२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबिच भेटवार्ता भएको छ ।
भोटेकोशी बाढी र तीन तहका सरकारबिच समन्वय अभाव देखिएको टिप्पणी भइरहेका बेला मुख्यमन्त्री थापाले सत्तारुढ दल रास्वपा सभापति लामिछानेलाई भेटेका हुन् ।
आइतबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटवार्तामा मुख्यमन्त्री थापाले तीन तहका सरकारबिच समन्वय हुन नसकेको भन्दै त्यसका लागि पहल गर्न आग्रह गरेका छन् ।
त्यसक्रममा उनले समन्वय अभावमा प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको भन्दै प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा दुखेसो गरेका छन् ।
लामिछानेसँगको भेटमा थापाले जलवायु परिवर्तनको असर लामो भएकाले खोला किनारका बस्तीहरू स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता भएको जनाएका छन् ।
भेटमा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij