२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । वागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
आईतवार एमाले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन्। मुख्यमन्त्री थापाकाअनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याईएइको छ । यस्तै नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिएका छन्।
विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले जानकारी दिएका छन् । उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने उनको भनाई छ । मुख्यमन्त्री थापाले विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम शुरु गरिसकेको पनि जानकारी दिएका छन् ।
उनले भने, ‘रसुवाको लागि चारवटा पालिकालाई १ करोड रुपैयाँ स्थानीय विपद् व्यवस्थापन समिति मार्फतबाट, त्यसैगरी नुवाकोटको लागि १ करोड रुपैयाँ, धादिङलाई ५० लाख, चितवनलाई ५० लाख रुपैयाँ हामीले विपद् व्यवस्थापन कोषबाट दिने निर्णय गरेका छौँ । मृतकको आफन्त हुनुहुन्छ, उहाँहरूको लाउने लुगाबाहेक केही पनि छैन, मृतकका सद्गत गर्न समेत सकिरहेको अवस्था छैन । तत्कालै हामीले प्रतिमृतक बराबर २५ हजार रुपैयाँ सद्गत गर्नलाई दिने भनेर निर्णय गरेका छोँ, जहाँजहाँ रासनको समस्या छ, जहाँजहाँ सेल्टरहरू बसेका छन्, त्यो सेल्टरहरूमा खाने र अस्थायी बसोवासको लागि जति लाग्ने खर्च प्रदेश सरकारबाट बेहोर्ने भनेर हामीले शुरुवात गरेका छौँ । हामीले स्थानीय तहसँग समन्वय गरेर, स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गरेर, सहकार्य गरेर कामलाई अगाडि बढाएका छौँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij