२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवा क्षेत्रमा आएको ठूलो बाढी चितवन प्रवेश गर्ने क्रममा रहेपछि जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाएको छ।
माथिल्लो तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवस्थालाई विश्लेषण गर्दै चितवनमा समेत ठूलो जोखिम हुन सक्ने आकलनसहित सुरक्षा तयारी तीव्र पारिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार त्रिशूली र नारायणी नदीको बहाव बढिरहेको छ। जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको छ।
प्रशासनले स्थानीय तहसँग समन्वय गरी माइकिङमार्फत बाढीको जोखिमबारे सूचना सम्प्रेषण गरिरहेको छ। विशेषगरी फिस्लिङदेखि गोलाघाटसम्म त्रिशूली र नारायणी नदी किनारका बस्तीलाई उच्च जोखिममा राखिएको छ।
प्रशासनका अनुसार मुग्लिन बजार क्षेत्र, नारायणगढको नारायणी नदी किनारका बस्ती, भरतपुर महानगरपालिका–१६ को तटीय क्षेत्र तथा पश्चिम चितवनका तल्लो भूभाग बाढीको उच्च जोखिममा छन्।
नदीको बहाव अत्यधिक बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायका सबै टोलीलाई ‘हाई अलर्ट’मा राखिएको छ। सुरक्षाकर्मीहरूलाई फिल्डमै परिचालन गरी सम्भावित उद्धार तथा राहतका लागि आवश्यक तयारी पूरा गरिएको प्रशासनले जनाएको छ।
प्रजिअ अर्यालले मानवीय क्षति हुन नदिन प्रशासनको मुख्य प्राथमिकता रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij