Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

३७ वर्षपछि नाफामा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड

३७ वर्षपछि नाफामा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड


  • 1.0K
    Shares

    ३७ वर्षपछि नाफामा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड
    images

    काठमाडौं । ०८१/८२ मा १० करोड तीन लाख ७२ हजार रुपैयाँ घाटामा रहेको नेपाल औषधि लिमिटेड गत आर्थिक वर्ष ०८२/८३ मा तीन करोड रुपैयाँ नाफामा फर्किएको छ । औषधि बिक्री बढ्नु, सञ्चालन खर्च घट्नु तथा आफ्ना जग्गा–भवन भाडाबाट प्राप्त आम्दानीका कारण लिमिटेड ०४६ यता पहिलोपटक नाफामा गएको हो ।

    लिमिटेडले गत आर्थिक वर्षमा आठ करोड १३ लाख ८० हजार २०५ रुपैयाँबराबरको औषधि बिक्री गरेको छ भने जग्गा तथा भवन भाडाबाट चार करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । सबै खर्च कटाएपछि तीन करोड रुपैयाँ खुद नाफा भएको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरूले बताए । उनका अनुसार संस्थाको खातामा हाल दुई करोड रुपैयाँ नगद मौज्दात छ भने बजारबाट उठाउन बाँकी करिब ५० लाख छ ।

    लिमिटेडले अघिल्लो वर्षको तुलनामा औषधि बिक्री उल्लेख्य रूपमा बढाएको छ । उत्पादित औषधि सरकारी अस्पताल, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा स्थानीय तहले खरिद गर्दै आएका छन् । ‘अघिल्लो वर्ष घाटामा थियौँ, तर गत वर्ष तीन करोड रुपैयाँ नाफा कमाएका छौँ,’ महाप्रबन्धक पनेरूले भने, ‘औषधिको बिक्री उल्लेख्य बढ्यो, अनावश्यक खर्च कटौती गर्‍यौँ र सञ्चालन व्यवस्थापनमा सुधार ल्यायौँ । त्यसैले वर्षको अन्त्यमा सकारात्मक वित्तीय परिणाम हासिल गर्न सफल भयौँ ।’ 

    पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांकले पनि औषधि बिक्री निरन्तर बढिरहेको देखाउँछ । आर्थिक वर्ष ०७८/७९ मा दुई करोड ५० लाख, ०७९/८० मा दुई करोड ६४ लाख १० हजार, ०८०/८१ मा तीन करोड ५४ लाख र ०८१/८२ मा पाँच करोड ५० लाखबराबरको औषधि बिक्री भएको थियो । गत वर्ष भने बिक्री आठ करोड रुपैयाँ नाघेको छ । महाप्रबन्धक पनेरूका अनुसार आगामी वर्ष नाफा थप बढ्ने गरी काम अघि बढेको छ । उनका अनुसार लिमिटेडले औषधि बिक्री गर्दा जिटुजी प्रक्रियाबाट बेच्छ जसले गर्दा छुट दिनुपर्दैन ।

    हाल सातै प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशालयमध्ये ६ वटाले लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरेका छन् । कर्णालीले भने सम्झौता गरेको छैन । सीमित सरकारी संस्थाहरूले मात्रै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि किन्छन् । जसमा काठमाडौं र भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, वीर अस्पताल, सिभिल अस्पताल, गंगालाल हृययरोग अस्पताल, टेकु अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र छन् । काठमाडौंको तारकेश्वर, चन्द्रागिरि, भक्तपुर, सुर्खेतको कञ्चनपुरी, भक्तपुरको सूर्यविनायकलगायत देशभरका ११७ पालिकाले लिमिटेडको औषधि किन्ने गरेका छन् ।

    नेपाल औषधि लिमिटेडले कुनै वेला सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्थ्यो । तर, अहिले ११ किसिमका उत्पादन मात्रै गर्छ । सरकारी स्वामित्वको लिमिटेडले उत्पादन गरेको यिनै औषधि पनि सरकारी स्वास्थ्य संस्थाले किन्दैनन् । नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी हो ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - ०७:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij