Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सप्तकोशीमा बढ्यो पानीको बहाव, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा बढ्यो पानीको बहाव, तटीय क्षेत्रमा उच्च सतर्कता


  • 785
    Shares

    सप्तकोशीमा बढ्यो पानीको बहाव, तटीय क्षेत्रमा उच्च सतर्कता
    images

    काठमाडौं । सप्तकोशी नदीमा पानीको सतह बढ्दै गएपछि सुनसरी प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार दिउँसो ४ः२० बजेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७६ हजार ८ सय क्यूसेक पुगेको छ। यो खतराको तहमा रहेको प्रशासनले जनाएको छ।

    नदीमा पानीको बहाव निरन्तर बढिरहेको र पश्चिमतर्फ कटानसमेत सुरु भएकाले जोखिम बढेको प्रशासनको भनाइ छ। हाल कोशी ब्यारेजका ५२ वटा ढोकामध्ये १८ वटा खोलिएका छन्।

    बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ। नदीमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्नसमेत आग्रह गरिएको छ।

    सप्तकोशीमा १ लाख ५० हजार क्यूसेक पानी पुगेपछि पहिलो अर्थात् रातो बत्ती बालेर जोखिमको संकेत दिने गरिन्छ। पानीको बहाव २ लाख क्यूसेक पुगेपछि दोस्रो र ३ लाख क्यूसेक पुगेपछि तेस्रो बत्ती बालेर उच्च खतराको संकेत दिइन्छ।

    यसअघि २०६५ साल भदौ २ गते सप्तकोशीमा करिब १ लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सुनसरीको कुशाहामा तटबन्ध भत्किएको थियो।

    कोशी ब्यारेजको डिजाइन क्षमता ९ लाख क्यूसेक भए पनि पहाडबाट बगेर आउने बालुवा तथा लेदो थुप्रिँदा यसको वास्तविक क्षमता घटेको विज्ञहरूले बताउँदै आएका छन्।

    सप्तकोशीमा सन् १९६८ मा अहिलेसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्यूसेक पानीको बहाव मापन गरिएको थियो। त्यस्तै, सन् १९८७ मा ५ लाख २३ हजार तथा २०८० साउनमा ४ लाख ५२ हजार क्यूसेक बहाव मापन गरिएको थियो।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १६:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij