२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित १५ स्थानीय तहलाई उद्धार, राहत तथा पुन:स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।
सरकारले प्रभावित १५ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार, खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढाएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिएकी छन् । प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुन:स्थापनामा जोड दिइने उनले बताइन् ।
विद्युत, दूरसञ्चार तथा सञ्चार टावर, सडक र खानेपानीलगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मर्मत तथा पुनस्र्थापना गरिने उनको भनाइ छ । त्यससँगै अस्थायी आवास, निजी आवास निर्माण तथा दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका काम अघि बढाइने उनले जानकारी दिएकी छन्। तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ बुधवार नै रकम जिल्लामा पठाईएको उनले बताइन् ।
उक्त रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीओसीसी) मार्फत आवश्यकताअनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यायोजन गरिएको छ । सरकारले रसुवा, नुवाकोट र धादिङका १५ स्थानिय तहलाई ३ महिनाको लागि संकटग्रस्त घोषणा गरेको विपद् व्यवस्थापनको काम गरिरहेको उनको भनाई छ । उनले प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री पठाइएको जानकारी दिएकी छन् । राहत सामग्रीलाई धादिङ र नुवाकोटमा भण्डारण गरी आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।
विभिन्न गैरसरकारी संस्थालाई समेत आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ । उद्धार तथा राहतका लागि प्राधिकरणले तीनवटै सुरक्षा निकायसँग समन्वय गरिरहेको उनले जानकारी दिएकी छन् । स्थानीय तह तथा जिल्ला प्रशासनबाट आएको आवश्यकताका आधारमा हेलिकप्टर परिचालन गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij