२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी-केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रमा मालवाहक कन्टेनर ट्रक व्यवसायमा अहिलेसम्मकै ठूलो र अकल्पनीय क्षति पुगेको व्यवसायीहरूले बताएका छन् ।
बाढीमा परेर ४ सयभन्दा बढी कन्टेनर ट्रक र त्यसमा कार्यरत चालक, सहचालक, मजदुर र व्यापारी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन भएको यातायात व्यवसायीहरूले बताएका हुन् । ती सबै कन्टेनर तिज, दसैं र तिहारका सामान लिन रसुवा नाका पुगेका थिए ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा (साविकको नेपाल ट्रक कन्टेनर व्यवसायी संघ) का अध्यक्ष अर्जुनबहादुर सापकोटाले बाढीमा बगेका कारण उनीहरूको अवस्था अज्ञात रहेको जानकारी दिए । अध्यक्ष सापकोटाका अनुसार संघमा मात्रै ९ सय ६६ वटा कन्टेनर दर्ता छन् । जसमध्ये बाढी आउनुअघि मात्रै करिब १ सय ७५ वटा गाडी सामान लिन केरुङतर्फ गएका थिए ।
अहिले ती गाडी र त्यसमा कार्यरत चालक, सहचालक र स्वरोजगार मजदुर (साहु आफैं) गरी ४ सयभन्दा बढी सम्पर्कविहीन छन् । यसका साथै सामान लिन गएका ठूला व्यापारी, भन्सार छुटाउने एजेन्ट र अन्य यात्रुसमेत जोड्दा बेपत्ता हुने र फस्नेहरूको संख्या १ हजारभन्दा धेरै माथि पुग्ने उनले बताए ।
‘चालक मात्रै ४ सयभन्दा बढी हराएका छन्, सहचालक, व्यापारी र भन्सार एजेन्टहरू समेत जोड्दा यो संख्या धेरै माथि पुग्छ,’ उनले भने । बाढी प्रभावित क्षेत्रमा नारायणी, बल्खु, पोखरा-गण्डकी लगायत अन्य संघसंस्थाका गाडी पनि फसेको हुँदा क्षतिको आकार कल्पना गरेभन्दा धेरै ठूलो भएको उनी बताउँछन् ।
अध्यक्ष सापकोटाले यो अकल्पनीय क्षतिको मुख्य कारण भन्सार कार्यालय र बाटोमा रहेका चेकपोस्टहरूको अव्यावहारिक नियम र ढिलासुस्ती भएको आरोप लगाएका छन् । भन्सार प्रक्रिया पूरा गरिसकेका गाडीलाई समेत रातको समयमा गन्तव्यमा जान नदिई बाटोमै रोकेर राख्दा विपद्मा परेको उनको आरोप छ ।
‘रसुवागढी भन्सारले गाडी पास गरेर पठाउँछ, तर धुन्चेस्थित निकुञ्जको चेकपोस्टले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गाडी चल्न दिन्छ, भन्सार तिरेर निस्किएका ७०–८० वटा गाडीलाई हाइवेको सडक किनारमा ३/४ दिनसम्म लाइन लगाएर राख्न बाध्य पारियो,’ सापकोटाले भने, ‘त्यसरी बाटोमा असुरक्षित रूपमा पार्किङ गरेर राखिएका गाडीलाई नै पहिरो र बाढीले बगाएको हो ।’
यदि भन्सार र चेकपोस्टले समयमै कन्टेर जान दिएर गन्तव्यमा पुग्न दिएको भए यति धेरै क्षति नहुने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij