२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै नेपालीहरूको राष्ट्रिय एकताको आधार भएको बताएकी छन्।
केही दिनयता सुनसरी लगायत पूर्वीतराईका जिल्लाहरूमा देखिएको सामुदायिक तनाव र हिंसात्मक घटनाहरूप्रति सबैको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले एकता कायम राख्न जरुरी भएकोतर्फ जोड दिएकी हुन् ।
आइतबार २९ औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उत्पन्न पछिल्लो विशेष परिस्थितिप्रति चर्चा गर्दै यस्तो बताएकी हुन्।
त्यसक्रममा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसास्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले विविधताबिचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार भएको बताइन्।
‘आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई संयम अपनाउन, अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आआफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु’, उनले भनिन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij