत्तरी नाका र आसपासका क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन् । प्रमुख उप्रेतीले भने, ‘हामीले स्क्यान गर्ने अत्याधुनिक मेसिनहरू फिल्डमा पठाएका छौँ । त्यसले रातदिन स्क्यान गरेर जीवित वा मृत अवस्थामा रहेका मानिसहरूको पहिचान गरी उद्धार गर्ने काम गरिरहेको छ । प्रविधिको अधिकतम प्रयोग गर्दा पनि जटिल भूबनोटका कारण समय लागिरहेको छ ।’ 

    आइतबार दिउँसोसम्मको विवरण अनुसार, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को सुरुङभित्र मात्रै करिब ३०० जना श्रमिकहरू फसेका छन् । यो आयोजनामा कुल ५७६ जना सम्पर्कविहीन रहेकोमा हालसम्म २५४ जनाको मात्र उद्धार भएको छ । त्यसैगरी, २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा २५ जना श्रमिकहरू अझै अड्किएका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङभित्र ४२ जना फसेको नेपाल विद्युत प्राधिकरणको अनुमान छ । 

    आयोजनाका प्रतिनिधिहरूका अनुसार, सुरुङभित्र अक्सिजनको अभाव र बढ्दो चिसोका कारण त्यहाँ फसेकाहरूको अवस्था निकै जटिल छ ।

    लाङटाङ आयोजनाका प्रवर्द्धक विजयमान भट्टराईले भने, ‘हाम्रो सुरुङमा २५ जना मानिस फसेका छन्, तर चार दिनसम्म सरकारले एउटा ठोस उद्धार प्रयाससमेत सुरु गरेको छैन । हामीले बारम्बार गुहारिरहेका छौँ, तर सुनुवाइ शून्य छ ।’

    इप्पानले सार्वजनिक गरेको विवरण अनुसार रसुवा र नुवाकोटका गरी ११ वटा आयोजना बाढीबाट नराम्ररी प्रभावित भएका छन् । जसमा माथिल्लो त्रिशूली–१मा  ५७६ जना सम्पर्कविहीन भएकोमा २५४ जनाको उद्धार भएको, ३०० जना सुरुङमा फसेका छन् । रसुवागढी आयोजनामा ९३ जना सम्पर्कविहीन, रसुवा–भोटेकोशी ४ जना सम्पर्कविहीन ,लाङटाङ खोला ४२ जना सम्पर्कविहीन ९१८ जनाको उद्धार, २५ जना सुरुङभित्रै फसेका छन् । चिलिमे आयोजनामा ८ जना सम्पर्कविहीन, मैलुङ खोला ७ जना सम्पर्कविहीन रहेका छन् ।

    त्यस्तै, नुवाकोट जिल्लाका प्रभावित आयोजनाहरूमा माथिल्लो त्रिशूली–३ बी १२२ जना सम्पर्कविहीन भएकोमा ११ जनाको मात्र जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–३ ए मा ४२ जना सम्पर्कविहीन भएकाहरू सुरुङभित्रै फसेको अनुमान छ । 

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १९:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij