२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका तथा मृत्यु भएका २५९ जनाको शव चितवनमा फेला परेको छ। सुरक्षाकर्मीहरूले नारायणी नदीको किनारबाट ती शव सङ्कलन गरेका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्रै सनाखत भएको छ। सनाखत भएका व्यक्तिहरूमा दुई जना प्रहरी कर्मचारीसमेत छन्।
सनाखत हुनेमा नुवाकोटका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, रामेछाप मन्थलीका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, बाँके कोहलपुरका कविलाल चौधरी, रसुवा उत्तरगया–१ का भुवन मगर, मकवानपुर हेटौँडाका रमेश मगर, नुवाकोट ककनीका अर्जुन बलामी, बाँकेका रमेश थारु, नुवाकोट किस्पाङ–५ की तेरिना गुरुङ र सिन्धुपाल्चोक भोटेकोशी–३ का पेमा सिंह शेर्पा रहेका छन्।
उनीहरूको शव परिवार तथा आफन्तले पहिचान गरेको प्रहरीले जनाएको छ।
यसैबीच, चितवनमा फेला परेका ९६ वटा पहिचान नखुलेका शवको व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार पहिचान नभएका शवहरू देवघाट धामको बीच जङ्गल क्षेत्रमा गाडेर सुरक्षित राखिएको छ।
प्रहरीका अनुसार अन्य शवको पहिचान तथा आफन्तको खोजी कार्य जारी रहेको छ। बाढीपछि नारायणी नदीको किनार तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मीहरूले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij