२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान करिब ९:३० बजे पहिरो खसेपछि सडक सञ्चालनमा आउन नसकेको हो ।
पहिरोका कारण सवारीसाधन आवतजावत रोकिँदा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीतर्फको यातायात सेवा प्रभावित भएको छ ।
प्रहरीका अनुसार पहिरो खसेको स्थानमा सडकसमेत भासिएको छ । माथिबाट खनेर हटाउन सक्ने अवस्था नरहेकाले पर्खाल (वाल) निर्माण गरेर सडक उठाउनुपर्ने अवस्था देखिएको छ ।
सडक खुलाउन आवश्यक प्राविधिक तयारी भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij