Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरको ३३ खबर

आज दिनभरको ३३ खबर


  • 3.1K
    Shares

    आज दिनभरको ३३ खबर
    images

    १. सरकारले ‘टनेल रेस्क्यु’ का लागि भारत र चीनसँग सहयोग माग्योः हिमालयन पारिस्थितिक प्रणाली संरक्षणमा विश्व समुदायलाई गुहा¥यो

    परराष्ट्रमन्त्री शिशिर खनालले हिमालयन पारिस्थितिक प्रणालीमा आएको परिवर्तनले नेपाल र यस क्षेत्रका अन्य मुलुकहरूमा गम्भीर जोखिम निम्त्याएको भन्दै यसको संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न विश्वव्यापी प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको हो । 

    २. विपद् प्रतिकार्य र शव व्यवस्थापनमा नेपाल प्रहरी सक्रिय, लुटपाटमा संलग्न ३० भन्दा बढी पक्राउ

    नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तिब्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विपद्पछिको अवस्थालाई सम्बोधन गर्न संगठन अहोरात्र खटिएको बताउनुभएको हो । प्रहरीकाअनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ ।

    ३. रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक,२ सय ११ वटा आंशिक मानव अङ्ग फेला

    मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिवार न्युज एजेन्सी नेपालसँग कुरा यसबारे जानकारी दिनुभएको हो । प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुने ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन् । यसैगरी २ सय ११ वटा आंशिक मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । बेपत्ता हुनेहरूको सङ्ख्या २ हजार ३ सय ६२ पुगेको छ । यसमध्ये १ हजार ८ सय ६३ जना नेपाली नागरिक (१ हजार ५ सय ९१ पुरुष र २ सय ६४ महिला) रहेका छन् भने ५ सय २३ जना विदेशी नागरिक (२ सय २३ पुरुष र ३ सय महिला) बेपत्ता छन् । 

    ४. रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्नुभएको छ । 
    शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रसुवा बाढीप्रति दुःख व्यक्त गर्नुभएको हो । नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गर्नुभयो । चीन र नेपालको सीमा नाका एवं मानसरोवर र कैलाश पर्वतको प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा भएको क्षतिले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उहाँको भनाइ छ । 

    ५. भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

    भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस विपद्को पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री खनालकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ सय ८७ विदेशी नागरिकसहित ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ । विपद्मा परी हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ भने करिव २ हजार ४ सय व्यक्ति अझै बेपत्ता छन् । 

    ६. बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत

    भदौ १० गतेको बाढी तथा विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सरकारले घाइतेहरूको उपचार, शव व्यवस्थापन तथा सम्भावित संक्रामक रोगको रोकथामलाई तिब्रता दिएको छ । विपद्मा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि सरकारले नयाँ कार्यविधि (निर्देशिका) परिमार्जन गरी स्वीकृत गरेको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाअनुसार विपद् प्रभावित क्षेत्रमा उपचार व्यवस्थापन सहज भएपनि बाढीले बगाएका शवहरूको खोजी, पहिचान, भण्डारण र परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनु भयो । बाढी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू, सडेगलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै मन्त्रालयले शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

    ७. बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तिब्रता दिन नेता आङ्देम्बेको आग्रह

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको हो । नेता आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा सडक पिच भएपनि लेदो र माटोका कारण यातायात ठप्प रहेको बताउनु भयो । तत्काल स्काभेटर प्रयोग गरेर लेदो पन्छाउन सके सवारी साधन र बेलिब्रिजका सामग्रीहरू सम्बन्धित स्थलसम्म पु¥याउन सहज हुने उहाँको भनाइ छ ।

    ८. बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी

    भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न ‘रेफ्रिजरेटिङ कन्टेनर’को अभाव खट्किएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बाढीको लेदोमा खोजी कार्य प्रभावकारी बनाउन विशेष बुट, १० वटा वायरलेस ट्र्याकिङ डिभाइस र १०० केजीसम्म भार बोक्न सक्ने ‘ट्रान्सपोर्टेसन ड्रोन’ तत्काल आवश्यक रहेको बताउनु भयो । 

    ९.प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले रुिवा बाढी र पहिरोले पु¥याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराउनुभएको छ । शनिवार प्रधानमन्त्री निवासमा भएको भेटमा नेता आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा बाढीपहिराका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराउनुभएको हो । प्रभावित क्षेत्रको स्थलगत अनुगमन र स्थानीय नागरिक तथा प्रशासनसँगको छलफलपछि नेता आङदेम्बेले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । 

    १०. पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल

    परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तिब्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रश्ताव गरेको जानकारी दिनुभएको छ । शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पु¥याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताउनुभएको हो । मन्त्री खनालकाअनुसार रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ । 

    ११. नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु

    नारायणी र राप्ती नदीको तटीय क्षेत्रमा फेला परेका पहिचान नभएका शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न शुरु गरिएको छ । फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रबाट हालसम्म संकलन गरिएका २३३ शवमध्ये ६ वटाको पहिचान भई आफन्तलाई जिम्मा लगाइएको छ भने बाँकी शवहरूलाई सुरक्षित तवरले दफन गर्ने प्रक्रिया अगाडि बढाइएको हो । शवहरूलाई लामो समयसम्म फ्रिजमा राख्न नसकिने अवस्था भएपछि जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरूले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को प्रोटोकलअनुसार जमिनमुनि सुरक्षित राख्ने निर्णय गरेका हुन् ।

    १२. धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन

    धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ । मासटारदेखि धादिङबेँसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको हो । अनुगमन टोलीमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौंका प्रमुख सौजञ्य नेपाल र सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा लगायतको सहभागिता रहेको थियो । 

    १३. टनेल उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ, ढिलाइ गर्दा मानवीय क्षति हुनसक्छ–पूर्वकार्यकारी प्रमुख भट्ट

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ । रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

    १४. गाईजात्राः शोकलाई शक्ति र हाँसोमा बदल्ने अनुपम सांस्कृतिक उत्सव

    भाद्र कृष्ण प्रतिपदाको पावन अवसरमा आज काठमाडौं उपत्यकासहित देशविदेशमा नेवार समुदाय र सम्पूर्ण नेपालीहरूले परम्परागत ऐतिहासिक पर्व गाईजात्रा (नेपाल भाषामा ‘सापारु’) भव्यता र धार्मिक निष्ठाका साथ मनाइरहेका छन् । बिहानैदेखि ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र, हनुमानढोका, गद्दी बैठक र पाटन–भक्तपुरका प्राचीन गल्लीहरूमा जनसागर उर्लिएको छ । विगत एक वर्षभित्र दिवङ्गत भएका आफ्ना परिवारजनको आत्माको चीर शान्ति, सद्गति र स्वर्गारोहणको कामना गर्दै परिवारका सदस्यहरूले बालबालिकालाई गाई, श्रीकृष्ण, राधारानी, जोगी तथा विभिन्न देवी–देवताको भेषभूषामा सिँगारेर नगर परिक्रमा गराएका छन् । 

    १५. काठमाडौं उपत्यकामा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा श्रद्धापूर्वक मनाइँदै

    काठमाडौं उपत्यकामा आज परम्परागत सांस्कृतिक एवं ऐतिहासिक पर्व गाईजात्रा हर्षोल्लासका साथ मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको पुण्य स्मृतिमा यो पर्व मनाउने गरिन्छ । आज बिहानैदेखि दिवङ्गत पितृहरूको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने कार्य भइरहेको छ । यस पर्वका क्रममा मृतकका परिवारजनले गाई वा गाईको प्रतिकका रूपमा मानिस (विशेषगरी बालबालिका) लाई विभिन्न भेषभूषामा सिँगारेर नगरका विभिन्न भागको परिक्रमा गराउने गर्दछन् । यसो गर्नाले दिवङ्गत आत्माले सद्गति प्राप्त गर्ने र यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास रहिआएको छ । 

    १६. राहत वितरणमा सिमित सामाजिक संस्था परिचालन गरेकोप्रति आपत्ति जनाउँदै काँग्रेसले प्रधानमन्त्रीलाई भन्यो–‘मानिसले खान नपाएर ज्यान गुमाइसकेपछि राहत पुग्नुको कुनै अर्थ हुँदैन’

    नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले रसुवाका दुर्गम तथा विकट क्षेत्रमा राहत सामग्री पुग्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराउनुभएको छ । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँले राहत वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले नुवाकोटका तल्लो क्षेत्रहरूमा राहत केन्द्रित भएपनि रसुवाका माथिल्लो भेगहरू अझै उपेक्षित रहेको बताउनु भयो । 

    १७. काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्

    ‘दुर्गन्धका कारण भयावह अवस्था सिर्जना भई ठूलो महामारी फैलिन सक्ने खतरा’
    नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरी उहाँले प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने सुधारका कार्यहरूबारे ध्यानाकर्षण गराउनुभएको हो । भेटका क्रममा नेता आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखिएका समस्याहरू प्रधानमन्त्रीसमक्ष राख्नुभयो । 

    १८. कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव

    नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्र राय यादवले कम्युनिस्ट पार्टीहरूले सत्ता र गठबन्धनको राजनीतिक जोड घटाउभन्दा जनजीविकाका सवाल र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता यादवले कम्युनिस्ट पार्टी जनताको वर्गीय मुक्तिका लागि स्थापना भएको स्मरण गराउँदै जनतालाई धोका दिन नहुने बताउनुभएको हो । उहाँले वर्तमान समयमा राजनीतिमा वर्गीय मुद्दा ओझेलमा परेर जातीय र वर्णका मुद्दाहरू हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

    १९. ‘भोटेकोशी एउटा विपत्ति होइन, नेपालको हिमाली भविष्यको चेतावनी हो’

    रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोला जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई केवल एउटा सामान्य प्राकृतिक विपत्ति, मनसुनी भेल वा आकस्मिक हिमताल विस्फोटका रूपमा मात्र बुझियो भने नेपालले त्यस घटनाबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ छुट्नेछ । बाढी आयो, सडक र मोटरेबल पुल बगायो, निर्माणाधीन जलविद्युत् आयोजना ध्वस्त बनायो, तटीय मानव बस्तीहरू उजाड्यो र केही दिनको उद्धार तथा राहतपछि राज्यको ध्यान फेरि अर्को विषयतिर मोडियो भने हामी भविष्यमा अझ ठूलो महाविपत्तिको सिकार बन्ने निश्चित छ । 

    २०. ‘काम सबैले ग¥यौं तर एकीकृत समन्वय भएन, सुरुङ उद्धारमा सङ्घ हिचकिचायो’ः मुख्यमन्त्री किरण थापा

    बाढीपहिरो र जलविद्युत आयोजनामा आएको विपत्तिपछि मैदानमा प्रदेश सरकारको उपस्थिति नदेखिएको र तीन तहका सरकारबिच समन्वयको चरम अभाव रहेको भन्दै तिब्र आलोचना भइरहेका बेला वागमती प्रदेश सरकारले कार्यविभाजन, सूचना संप्रेषण र अन्तर–सरकारी सहकार्यमा कमजोरी भएको स्वीकार गरेको छ । न्युज एजेन्सी नेपालसँगको विशेष कुराकानीमा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को आकार अकल्पनीय रूपमा ठूलो भएका कारण राज्यको मौजुदा स्रोत र प्रयास नागरिकको अपेक्षाअगाडि अपुग देखिएको बताउनु भयो । विपद्मा सबै निकायले आ–आफ्नो ढङ्गले काम गरे पनि राज्यका तीन तहबीच हुनुपर्ने एकीकृत कमाण्ड, कार्यविभाजन र एकद्वार सूचना संयन्त्र चुस्त हुन नसक्दा जनतामा समन्वय अभावको गलत सन्देश गएको उहाँको भनाइ छ । 
    यसैबीच, रसुवालगायतका विभिन्न जलविद्युत आयोजनाका सुरुङ (टनेल) भित्र फसेका मजदुरहरूको जीवन रक्षाका लागि देशभित्र प्रविधि नभएको स्पष्ट पार्दै मुख्यमन्त्री थापाले तत्काल अन्तर्राष्ट्रिय विज्ञ र उद्धार टोली बोलाउन सङ्घीय सरकारले देखाएको हिचकिचाहटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले राहत र कोष संकलनमा मात्र सिमित नभई सुरुङमा छटपटाइरहेका नागरिकको जीवन बचाउन सङ्घीय सरकारले बिना ढिलाइ अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिनुपर्नेमा जोड दिनुभयो । 

    २१. ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय

    टिमुरे बजारको त्यो साढे तीन तले पक्की घरलाई सबैले गाउँकै सबैभन्दा सुरक्षित आश्रयस्थल मान्थे । छेउमै चीन सरकारले बनाइदिएको आधारभूत विद्यालय थियो, अगाडि गाडी पार्किङ गर्ने खुला कम्पाउण्ड । भूकम्प नै आए पनि वा वर्षा भएपनि बाहिर निस्केर ढुक्कले उभिन सकिने त्यो घरमा प्लान्ट क्वारेन्टाइन कार्यालय भाडामा बसेको थियो । तलका तीन तलामा राष्ट्रसेवक कर्मचारीहरूको दैनिकी चल्थ्यो । अघिल्लो रात त्यहाँ एउटा परिवारजस्तै सात जना मानिसहरू बास बसिरहेका थिए ।

    २२. अमेरिका र इरानलाई वार्तामा फर्कन संयुक्त राष्ट्र संघको आह्वान

    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । द्वन्द्व शुरु भएको छ महिना पुगेको सन्दर्भमा प्रवक्ता दुजारिकले महासचिवको धारणा सार्वजनिक गर्दै यस संकटको एक मात्र समाधान कुटनीति भएकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं ।’

    २३. अमेरिका र भेनेजुएलाबीच ‘विश्वकै ठूलो’ तेल सम्झौता भएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच ऐतिहासिक तेल सम्झौता भएको घोषणा गर्नुभएको छ । ट्रम्पले यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता को संज्ञा दिनुभएको हो । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिँदै ट्रम्पले निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेल भन्दा बढी प्रमाणित तेल भण्डारमा नियन्त्रण कायम गरेको बताउनु भयो । उहाँले यस प्रक्रियामा अमेरिकी करदाताहरूको कुनै पनि खर्च नभएको दाबी समेत गर्नुभयो । ट्रम्पकाअनुसार यो सम्झौताले अमेरिकाको वर्तमान तेल भण्डारलाई दोब्बरभन्दा बढी बनाउनेछ । 

    २४. चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता

    चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बेपत्ताहरूको खोजीका लागि अहिले सो क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन भइरहेको छ । शनिवार बिहान ९ः३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरका उद्धारकर्मीहरूले विपद्ग्रस्त मुख्य क्षेत्र (कोर जोन) मा खोजी कार्य जारी राखेका छन् । 

    २५. चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता

    चिीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पु¥याइएको छ । भौगोलिक विकटता र अवरुद्ध सडक सञ्जालका कारण ड्रोनको प्रयोग गरी सामग्री ढुवानी गरिएको हो । सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शुक्रवार अपराह्न करिव ४ः३० बजे पहिलो व्यावसायिक उद्धार टोली विपद् प्रभावित मुख्य क्षेत्रमा पुगेको थियो । माथिल्लो तटीय क्षेत्रमा बनेको कृत्रिम ताल (ब्यारियर लेक), निरन्तरको मुसलधारे वर्षा र सडक तथा सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको अधिकारीहरूले जनाएका छन् । 

    २६. चीन–नेपाल सीमा क्षेत्रको केरुङ नाकामा पहिरोः ५ जनाको मृत्यु, ५५८ बेपत्ता

    चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागकाअनुसार गत बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पु¥याएको हो । शुक्रवार अपराह्न ३ बजेसम्मको प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू अझै बेपत्ता रहेका छन् । 

    २७. दोस्रो विश्वयुद्धमा जापानी सेनाद्वारा आफ्नै सैनिकमाथि घातक जीवाणु परीक्षण गरिएको खुलासा

    दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाले आफ्नै सैनिकहरूमाथि लामखुट्टेबाट सर्ने रोगहरूको अमानवीय परीक्षण गरेको तथ्य सार्वजनिक भएको छ । चीनको हेलुङजियाङ प्रान्तको राजधानी हार्बिनस्थित जापानी सेनाको युनिट ७३१ द्वारा गरिएका अपराधका प्रमाणहरू संकलित प्रदर्शनी केन्द्रले बिहीवार सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले यस्तो खुलासा गरेको हो । 

    २८. नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि

    चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्याइरोङ) काउन्टीमा दृश्य कैद गरिरहेका एक पर्यटकले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी पहिरो (ग्लेसियर कोल्याप्स) को दृश्य दुर्घटनावश आफ्नो क्यामरामा कैद गरेका छन् । चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘इन्स्टिच्युट अफ माउन्टेन हाजाड्र्स एण्ड इन्भायरोन्मेन्ट’ का निर्देशक काङ सिचाङले उक्त भिडियोमा देखिएको हिमनदी पहिरोको स्थान ‘रिमोट–सेन्सिङ’ उपग्रह चित्रहरूसँग मेल खाएको पुष्टि गरेका छन् ।

    २९. राजा ह्याराल्ड पाँचौँको निधन, नर्वेका नयाँ राजा हाकोन आठौँद्वारा कार्यभार सम्हालन शुरु

    नर्वेका नयाँ नरेशले ‘हाकोन आठौँ’ ह्याकोन भिआइआइआइका रूपमा आफ्नो शासनकाल शुरु गर्नुभएको छ । ओस्लोस्थित राजदरबारमा शुक्रवार आयोजित राज्य परिषद्को विशेष बैठकमा उनले औपचारिक रूपमा राजगद्दी सम्हालेको घोषणा गरिएको हो । नर्वेजियाली सरकारद्वारा प्रकाशित आधिकारिक दस्ताबेजअनुसार, नयाँ राजाले आफ्नो शासनकालको आदर्श वाक्य ‘आल्ट फोर नोर्गे’ (सबै नर्वेका लागि) रहने जानकारी दिनुभएको छ । सो अवसरमा राजा हाकोन आठौँले आफ्ना पिता राजा ह्याराल्ड पाँचौँको निधनबारे सरकारलाई औपचारिक जानकारी गराउँदै संवैधानिक व्यवस्थाअनुसार आफूले राजाको जिम्मेवारी सम्हालेको बताउनुभएको थियो । 

    ३०. उद्धारका लागि छिमेकीसँग सहयोग माग्न सरकार हिच्किचाउनु हुँदैनः विपद् विज्ञ डा. तुलाधार

    विपद् विज्ञ डा. गंगालाल तुलाधरले विपद्पछिको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिनुभएको छ । रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उहाँले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए विदेशी सहयोग लिनुपर्ने सुझाव दिनुभएको हो । विपद् व्यवस्थापनमा सरकारका क्रियाकलापहरु प्रशंसनीय भएपनि मानवीय उद्धारलाई प्राथमिकता दिन नसक्दा त्यसको सन्देश नकारात्मक जानेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । 

    ३१. माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी

    रसुवा बाढीका कारण जलविद्युत आयोजना तथा प्रशारण संरचनामा ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार प्रारम्भिक विवरणमा करिब ३ सय ७५ जना बेपत्ता वा सम्पर्कविहीन छन् भने ४ सय ३० मेगावाट क्षमताका करिव १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । प्राधिकरणले हाल हराएका कर्मचारीलाई खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरेको छ । सम्पर्कविहीन रहेकामध्ये कति जना सुरुङ वा संरचनाभित्र फसेका छन् र कति जनालाई बाढीले बगाएको छ भन्ने यकिन हुन बाँकी रहेको प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    ३२. रसुवा बाढीः मृतकको संख्या ६ सय २६ पुग्यो, शव व्यवस्थापनमा समस्या

    रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यू हुनेको संख्या ६ सय २६ पुगेको छ । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उहाँकाअनुसार शनिवार विहान साँढे १० बजेसम्म विभिन्न जिल्लामा उक्त शव फेला परेको हो । सबैभन्दा धेरै शव चितवनमा २ सय ३३ वटा शव फेला गरेको उहाँले जानकारी दिनुभयो । यस्तै नवलपुर पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१, गोरखामा ४८, धादिङमा ४५ र रसुवामा १३ जनाको शव फेला परेको छ । प्राधिकरणले शव व्यवस्थापन गर्न समस्या भएको जनाएको छ । अस्पतालमा रहेका शवगृहहरुको क्षमता भन्दा बढी शव भेटिएको र शव पहिचान हुन नसकेको कारण शव व्यवस्थापन गर्न चुनौतीपूर्ण बन्दै गएको प्रवक्ता महतले जानकारी दिनुभयो । यद्यपि विभिन्नि अस्पतालहरुको सहयोगमा शव व्यवस्थापन भईरहेको उहाँको भनाई छ । 

    ३३. सुरुङ उद्धारको लागि स्थान पहिचान गर्न नै मुस्किल भयोः उपकार्यकारी निर्देशक श्रेष्ठ

    नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले रसुवा बाढीका कारण जलविद्युत आयोजनामा फसेका नागरिकको तत्काल उद्धार गर्न ठूलो चुनौती देखिएको बताउनुभएको छ । उहाँले त्रिशूली–३ ए, बी लगायत जलविद्युत आयोजनाको भूमिगत पावरहाउसमा फसेका कामदारको उद्धारमा ठूलो चुनौती देखिएको बताउनुभएको हो । बाढीको कारण प्रारम्भिक चरणमा त्रिशुली– ३ ए को आयोजनास्थल पहिचान गर्न नै मुस्लिक परेको उहाँले बताउनु भयो । बाढी र लेदोले संरचना पुरिएपछि सुरुङ तथा पावरहाउसको वास्तविक स्थान तत्काल पत्ता लगाउन मुस्किल भएको उहाँको भनाई छ ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - २१:२९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij