२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चीनको तिब्बत हुँदै रसुवामा प्रवेश गरेको भीषण बाढीका कारण घाइते भएका ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा मात्रै २५ जना घाइते उपचाररत छन् । काठमाडौंस्थित ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।
यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, सल्यान, जाजरकोट, बर्दिया र भक्तपुरलगायत जिल्लाका घाइते उपचाररत छन् । उपचाररत केही घाइतेको पहिचान खुलेको छैन । शिक्षण अस्पतालमा उपचाररत गोरखा टिमुरे गोसाइँकुण्ड–७ का कामु नगरकोटीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको जनाइएको छ ।
उता, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव सुमित्रा गौतमका अनुसार रसुवा अस्पतालमा मात्रै २१ जना घाइते उपचारका लागि पुर्याइएको छ ।
त्यस्तै, नुवाकोटस्थित त्रिशूली अस्पतालमा १६ जना घाइते उपचाररत छन् । सचिव गौतमका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेको छ ।
भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने उद्धार तथा घाइतेको उपचार कार्य जारी रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij