२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो।
अष्ट्रेलियाली सरकारका अनुसार बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ। उनीहरूको अवस्था यकिन गर्न तथा आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ। प्रभावित अष्ट्रेलियाली नागरिकलाई सहयोग गर्न अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले थप कर्मचारी परिचालन गरेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका सदस्य र क्षेत्रीय कन्सुलर अधिकारी काठमाडौंमा परिचालन गरिएको छ।
अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने जनाएको छ। टोलीले मानवीय अवस्थाको मूल्यांकन, राहत व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछ।
अष्ट्रेलियाले घोषणा गरेको ५० लाख अष्ट्रेलियन डलर सहायता साझेदार संस्थामार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवाजस्ता अत्यावश्यक क्षेत्रमा खर्च गर्ने जनाएको छ।
२० लाख डलर विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) लाई उपलब्ध गराइनेछ। यसबाट खाद्यान्न तथा लजिस्टिक सहयोग गरिनेछ।
२० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अष्ट्रेलियाली गैरसरकारी संस्थालाई उपलब्ध गराइनेछ। यसबाट आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ। १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिनेछ।
सडक तथा पुलमा क्षति पुगेका कारण धेरै बाढी प्रभावित समुदाय अझै बाहिरी सम्पर्कबाट अलग रहेको र त्यहाँ पुग्न कठिनाइ भइरहेको भन्दै अष्ट्रेलियाले तत्काल मानवीय सहायता आवश्यक रहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij