२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ।
गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका हुन्।
‘हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,’ उनले लेखेका छन्।
बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो।क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।
उद्धार टोलीले प्वालमार्फत अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ।
यस आयोजनाबाट भदौ १० को बाढीपछि ४२ जना सम्पर्कविहीन छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij