२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि पाँच वटा ड्रिल (प्वाल) बनाएको छ। ती प्वालमार्फत सुरुङभित्र हावा पठाउने तथा भित्रको अवस्था बुझ्ने प्रयास भइरहेको छ।
सुरुङ विज्ञ तथा सांसद श्रीराम न्यौपाने उद्धारस्थलमै बसेर ड्रिल गर्ने र सुरुङभित्रको अवस्था बुझ्ने प्रक्रियाको नेतृत्व गरिरहेका छन्।
उनका अनुसार एक्स्काभेटरको प्रयोग गरेर सुरुङको स्ल्याब पत्ता लगाउने प्रयास भइरहेको छ। खन्ने क्रममा चट्टान भेटिएकाले उद्धारमा थप कठिनाइ भएको उनले बताए। चट्टानको भाग धेरै नरहेको अवस्थामा स्ल्याब छिट्टै पत्ता लाग्ने र आवश्यक परे विस्फोट गराएर पनि सुरुङभित्र प्रवेश गर्ने प्रयास भइरहेको न्यौपानेले जानकारी दिए।
उद्धारका लागि नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोली परिचालन गरिएको छ।
प्राधिकरणका इन्जिनियर सुरज दाहालका अनुसार एक–दुई जना व्यक्ति प्रवेश गर्न सक्ने गरी प्वाल बनाउन सकिए नेपाली सेनाका उद्धार विज्ञलाई सुरुङभित्र पठाएर अवस्था बुझ्ने तयारी छ।
सुरुङभित्र लेदो नछिरेको पुष्टि भए थप उद्धारकर्तालाई प्रवेश गराई कर्मचारीहरूलाई एक–एक गर्दै बाहिर निकाल्ने योजना रहेको दाहालले बताए।
प्राधिकरणका अनुसार बाढी आएको दुई दिनपछि गत शुक्रबारबाट मात्रै उद्धार कार्य सुरु गरिएको थियो। पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएपछि भित्र फसेका कर्मचारीको अवस्थाप्रति चिन्ता बढेको छ।
आयोजनाको भूमिगत विद्युत्गृहमा ओभरहलिङको काम भइरहेका बेला करिब ४० देखि ४२ जना उच्च विज्ञसहितका प्राविधिक जनशक्ति सुरुङभित्र फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij