Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज


  • 946
    Shares

    बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज
    images

    काठमाडौं । रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।

    भदौ १० गते आएको रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि यी दुई संस्थाले संयुक्त रूपमा उक्त राहत प्याकेज ल्याएका हुन्। यस अभियानअन्तर्गत आपत्कालीन राहतदेखि लिएर अस्थायी आवास निर्माण र दीर्घकालीन स्वास्थ्य तयारीसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन्।

    भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल र व्यक्तिगत सरसफाइका सामग्रीहरू वितरण सुरु गरिएको दुई चौधरी फाउन्डेसन र नबिल बैंकले जानकारी दिएका छन्। यस कार्यमा फाउन्डेसन र बैंकका कर्मचारीहरू स्थानीयस्तरमै परिचालित हुनेछन्।

    त्यस्तै, स्थानीय प्रशासनसँगको समन्वयमा रसुवा र नुवाकोटमा एक–एक वटा व्यवस्थित राहत शिविर स्थापना गरी दैनिक भोजनको व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख छ । यसका साथै धुलिखेल अस्पतालसँगको सहकार्यमा प्राथमिक स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिइएको छ ।

    चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीले घर पूर्ण रूपमा भत्किएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने जानकारी दिएका छन् । सरकारसँगको सहकार्यमा निर्माण हुने यी आवासहरू भूकम्पपीडितका लागि प्रयोग गरिएको प्रमाणित प्रविधिमा आधारित हुने उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यस्तै, स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिने प्रतिबद्धता चौधरी फाउन्डेसन र नबिल बैंकले जनाएका छन् ।

    संस्थाद्वयले संक्रामक रोग रोकथाम केन्द्र स्थापना गर्ने घोषणा पनि गरेका छन् । दीर्घकालीन योजनाअन्तर्गत धुलिखेल अस्पतालसँग मिलेर ‘संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ स्थापना गरिनेछ। यसले विपद्पछि उत्पन्न हुन सक्ने प्रकोप व्यवस्थापन, जनचेतना र रोग निगरानीमा काम गर्ने घोषणा गरिएको हो ।

    चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु रहेको बताएका छन्। ‘हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन, उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ,’ उनले भनेका छन्।

    यस अभियानलाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूसँग निकट समन्वय गरिने विज्ञप्तिमा उल्लेख छ। दुवै संस्थाले विपद्को समयमा उद्धार र तत्काल राहतमा नेपाल सरकारले देखाएको सक्रियता र तत्परताको प्रशंसा गर्दै आगामी दिनमा पनि प्रभावकारी रूपमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

    प्रकाशित मिति :भाद्र १३ २०८३ शनिवार - १२:३५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij