२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा पानीको बहाव बढेपछि भोटेकोशी नदीमा आएको बाढीमा परी अहिलेसम्म ४८९ जनाको मृत्यु भएको छ ।
बाढीले बगाएर ल्याएका शवहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले नदी तटीय क्षेत्रबाट संकलन गरिरहेका छन् ।
हालसम्म नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीका नदी तटीय क्षेत्रमा शव भेटिएका छन् ।
बाढीमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि आवश्यक पर्ने झोलाको समेत अभाव देखिएको छ । शव प्याक गर्न प्रयोग गरिने ब्याग पर्याप्त नभएपछि सरकारले भारतबाट ६ हजार थान ब्याग मगाएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार भारतबाट मगाइएका ब्याग शुक्रबार नै नेपाल आइपुग्नेछन् ।
यता, नदी तटीय क्षेत्रमा भेटिएका शवमध्ये निकै कमको मात्र सनाखत भएको छ । सुरक्षा अधिकारीहरूका अनुसार हालसम्म ६ जनाको मात्र शव पहिचान गरी पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।
बाढीपछि विभिन्न नदी तटीय क्षेत्रमा शव खोजी तथा संकलनको काम जारी रहेको छ । उद्धारकर्मीहरूले जोखिम मोलेर शव तथा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij