२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो नयाँ संगठन संरचना र कर्मचारी दरबन्दी सार्वजनिक गरेको छ । मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल १०५ कर्मचारीको दरबन्दी कायम गरिएको हो ।
मन्त्रालयका अनुसार प्रशासनिक नेतृत्वका लागि न्याय सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीका एक जना सचिवको दरबन्दी राखिएको छ । यस्तै नीतिगत तथा व्यवस्थापकीय जिम्मेवारीका लागि राजपत्राङ्कित प्रथम श्रेणीका ६ जना सहसचिव र द्वितीय श्रेणीका १६ जना उपसचिव रहने व्यवस्था गरिएको छ ।
नयाँ संरचनाअनुसार शाखागत काम सञ्चालनका लागि २५ जना शाखा अधिकृतको दरबन्दी कायम गरिएको छ । जसमा न्याय–कानुन समूहका २३ जना, प्रशासन समूहका १ जना र लेखा समूहका १ जना रहनेछन् ।
त्यस्तै नायब सुब्बा तहका २३ कर्मचारीको व्यवस्था गरिएको छ । यसमध्ये न्याय समूहका १०, लेखाका २, पुस्तकालय विज्ञानका १, इन्जिनियरिङका १, कम्प्युटर अपरेटर ५ र सामान्य प्रशासन समूहका ४ जना रहनेछन् ।
मन्त्रालयमा खरिदार तहका ७ जना कर्मचारी रहनेछन् भने कार्यालय सञ्चालन तथा प्राविधिक सहयोगका लागि ९ जना हलुका सवारी चालक र १८ जना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ ।
मन्त्रालयका सूचना अधिकारी भूमिश्वर खनालका अनुसार स्वीकृत नयाँ संरचनाले मन्त्रालयको सेवा प्रवाह र कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij