२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भोटेकोशी बाढीको इपिसेन्टर बनेको गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष र एकजना अध्यक्षपनि सम्पर्कविहीन भएका छन् ।
नेपाल प्रेसको सम्पर्कमा आएका गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले हराएका जनताको संख्या टिप्न आफूले र कर्मचारीले नभ्याएको बताए ।
गाउँपालिका अन्तर्गत वडा नम्बर २ र ५ का तटीय क्षेत्रका सयौं बासिन्दा बेपत्ता रहेको उनले बताए । गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र ५ नम्बर वडाका वडाध्यक्ष दावा मिङ्मार तामाङ पनि बिहान बाढीलगत्तै बेपत्ता भएका छन् ।
दुवै जनाको फोन सम्पर्कविहीन हुँदै अहिले आएर स्वीच अफ भएको अध्यक्ष नुर्पुले बताए । उपाध्यक्ष तामाङ पनि वडा नम्बर ५ स्याफ्रुबेसीकी हुन् । वडा नम्बर २ रसुवागढी टिमुरे क्षेत्र हो ।
बाढीले गाउँपालिका भवन पनि बगाएको र तटीय क्षेत्रका कुनै पनि घर बाँकी नरहेको उनले नेपाल प्रेसलाई बताए ।
आफू केही बोल्न नसक्ने अवस्थामा रहेको र मानवीय तथा भौतिक क्षति यो युगले पूर्ति गर्न नसकिने अकल्पनीय रहेको उनले बताए ।
केन्द्र सरकारबाट उद्दारका लागि खासै पहल नभएको र एकाध हेलिकोप्टर उडे पनि सरकारको गम्भीरता नदेखिएको उनको गुनासो छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij