२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणमा बाढीपछि कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ। बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपाली रहेका छन्।
सार्वजनिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलिया र क्यानडाका ६/६, दक्षिण अफ्रिकाका ४ तथा जर्मनी, मलेसिया र रूसका ३/३ जना रहेका छन्।
त्यस्तै इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ जना तथा फिनल्यान्ड, हंगेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १/१ जना नागरिक सम्पर्कविहीन भएका छन्।
चिनियाँ अधिकारीहरूले सम्पर्कविहीन विदेशी नागरिकका सम्बन्धमा सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेको बताएका छन्।
यसैबीच, आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा नरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
केरुङ क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएपछि उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ। सम्पर्कविहीन विदेशी नागरिकको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij