२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । बागमती प्रदेश सरकार गठनको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ भक्तपुरको गुण्डुस्थित निजी निवासमा बोलाएको बैठक विवादमा तानिएको छ ।
बैठकमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलिया, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, सचिव महेश बस्नेतसहित प्रदेशका सांसदहरू सहभागी थिए । छलफलको मुख्य विषय बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउने विषय थियो ।
बैठकमा एमाले र नेकपाको मात्रै समर्थनले सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने भएकाले अन्य दलसँग सहकार्य गर्नुपर्ने विषय उठेको बताइएको छ । भावी मुख्यमन्त्रीका रूपमा हेरिएका थपलियाले पनि अन्य दलको समर्थन जुटाउन केन्द्रबाट सहयोग पाउने अपेक्षा राखेका थिए ।
तर छलफलका क्रममा अध्यक्ष ओलीले सरकार गठनका लागि आवश्यक पहल गर्न नसकेको भन्दै थपलियामाथि असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ । ओलीको भनाइ र व्यवहारबाट थपलिया भावुक बनेको र केही समयपछि लडेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
स्रोतका अनुसार थपलिया लडेपछि उनलाई तत्काल पानी छम्केर होसमा ल्याउने प्रयास गरिएको थियो । त्यसपछि उनलाई भक्तपुरस्थित अस्पताल लगिएको बताइएको छ ।
बैठकमा ओलीले अब बहुमत जुटाउन सक्ने व्यक्तिलाई नेतृत्व दिनुपर्ने भन्दै किरण थापाको नामसमेत अघि सारेको सहभागी नेताहरूको दाबी छ । ओलीले थपलियाले अन्य दलसँग सहमति जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाएको बताइएको छ ।
यता एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले सरकार गठनका लागि संसदीय दलका नेताले आवश्यक पहल गर्नुपर्ने विषयमा छलफल भएको बताए । तर थपलिया ढलेको विषयमा भने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।
एमाले र नेकपाबीच भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तयारी छ । तर दुवै दलका सांसद संख्या मात्रै सरकार गठनका लागि पर्याप्त नभएकाले थप दुई सांसदको समर्थन आवश्यक देखिएको छ । अहिले एमाले नेतृत्वको सरकार गठनका लागि अन्य दलसँग सहकार्यको प्रयास भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij