२०८३ आश्विन १ गते बिहिवार
१. सांस्कृतिक एवं धार्मिक गरिमा बोकेको रक्षावन्धन पर्व हर्षोल्लासका साथ मनाइँदै
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र पर्व रक्षावन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, स्नेह र विश्वासको प्रतीक मानिने यो पर्व नेपालभर र विशेष गरी मिथिलाञ्चल क्षेत्रमा विशिष्ट महत्वका साथ मनाउने गरिन्छ । रक्षावन्धनको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र (राखी) बाँधिदिएर उनीहरूको सुख, समृद्धि, सफलता र दीर्घायुको कामना गर्दछन् । राखी बाँध्ने क्रममा दिदीबहिनीले दाजुभाइबाट जीवनभर आफ्नो रक्षा गर्ने वचन प्राप्त गर्छन् ।
२. ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिमा मेलाको भव्यता
श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा (क्वाँटी पुन्ही) को पावन अवसरमा ऐतिहासिक नगरी पाटनस्थित पाँचतले श्री कुम्भेश्वर महादेव मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा भव्य मेला तथा जात्रा सम्पन्न भएको छ । बिहानको व्रह्ममुहूर्तदेखि नै मन्दिर प्राङ्गण, कोन्ती पोखरी र आसपासका पाटी–पौवाहरूमा दर्शनार्थी तथा साधकहरूको ठूलो घुइँचो लागेको थियो । रसुवाको ४,३८० मिटर उचाईमा रहेको दुर्गम हिमाली तीर्थ गोसाइँकुण्ड पुग्न नसक्ने लाखौँ भक्तजनहरूले कुम्भेश्वर परिसरस्थित पवित्र कोन्ती पोखरीमा स्नान गरी महादेवको पूजा–अर्चना गरेका छन् ।
३. ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला
ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमाको अवसरमा आज विशेष मेला लागेको छ । बिहीवार बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा गर्ने र मेला भर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वका अवसरमा कुम्भेश्वर महादेवको दर्शन गर्न र त्यहाँस्थित पवित्र कुण्डमा स्नान गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थीहरू पुगेका छन् । पौराणिक मान्यताअनुसार रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरूले कुम्भेश्वरको कुण्डमा स्नान गर्दा गोसाइँकुण्डकै बराबर पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
४. मन्त्रमुग्ध वागमती किनारः जनै फेर्ने र रक्षासूत्र बाँध्ने वैदिक अनुष्ठान
वागमतीको सलल बग्ने पवित्र धारा र घण्ट–मृदङ्गको सुमधुर ध्वनिबीच आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्वीहरूको महान पर्व जनैपूर्णिमा (ऋषितर्पणी तथा रक्षावन्धन) को पावन रौनक पशुपति क्षेत्रमा छताछुल्ल भएको छ । व्रह्ममुहूर्तदेखि नै पशुपतिनाथ मन्दिर, आर्यघाट, भष्मेश्वर घाट, राममन्दिर तथा गुह्येश्वरी परिसरमा हजारौँ भक्तजनहरू नयाँ जनै (यज्ञोपवीत) फेर्न र नाडीमा रक्षासूत्र (डोरो) बाँध्न भेला भएका छन् । बिहानीको मन्द हावासँगै गुञ्जिएको ‘येन बद्धो बलि राजा...’ को वैदिक मन्त्रले सारा पशुपति क्षेत्रलाई नै आध्यात्मिक आभामा डुबाइदिएको छ । सनातन परम्पराअनुसार आजको दिन सत्य, ज्ञान र आत्मसंयमको प्रतिक मानिने जनै फेर्ने गरिन्छ । पहेँलो र रातो रङ्गको पवित्र डोरो गुरु पुरोहितहरूबाट आफ्नो नाडीमा बाँधेर मानिसहरूले वर्षभरिका अनिष्टबाट मुक्ति र आत्मिक शक्तिको कामना गरिरहेका छन् ।
५. भोटेकोशीको बहावबारे चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ
सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र हाललाई कुनै ठूलो जोखिम नरहेको जनाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । मन्त्री पोखरेलकाअनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग भइरहेको नियमित संवादका क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ । रसुवाको केरुङमा भोटेकोशी नदी थुनिएको स्थानबाट पानीको बहाव सतहभन्दा माथि (ओभर फ्लो) हुन थालेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
६. भोटेकोशी र त्रिशुली नदीमा बाढीको जोखिमः उच्च शतर्कता अपनाउन प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी र त्रिशुली नदी किनारका बस्ती तथा सो क्षेत्रमा खटिएका उद्धारकर्मीहरूलाई उच्च शतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रवार पुनः लेदोसहित पानीको बहाव बढेको र थप बाढी आउन सक्ने जोखिम देखिएकाले प्राधिकरणले सतर्क रहन सूचना जारी गरेको हो । प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिनुभएका र विविध कारणले जोखिम क्षेत्रमा रहनुभएका सबैलाई उच्च शतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान विशेष अनुरोध गरिन्छ ।’
७. भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाई विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका १०२ जनाको शव पहिचान, डीएनए नमूना सङ्कलन र पोस्टमार्टमका लागि कास्कीको पोखरा लगिएको छ । धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा भेटिएका शवहरू त्यहाँ परीक्षण र व्यवस्थापन गर्ने पर्याप्त सुविधा नभएपछि कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा पोखरा लगिएको हो । जिल्ला प्रशासन कार्यालयकाअनुसार बिहीवार राति मात्रै पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ वटा शव पोखरा पु¥याइएको छ । एकैपटक ठूलो सङ्ख्यामा शवहरू ल्याइएपछि पोखराका स्वास्थ्य संस्थाहरूमा व्यवस्थापनको तिब्र दबाब परेको छ ।
८. भोटेकोशी बाढी अपडेटः ५३८ जनाको मृत्यु, ९७७ बेपत्ता, उद्धारमा १५ हजार सुरक्षाकर्मी परिचालन
रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्मा परी ९ सय ७७ जना अझै बेपत्ता रहेको जनाएको छ । प्राधिकरणको प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण चितवनमा सबैभन्दा बढी २ सय २१ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा ४६ (विभिन्न मानव अङ्गसहित), नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ । विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन् ।
९.भोटेकोशी बाढी अपडेटः ४६९ जनाको मृत्यु, ९७७ अझै बेपत्ता, उद्धारका लागि ड्रोन र हेलिकप्टर परिचालन
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ९ सय ७७ जना अझै बेपत्ता छन् । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शुक्रवार सञ्चारमाध्यमलाई दिनुभएको जानकारीअनुसार, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५ सय जनालाई बिहीवार मात्रै जलविद्युत आयोजनाको टनेल (सुरुङ) बाट निकालिएको थियो । सुरुङमा अझै केही व्यक्तिहरू फसिरहेको र उनीहरूको उद्धार प्रयास जारी रहेको डा. उप्रेतीले बताउनु भयो ।
१०. बगाएर लग्यो सपना, छोडेर गयो आँसुः ‘बाढी त गयो तर हामीलाई जिउँदै मारेर गयो’
भदौ १० गते, बुधवार बिहानको मिर्मिरे । रसुवाका पहाडहरू अझै निदाइरहेका थिए । तर तिब्बत सीमावर्ती क्षेत्रमा परेको मुसलधारे वर्षा र पहिरोले थुनिएको भोटेकोशी अचानक बाँध फुटेझैँ काल बनेर उर्लियो । केही मिनेटभित्रै गड्याङगुडुङ आवाजसहित आएको लेदो र विशाल ढुङ्गासहितको भेलले रसुवाका तटीय बजार, पुल र घरहरूलाई एकै गाँसमा निल्यो । त्यो विनाशकारी भेल केवल रसुवामा मात्र सिमित रहेन, त्रिशूली नदी हुँदै नुवाकोटको उर्वर फाँट बट्टार, धादिङका बजार हुँदै चितवनको तटीय क्षेत्रसम्म पुग्दा सयौँ परिवारलाई सडकको बासमा पु¥याइदियो । भोटेकोशीमा आएको उर्लिंदो बाढीले टिमुरे स्याँप्रुबेंसी क्षेत्रका बस्तीहरूमा भीषण प्रहार ग¥यो । नदी किनारका पक्की र कच्ची घरहरू तासको पत्ताझैँ ढले ।
वर्षौंदेखि सीमा व्यापार र खेतीपातीमा रमेका स्थानीयले ज्यान जोगाउन अग्लो डाँडातर्फ भाग्नु बाहेक कुनै उपाय देखेनन् । पछाडि फर्केर हेर्दा आफ्नै आँखाअगाडि जीवनभरको कमाइ, पुख्र्यौली थाँतथलो र कतिपय आफन्तहरू उर्लंदो लेदोमा बिलाइरहेका थिए ।
११. पृथ्वी राजमार्ग सुचारु गर्न तिब्र प्रयासः आज साँझसम्म पूर्ण सञ्चालनमा आउने
त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सुचारु गर्न निर्माण व्यवसायीका उपकरणहरू प्रयोग गरी मर्मत कार्यलाई तिब्रता दिइएको छ । धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो र पहिरो पन्छाउने कार्य जारी रहेको हो । सडक विभागकाअनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेण्ट तथा यान्त्रिक उपकरणहरू परिचालन गरिएको छ । बाढीले पृथ्वी राजमार्गको करिव १५ किलोमिटर सडक खण्डमा क्षति पु¥याएको छ । यसका साथै सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्ट र अन्य उपकरणहरू समेत बाढीले बगाएको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले सडक विभागसँग पहिरो पन्छाउने अनुभव भएपनि हिलो र लेदो व्यवस्थापनमा केही जटिलता आएको बताउनु भयो ।
१२. देशभर आज जनैपूर्णिमा तथा रक्षावन्धन पर्व मनाइँदै
देशभर आज वैदिक सनातन धर्मावलम्बीहरूले पवित्र पर्व जनैपूर्णिमा (ऋषि तर्पणी) तथा रक्षावन्धन श्रद्धापूर्वक मनाउँदैछन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा बिहानैदेखि नदी, ताल, तलैया तथा पवित्र कुण्डहरूमा स्नान गर्ने र गुरु–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गरिन्छ । साथै, तागाधारी समुदायले आजै पुरानो जनै त्यागेर विधिपूर्वक मन्त्रिएको नयाँ जनै धारण गर्ने प्रचलन रहेको छ । यस विशेष दिनमा काठमाडौंको पशुपतिनाथसहित देशभरका विभिन्न शक्तिपीठ तथा धार्मिक स्थलहरूमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ । विशेष गरी तराई क्षेत्र र अन्य समुदायमा पनि दिदीबहिनीले दाजुभाइको नाडीमा रक्षावन्धन बाँधिदिई दीर्घायुको कामना गर्ने गरिन्छ ।
१३. गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण
बाढीपहिरोका कारण त्रिशूली नदीले क्षति पु¥याएका मुलुकका विभिन्न क्षेत्रमा पुगेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रिय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार तथा त्रिशूली बजारलगायतका प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी राहत सामग्री वितरण गरेको हो । स्थलगत निरीक्षणका क्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको भन्दा वास्तविक क्षति निकै भयावह रहेको बताउनु भयो ।
१४. आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार
सरकारले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि उपलब्ध सबै आन्तरिक स्रोत र साधनको अधिकतम परिचालन गरिरहेको जानकारी दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्धार कार्यलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताउनुभएको हो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोली उद्धार कार्यमा पूर्ण रूपमा परिचालित रहेको जानकारी दिनुभयो ।
१५. अल्जेरियाको डढेलोमा परी १२ जनाको मृत्यु
अल्जेरियाको उत्तरपूर्वी क्षेत्रका तीनवटा प्रान्तमा फैलिएको भीषण डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । आन्तरिक मामिला मन्त्री सइद सायौदले यस घटनाको पुष्टि गर्नुभएको हो । राजधानी अल्जियर्सबाट करिव २७० किलोमिटर पूर्वमा अवस्थित बेजैया प्रान्तको भ्रमणका क्रममा मन्त्री सायौदले मृतकको विवरण सार्वजनिक गर्नुभएको हो । उहाँकाअनुसार डढेलोका कारण जिजेल प्रान्तमा पाँच, बेजैयामा चार र तिजी ओउजोउमा तीन जनाको ज्यान गएको छ । राष्ट्रपति अब्देलमाजिद तेबौनेको निर्देशनमा आन्तरिक मामिला मन्त्री सायौद र स्वास्थ्य मन्त्री मोहम्मद सेद्दिक आइत मेसाउडेनले बेजैया पुगेर आगलागी नियन्त्रणका प्रयास र घाइतेहरूको उपचार अवस्थाबारे स्थलगत अनुगमन गर्नुभएको थियो । नागरिक रक्षा प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार बुधवार स्थानीय समयअनुसार राति ८ बजेसम्म विभिन्न प्रान्तका १५९ स्थानमा डढेलो लागेको थियो। जसमध्ये ९० स्थानको डढेलो नियन्त्रणमा आएको छ भने ६९ स्थानमा अझै पनि डढेलो सक्रिय रहेको छ ।
१६. कङ्गोमा इबोलाको प्रकोपः अन्तर्राष्ट्रिय समुदायको उदासीनताप्रति राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा फैलिएको इबोला महामारीप्रति अन्तर्राष्ट्रिय समुदायको पर्याप्त ध्यान नगएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । बिहीवार एक विशेष अपील जारी गर्दै उहाँले यस संकटलाई रोक्न तत्काल विश्वव्यापी कदम चाल्न आग्रह गर्नुभयो । महासचिव गुटेरेसले यो प्रकोप इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला महामारी भएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्ने प्रयासभन्दा संक्रमणको विस्तार तिब्र रहेको बताउनु भयो ।
‘हामीलाई इबोला कसरी रोक्ने र संक्रमितको ज्यान कसरी जोगाउने भन्ने थाहा छ, तर यतिबेला हामीले ‘उदासीनताको भाइरस’ लाई पराजित गर्नुपर्ने चुनौती छ ।’ उहाँले भन्नुभयो ।
१७ं चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रवार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रवार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो ।
१८. चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि शुक्रवार उद्धार टोली अति प्रभावित क्षेत्रमा पुगेको छ । गत बुधवार गएको भीषण पहिरोका कारण सो क्षेत्रको भौगोलिक अवस्था नराम्ररी क्षतिग्रस्त भएको छ । उद्धारका क्रममा अग्नि नियन्त्रकहरूले डोरी, डुङ्गा र ड्रोनको प्रयोग गरी कठिन मार्गहरू पार गर्दै प्रभावित स्थलसम्म पहुँच पु¥याएका छन् । जटिल भूबनोट र ठूलो क्षतिका बाबजुद उद्धारकर्मीहरूले खोज तथा राहत कार्यलाई तिब्रता दिएका छन् ।
१९. चीनले भन्यो– ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्न चुनौतीपूर्ण
चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई शुक्रवारदेखि थप तिब्र पारिएको छ । समयसँग प्रतिष्पर्धा गर्दै उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् । चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनकाअनुसार शुक्रवार बिहान १० बजेसम्म कुल ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र ११३ वटा सवारी साधन विकट हिमाली क्षेत्रमा पुगेका छन् । यसका साथै ६ हजार ६१२ थान उद्धार उपकरण र आवश्यक बन्दोबस्तीका सामग्री जिरोङ गाउँतर्फ पठाइएको छ ।
२०. चीनले भन्यो–नेपालतर्फ चीनका एक सय चिनियाँ नागरिक बेपत्ता छन्
नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधवारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिनुभएको हो । प्रवक्ता लिनकाअनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन र प्रमाणीकरण गरिरहेको छ । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका र आसपासका क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय क्षति पु¥याएको बताइएको छ । उहाँले दुवै देशका अधिकारीहरूबीच खोजी तथा उद्धार कार्यका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै नेपालको आवश्यकताअनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।
२१. ट्युनिसियाका अधिकांश क्षेत्रमा तातो लहरको ‘हाई अलर्ट’ जारी
ट्युनिसियाको राष्ट्रिय मौसम विज्ञान संस्थान (आईएनएम) ले तातो लहर र ‘सिरोको’ हावाको बढ्दो प्रभावका कारण पश्चिमी प्रान्त कासेरिन बाहेक देशका लगभग सबै क्षेत्रमा उच्च शतर्कता (हाई अलर्ट) जारी गरेको छ । संस्थानद्वारा सार्वजनिक गरिएको मौसमी नक्शाअनुसार तापक्रममा उल्लेख्य वृद्धि हुने देखिएको छ । साथै, केही स्थानहरूमा दिउँसोको समयमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । अत्याधिक गर्मीका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, नियमित औषधि सेवन गरिरहेका र एक्लै बस्ने मानिसहरू उच्च जोखिममा रहने भन्दै संस्थानले सचेत गराएको छ ।
२२. तिब्बतको केरुङ नाकामा भीषण पहिरोः उद्धार टोली कठिन मार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान
चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने तिब्बत स्वशासित क्षेत्रको केरुङ नाकामा भीषण पहिरो गएपछि उद्धारकर्मीहरू बिहीवार अति प्रभावित क्षेत्रतर्फ अघि बढेका छन् । पहिरोले सडक सञ्जाल पूर्ण रूपमा बगाएपछि उद्धार कार्यमा ठूलो चुनौती थपिएको छ । प्रभावित स्थलसम्म पुग्ने मुख्य बाटो अवरुद्ध भएपछि उद्धार टोलीले पहाडको कठिन भू–बनोट र भीरपहरा छिचोल्दै पैदल यात्रा तय गरिरहेका छन् । उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूकाअनुसार सडक पूर्ण रूपमा क्षतिग्रस्त भएकाले हाल पहाडको टाकुराबाट घुमेर अर्कोतर्फ जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
२३. दक्षिण चीनको ग्वाङ्सीमा अग्निनियन्त्रकद्वारा ९ महिने शिशुको सुरक्षित उद्धार
दक्षिण चीनको ग्वाङ्सी प्रान्तस्थित चोङजुओमा आएको बाढीका क्रममा एक अग्निनियन्त्रकले नौ महिने शिशुको साहसपूर्ण उद्धार गरेका छन् । बाढीले जलमग्न भएको एक घरबाट एउटा परिवारलाई उद्धार गर्ने क्रममा ती अग्निनियन्त्रकले शिशुलाई बाढीको सतहभन्दा माथि उठाएर सुरक्षित स्थानतर्फ लैजाँदै गरेको दृश्य सार्वजनिक भएको छ । क्षेत्रमा लगातारको वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको समयमा उद्धारकर्मीहरूले जोखिममा परेका नागरिकहरूको खोजी र उद्धारलाई तिब्रता दिएका छन् । उक्त परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा अग्निनियन्त्रकले शिशुलाई कुनै चोटपटक लाग्न नदिई अत्यन्तै सावधानीपूर्वक उद्धार गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
२४. नाटोमाथि रुसले आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का सदस्य राष्ट्रहरूमाथि आक्रमण गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ । बिहीवार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो क्षेत्रमा सैन्य आक्रमण नगर्ने दाबी गर्नुभएको हो । रुसी राष्ट्रपति पुटिनसँग आफ्नो सकारात्मक संवाद भएको उल्लेख गर्दै ट्रम्पले भन्नुभयो, ‘मैले उहाँसँग राम्रो कुराकानी गरेको छु । उहाँले नाटोको क्षेत्रमा आक्रमण गर्नुहुने छैन ।’
यसैबीच, अमेरिकी केन्द्रिय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन ¥याटक्लिफलाई मस्को पठाएर नाटोमाथि आक्रमण नगर्न चेतावनी दिनुभएको हो भन्ने प्रश्नमा भने राष्ट्रपति ट्रम्पले कुनै स्पष्ट टिप्पणी गर्न इन्कार गर्नुभयो । ‘म यस विषयमा केही भन्न चाहन्न, तर उनीहरूले (रुसले) आक्रमण गर्ने छैनन् ।’ ट्रम्पले थप्नुभयो ।
२५. नेपालमा बाढीपहिरोबाट ४६९ जनाको मृत्यु, ९१० जना अझै बेपत्ता
नेपालमा हालैको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार प्रभावित क्षेत्रहरूबाट ४६९ जनाको शव निकालिएको हो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीपहिरोमा परी अझै ९१० जना व्यक्तिहरू बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । सुरक्षा निकाय र उद्धारकर्मीहरू बेपत्ताहरूको खोजी र शव संकलनका लागि सक्रिय रूपमा परिचालित छन् ।
यसैबीच, नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रहरूबाट हालसम्म ३१ जना विदेशी नागरिकको सफल उद्धार गरिएको जानकारी दिएको छ । नेपाल प्रहरीले विपद् प्रभावित परिवारहरूलाई आफ्ना बेपत्ता सदस्यहरूको खोजी र पहिचानका लागि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
२६ं पूर्वी अफ्रिकी राष्ट्रहरूद्वारा शिक्षा क्षेत्रमा सुधारका लागि प्रतिवद्धता व्यक्त
पूर्वी अफ्रिकी समुदाय (ईएसी) का आठ सदस्य राष्ट्रहरूले युवा साक्षरता प्रवद्र्धन गर्न, व्यावसायिक सीप विस्तार गर्न र क्षेत्रीय प्रतिस्पर्धात्मकता वृद्धि गर्न शिक्षा क्षेत्रको सुधारलाई तिब्रता दिने प्रतिवद्धता पुनः व्यक्त गरेका छन् ।
केन्याको राजधानी नैरोबीमा आयोजित ‘दोस्रो ईएसी क्षेत्रीय शिक्षा सम्मेलन’ मा सहभागी उच्च अधिकारीहरूले औपचारिक शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा जोड दिएका छन् । सीप र रोजगारीबीचको खाडल कम गर्न, बेरोजगारी घटाउन र आर्थिक वृद्धिलाई गति दिन यस्तो सुधार अनिवार्य रहेको उनीहरूको निष्कर्ष छ । केन्या सरकार, ईएसी र विकास साझेदारहरूद्वारा आयोजित उक्त पाँच दिने सम्मेलनको नारा ‘पूर्वी अफ्रिकामा शिक्षाको रूपान्तरणः प्रतिवद्धतादेखि प्रभावसम्म, दिगो विकासका लागि उत्थानशील र भविष्य–उन्मुख प्रणालीको निर्माण’ रहेको छ । सम्मेलनमा शिक्षा मन्त्रीहरू, शिक्षाविद्हरू, विकास साझेदारहरू र नागरिक समाजका प्रतिनिधिहरू गरी करिव ६०० जनाको सहभागिता छ ।
२७. व्यापारिक तनावका बीच ट्रम्पद्वारा लेक ओन्टेरियोको नाम ‘लेक अमेरिका’ राख्ने कार्यकारी आदेश जारी
संयुक्त राज्य अमेरिका र क्यानडाबीच व्यापारिक तनाव बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लेक ओन्टेरियो’ को नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार आन्तरिक मामिला विभागलाई उक्त तालको नाम परिवर्तन गर्न निर्देशित गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो । आदेश जारी गर्ने क्रममा ट्रम्पले भन्नुभयो, ‘हामीले लेक ओन्टेरियोको नाम परिवर्तन गरी तत्काल प्रभावबाट ‘लेक अमेरिका’ कायम गर्दैछौँ ।’
यसअघि दुई दिन पहिले मात्र राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत क्यानडासँग अब धेरै व्यापारिक कारोबार नहुने संकेत गर्दै लेक ओन्टेरियोको नाम परिवर्तन गर्ने विषयमा गम्भीर विचार भइरहेको बताउनुभएको हो ।
२८. सम्भावित ‘अल निनो’ वर्षालाई मध्यनजर गर्दै केन्यामा पूर्वतयारी तिब्र
केन्या सरकारले आगामी अक्टोबरदेखि डिसेम्बर महिनासम्म हुने सम्भावित ‘अल निनो’ वर्षाका कारण अर्थतन्त्र, जनजीवन र पारिस्थितिक प्रणालीमा पर्नसक्ने क्षति न्युनिकरणका लागि पूर्वतयारीका कार्यहरूलाई तिब्र पारेको छ । वातावरण तथा जलवायु परिवर्तन विभागका सचिव फेस्टस एनगेनोले बुधबार दिएको जानकारीअनुसार अक्टोबरदेखि जनवरीको शुरुवातसम्म देशका विभिन्न भागमा अल निनो वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी छ । सचिव एनगेनोले पूर्वसूचनाका आधारमा समयमै कदम चाल्नसके सम्भावित जोखिम कम गर्न सकिने बताउनु भयो ।
२९. नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘¥युमर’ मात्र होः रेग्मी
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताउनुभएको छ । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘¥युमर’ फैलाइएको बताउनु भयो । उहाँले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वसूचना दिन सम्भव हुने बताउनु भयो । उहाँले निरन्तर निगरानी हुने सगरमाथा हिमालमा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएको उल्लेख गर्दै निगरानी नै नभएको हिमालयमा कुन ठाउँमा के घटना हुन्छ ? भन्ने सूचना प्रदान गर्न नसकिने बताउनु भयो ।
३०. बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवीप्रकोप कोषमा जम्मा गर्ने
रसुवा बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले नेपाल–चीन सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति र व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको छ । उहाँले भारत सरकारसँग जीटुजी खरीद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरीद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij