Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दाङमा एन्टीस्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार प्रभावित

दाङमा एन्टीस्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार प्रभावित


  • 694
    Shares

    दाङमा एन्टीस्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार प्रभावित
    images

    रूपन्देही । दाङमा एन्टीस्नेक भेनम अभाव भएपछि सर्पदंशका बिरामीको उपचार प्रभावित भएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल, गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको हो ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको उनले बताए ।

    प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उनले जानकारी दिए ।

    गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम पूर्ण रूपमा सकिएको बताए । ‘हामीकहाँ भेनम सकियो । जिल्लाभर पनि अभाव रहेछ,’ उनले भने, ‘सरकारले छिट्टै भेनम उपलब्ध नगराए उपचार नपाएर बिरामीले ज्यान गुमाउने जोखिम बढ्न सक्छ ।’

    राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि भेनमको मौज्दात अत्यन्त न्यून छ । अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था छ । प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ ।

    वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टीस्नेक भेनम अभाव भएपछि स्वास्थ्यकर्मी र बिरामी दुवै चिन्तित बनेका छन् । स्वास्थ्य संस्थाले तत्काल पर्याप्त परिमाणमा भेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

    प्रकाशित मिति :श्रावण १७ २०८३ आइतवार - १३:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij