२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी छन् ।
बुधबार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षति भएको थियो ।
घटनाप्रति कार्कीले गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा तपाईंहरू कोही पनि एक्लो हुनुहुन्न भनेकी छन् । उनले भनेकी छन्, ‘यो कुनै एक परिवार, समुदाय वा जिल्लाको मात्र दुःख होइन । यो हामी सबै नेपालीको साझा पीडा हो । विपद्ले जहाँ प्रहार गरेको छ, त्यहाँ हाम्रो साथ, सहयोग र सहारा पुग्नुपर्छ’, ‘यस सङ्कटबाट पार पाउन हामी सबै एक ठाउँमा उभिनुपर्छ, उभिनेछौँ ।’
विपदमा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने भन्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई आफ्नो सामर्थ्य अनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न आग्रह गरेकी छन् ।
‘कसैका लागि सानो देखिने सहयोग पनि विपदमा परेका परिवारका लागि ठुलो भरोसा र आशाको आधार बन्न सक्छ । तसर्थ, आफ्नो गाँस काटेर भए पनि सहयोग गरौँ । सम्भव भएसम्म आउँदा चाडपर्वका केही खर्च कटाएर भए पनि आज सङ्कटमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको जीवन जोगाउन र घरपरिवार सम्हाल्न योगदान गरौँ ।
विपद्को समयमा सबैभन्दा ठुलो शक्ति हाम्रो एकता भएको भन्दै उनले आजको सहयोग र ऐक्यबद्धताले भोलिको आशा निर्माण गर्ने बताएकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij