२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि सरकारले साढे २ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। उक्त रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनमा प्रयोग गरिनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ बाढी आएको हो। बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ।
बाढीपछि उद्धार, राहत तथा खोजी कार्यका लागि सुरक्षा संयन्त्र तीव्र रूपमा परिचालन गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ।
कार्यकारी प्रमुख उप्रेतीका अनुसार आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै तीनवटै जिल्लाको विपद् व्यवस्थापन समितिलाई तत्काल रकम उपलब्ध गराउने निर्णय गरिएको हो।
यसैबीच, जोखिम न्यूनीकरणका लागि चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएसमार्फत बाढीसम्बन्धी सूचना पठाइएको छ। जल तथा मौसम विज्ञान विभागले बाढीको अवस्थालाई निरन्तर निगरानीमा राख्दै प्रत्येक आधा घण्टामा सतर्कता सूचना जारी गर्ने व्यवस्था मिलाएको छ। बाढीका कारण विभागको एउटा स्टेसनसमेत बगाएको जनाइएको छ।
बाढी मलेखु पार गरेर अगाडि बढिसकेको छ भने मुग्लिङ बजारसहित त्रिशूली नदी करिडोरमा प्रभाव पर्न सक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ।
तिब्बततर्फको अस्थायी बाँध फुटिसकेकाले माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको र थप जोखिम क्रमशः कम हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij