२०८३ श्रावण १५ गते शुक्रवार
१. साम्प्रदायिक सद्भाव कायम गर्न र संघीयता बलियो बनाउन राजेन्द्र महतोको प्रधानमन्त्रीलाई आग्रह
राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो । भेटका क्रममा महतोले सुनसरी र सिराहा लगायतका जिल्लामा भएका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको भन्दै त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नुभयो । महतोले सरकार र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरू विगतमा जस्तै ‘रद्दीको टोकरी’ मा नफाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । वि.सं. २०६४ सालको ८ बुँदे सम्झौता लगायतका विगतका सहमतिहरू कार्यान्वयन नभएको स्मरण गराउँदै उहाँले वर्तमान सरकारलाई विश्वासघात नगर्न चेतावनी समेत दिनुभयो ।
२. सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ती क्षेत्रमा भएको मानवीय क्षति, नागरिक तथा सुरक्षाकर्मी घाइते भएको र सिर्जना भएको सामाजिक तनावप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । अध्यक्ष दाहालले नेपालको संविधानले परिकल्पना गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनैपनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । राष्ट्रिय सभा संविधान, लोकतान्त्रिक मूल्य र सामाजिक सद्भावको संरक्षणमा सदैव प्रतिबद्ध रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र साम्प्रदायिक सद्भाव अक्षुण्ण राख्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।
३. सामाजिक सद्भाव कायम राख्न रास्वपाको पहलः धार्मिक अगुवाहरूद्वारा ऐक्यवद्धता व्यक्त
मुलुकमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गर्नुभएको छ । पछिल्लो समय विकसित केही घटनाक्रमका पृष्ठभूमिमा समाजमा आपसी एकता कायम राख्न आयोजित उक्त छलफलपछि धार्मिक नेतृत्वले एक संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् । छलफलमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मोहम्मद खालिदले मुलुकको विशिष्ट पहिचान र सामाजिक सद्भाव जोगाउन आफूहरू जुनसुकै त्याग गर्न तयार रहेको बताउनु भयो । समाजमा कहिल्यै पनि विभाजन नरहेको र आगामी दिनमा पनि एकजुट रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले देशमा शान्ति स्थापनाका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
४. साउन १५ः वर्षाको सुवास, खेतको थकान र खीरको मिठास
असारको हिलो–मैलो सकिएपछि वर्षाको मध्यभाग साउन १५ मा नेपाली समाजले खीर खाने पर्व हर्षोल्लासका साथ मनाउँछ । कृषकले मानो रोपेर मुरी उब्जाउने कठिन कार्य सम्पन्न गरेपछि शरीरलाई ऊर्जा, मनलाई सन्तोष र आत्मालाई आनन्द दिलाउन दुध, चामल, काजु, मरिच, चिनी मिश्रित खीर पकाएर भगवानलाई अर्पण गरी आपसमा बाँडेर खाने मौलिक परम्परा रहँदै आएको छ ।
असारको थकान मेटाउन, वर्षाको यो छालमा ।
दुध र चामल पाक्दैछ आज, गाउँ घर र शहरमा ।।
हरियो पाखा, टल्किने धान, हिलो पुछ्दै हातले ।
साउने १५ मनाउँछ देश, खीरको मीठो बास्नाले ।।
५. सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता जारी
सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच आज दोस्रो चरणको वार्ता शुरु भएको छ । अर्थ मन्त्रालयमा भइरहेको यस वार्तामा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षका प्रतिनिधिहरूबीच समस्या समाधानका विषयमा विस्तृत छलफल भइरहेको हो । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग राखी विगत केही दिनदेखि राजधानीको माईतीघर मण्डलामा पीडितहरू आमरण अनसनमा बसिरहेका छन् । अनसनरत पक्षका मागलाई सम्बोधन गरी आन्दोलनको अन्त्य गर्न सरकारले बिहीवारदेखि औपचारिक संवाद शुरु गरेको हो । आजको बैठकमा सङ्घर्ष समितिले राखेका मागहरूका विषयमा केन्द्रित रहेर सहमतिको खाका तयार पार्ने लक्ष्य राखिएको छ । पहिलो चरणको वार्तामा दुवै पक्षले आ–आफ्नो धारणा स्पष्ट पारेका थिए भने आजको वार्ताले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
६. विस्थापित विद्यार्थीको पठनपाठन र व्यवस्थापनमा सरकार गम्भीर छः शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुकुम्बासी व्यवस्थापनका क्रममा प्रभावित भएका विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले प्रभावकारी कदम चालेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विस्थापित विद्यार्थीको शैक्षिक व्यवस्थापन र भौतिक आवश्यकता परिपूर्तिका लागि भएका प्रयासबारे स्पष्ट पार्नुभएको हो । मन्त्री पोखरेलकाअनुसार सुकुम्बासी व्यवस्थापनका क्रममा विद्यालय भत्काइएपछि प्रभावित विद्यार्थीलाई तत्कालै अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ । बालाजु माछापोखरीस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा र बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई पकनाजोलस्थित नेपाली युवक माध्यमिक विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
७. विपद् जोखिम प्राधिकरणद्वारा मनसुन पूर्वतयारी तथा प्रतिकार्यको समीक्षा
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसार हालसम्म सम्पादित कार्यहरूको समीक्षा गरेको छ । शुक्रवार सिंहदरबारमा प्राधिकरणले सरोकारवाला निकायहरुसँग छलफल गरेको हो । नेपालमा यस वर्षको मनसुन भित्रिएको एक महिना पूरा भइसकेको सन्दर्भमा कार्ययोजनाको प्रभावकारिता मूल्याङ्कन र आगामी रणनीति तय गर्न प्राधिकरणले समीक्षा बैठक आयोजना गरेको प्राधिकरणले जनाएको छ । बैठकमा सहभागी हुने संस्थाहरूले मनसुन शुरु भएदेखि हालसम्म कार्ययोजनामा उल्लेख भए बमोजिम सम्पादन गरेका कार्यहरूको संक्षिप्त प्रगति विवरण पेश गरेका छन् ।
८. राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शुक्रवार प्रथम महिला सविता पौडेलसहित ललितपुरको सानेपास्थित श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिवंगत नेताप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको हो । सो क्रममा उहाँले शोकाकुल परिवारजनप्रति समवेदना समेत प्रकट गर्नुभयो । श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भुमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।
९.मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न नेपाली काँग्रेस सभापति थापाको आग्रह
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनैपनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा जोड दिनुभएको हो । सभापति थापाले नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्दै समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको बताउनु भयो । पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिवार बिदाको दिन पनि केन्द्रिय कार्यालय खुला रहने उहाँले जानकारी दिनुभयो ।
१०. मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘¥याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग
प्रधानमन्त्री र मधेस केन्द्रित दलहरूबीच सुनसरीबाट शुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको पछिल्लो हिंसात्मक घटनाका विषयमा सिंहदरबारमा छलफल भएको छ । शुक्रवार भएको उक्त छलफलमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले घटनाको शान्तिपूर्ण समाधान र दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई ‘¥याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग गर्नुभएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले प्रधानमन्त्रीले मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको बताउनु भयो । उहाँले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको समाधानका लागि संघीयता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।
११. मधेसका जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्री र मधेस केन्द्रित नेताहरूबीच छलफल
प्रधानमन्त्री बालेन्द्र साहले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श शुरु गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा सुनसरीलगायत मधेसका केही जिल्लामा पछिल्लो समय उत्पन्न तनाव र त्यसको समाधानका उपायबारे केन्द्रित रहेर छलफल भइरहेको छ । बैठकमा मधेसका समसामयिक मुद्दा र सुरक्षा स्थितिलाई लिएर गम्भीर विमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा डा. चन्द्रकान्त राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायतका नेताहरूको सहभागिता रहेको छ ।
१२. पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी
विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा शुरु गरेको सामुहिक आमरण अनसन शुक्रवार पनि जारी रहेको छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मङ्गलवारदेखि उक्त अनसन शुरु भएको हो । आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभुति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् । संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ ।
१३. धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) शुक्रवार दोस्रो दिन पनि कायमै राखेको छ । शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन, सम्भावित अप्रिय घटना नियन्त्रण गर्न तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले प्रशासनले बिहीवार अपराह्न ३ः३० बजेदेखि निषेधाज्ञा लागू गरेको थियो । उक्त आदेशलाई शुक्रवार पनि निरन्तरता दिइएकाले सम्बन्धित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा ठप्प रहेको छ । प्रशासनद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, समूहमा भेला हुन, जुलुस निकाल्न, प्रदर्शन वा सभा–सम्मेलन गर्न पूर्ण प्रतिवन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
१४. देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै
नेपाली सांस्कृतिक परम्पराअनुसार आज साउन १५ गते देशभर खीर खाएर मनाइएको छ । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज खीर खाने पर्व विशेष उत्साहका साथ मनाइएको हो । नेपाली समाजमा साउन १५ लाई खीर खाने दिनका रूपमा विशेष महत्वका साथ लिने गरिन्छ । यस अवसरमा घरघरमा खीर पकाएर पारिवारिक जमघटसहित खाने र खुवाउने परम्परा रहेको छ । विशेष गरी वर्षायामको मध्य समयमा शरीरलाई ऊर्जा र स्फूर्ति प्रदान गर्न खीर खाने प्रचलन रहिआएको छ । वर्षा ऋतुको मध्य समयमा पर्ने यस दिनलाई नेपाली समाजमा खीर खाने विशेष पर्वका रूपमा लिने गरिन्छ । असार महिनाभर धान रोपाइँ सकेर फुर्सदिला भएका कृषकले साउन १५ मा शक्ति र ऊर्जा प्राप्तिका लागि खीर खाने मौलिक परम्परा रहिआएको छ । दुध, चामल, घिउ, चिनी तथा विभिन्न मरमसलाको सम्मिश्रणबाट तयार गरिने खीरलाई नेपाली संस्कृतिमा शुद्ध र पौष्टिक भोजनका रूपमा मानिन्छ ।
१५. तराई–मधेसका सांसदहरूसँग प्रधानमन्त्री साहको छलफल
प्रधानमन्त्री बालेन्द्र साहले तराई तथा मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा तराईमधेस क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सांसदहरू रहबर अन्सारी, नीतिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य र गजाला शमिम मिकरानी लगायतको उपस्थिति रहेको थियो ।
१६. कुनै प्रकारको संकट उत्पन्न नहुनेगरी पार्टी पुनर्गठन गर्छौंः शंकर पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि संस्थागत प्रक्रियामार्फत सुधार र पुनर्गठनको अभियान अघि बढाइने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीभित्र कुनैपनि प्रकारको संकट वा समस्या उत्पन्न नहुने गरी आफूहरू अगाडि बढ्न खोजेको स्पष्ट पार्नुभएको हो । उहाँले पार्टीलाई थप बलियो बनाउनका लागि नै सुधार र पुनर्गठनको आवश्यकता रहेकोमा जोड दिनुभयो । एमालेले सबै काम संस्थागत प्रक्रियाबाट र पार्टीलाई एकतावद्ध बनाउने गरी गर्ने बताउनु भयो । पार्टीमा कुनै प्रकारको समस्या वा संकट उत्पन्न हुनेगरी अगाडि नबढ्ने उहाँको भनाइ छ । निर्वाचनको परिणामपछि पार्टी पंक्तिमा केही हदसम्म निराशा र पलायनताको भाव देखिएको स्वीकार गर्दै उहाँले कार्यकर्ताहरूमा नयाँ उत्साह भर्नु अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
१७. एमालेमाथि लगाइएका आरोप प्रमाणित गर्न महासचिव पोखरेलको चुनौती
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बद्नाम गर्ने प्रयास भइरहेको दाबी गर्नुभएको हो । उहाँले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेट लगायतका प्रकरणमा एमालेलाई विनाकारण मुछिएको उल्लेख गर्नुभयो । आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचार कसरी हुन्छ ? महासचिव पोखरेलको प्रश्न छ । कतिपय विषयमा नीतिगत निर्णय मात्र भएका र कतिपयमा नीति निर्माणको प्रक्रिया पनि शुरु नभएको विषयमा पार्टीमाथि बद्नाम गरिएको बताउनु भयो । पैसाको कारोबार नै नभएको विषयमा भ्रष्टाचार भयो भन्नु निराधार रहेको उहाँको दाबी छ । महासचिव पोखरेलले हाल एमाले सरकारमा नरहेको अवस्थामा सरकारले ती आरोपहरू पुष्टि गरेर देखाउनुपर्ने बताउनु भयो ।
१८. ईपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप
त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ । ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको छ । राहदानी लिनका लागि लामवद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ । यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिवार र आईतवार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।
१९. अब रास्वपा नेपालको राजनीतिमा लामो समयको चुनौती होइनः महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदय भएको छ, यसको पतनको सम्भावना पनि उत्तिकै रहेको दाबी गर्नुभएको हो । उहाँले रास्वपा नेपाली राजनीतिको लागि दीर्घकालीन चुनौती नभएको उल्लेख गर्दै यसलाई सहजै सामना गर्न सकिने बताउनु भयो । रास्वपाजस्ता शक्तिलाई सामना गर्न एमालेले आफूलाई वैचारिक र सांगठनिक रूपमा तयार पार्नुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव पोखरेलले पार्टीबाट टाढिएको नयाँ पुस्ता, आधारभूत वर्ग र मध्यम वर्गको भरोसा पुनः जित्न आवश्यक रहेको औंल्याउनु भयो ।
२०. अन्तिम श्रृङ्खलामा राम्रो गर्दै एकदिवसीय मान्यता जोगाउँछौः कप्तान रोहित पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्स भ्रमणमा चार हार सामना गर्दा समर्थकभन्दा टिम निराश रहेको बताएका छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्स र नामिबिया सम्मिलित श्रृङ्खलाको खेलमा नेपाल पराजित भएको थियो । यो हारसँगै विश्वकप लिग–२ को शिर्ष चारमा रहेर एकदिवसीय विश्वकपको छनोटको यात्रा र एकदिवसीय मान्यता संकटमा देखिएको छ । शुक्रवार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान रोहितले नेदरल्याण्ड्सको नतिजाबाट समर्थकभन्दा धेरै आफ्नो टोली निराश रहेको बताएका हुन् । भ्रमणमा लिएको आशाअनुरूप खेल्न नसक्नुले निराश रहेको र अब आगामी ओमान श्रृङ्खलामा केन्द्रित हुने रोहितले बताएका छन् ।
२१. अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपालमा व्यावसायिक र विशिष्टीकृत अदालती रिपोर्टिङको आवश्यकता रहेको बताउनुभएको छ । शुक्रवार सर्वोच्च अदालतमा आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाको गरिमा र कानूनी जटिलतालाई बुझेर गरिने रिपोर्टिङले मात्र लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभएको हो । न्यायाधीश फुयाँलले हाल मूलधारका सञ्चारमाध्यमले गर्ने रिपोर्टिङमा संस्थागत वैचारिक झुकाव (इन्क्लिनेसन) देखिने गरेको र त्यसले अदालतको वास्तविक छविमा असर पु¥याउने गरेको बताउनु भयो । अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै उहाँले भारतका ‘लाइभ ल’ र ‘बार एण्ड बेन्च’ जस्ता सञ्चार माध्यमहरूले केवल न्यायपालिका र कानूनी क्षेत्रका समाचार मात्र संप्रेषण गर्ने गरेको उल्लेख गर्नुभयो ।
२२. अदालती बिट हेर्ने पत्रकारका लागि न्यूनतम कानूनी योग्यता आवश्यकः नेपाल बार अध्यक्ष मिश्र
नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले अदालती बिटमा कार्यरत पत्रकारहरूको न्युनतम कानूनी योग्यता र न्यायिक मर्यादाको ज्ञान हुनुपर्ने बताउनुभएको छ । शुक्रवार सर्वोच्च अदालतमा आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष मिश्रले कानून पत्रकारिता र अदालतको बिट हेर्ने जनशक्तिको कानूनी योग्यताका विषयमा बारम्बार बहस हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा अब ठोस निर्णयमा पुग्नुपर्ने आवश्यकता औँल्याउनु भयो । सो अवसरमा उहाँले कृष्णप्रसाद सिग्देलद्वारा लिखित ’कानून पत्रकारिता’ पुस्तकको चर्चा गर्दै यसलाई अदालती पत्रकारिताको क्षेत्रमा एक आधिकारिक प्रकाशनको रूपमा चित्रण गर्नुभयो ।
२३. ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’ः पूर्वराष्ट्रपति डा. यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ । मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गर्नुभएको भेटघाटपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा. यादवले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । शितल निवासमा भएको उक्त छलफलमा पूर्वराष्ट्रपति यादवसहित पूर्वउपराष्ट्रपति परमानन्द झा लगायत विशिष्ट पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
२४. ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी
राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसमा देखिएको सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताउनु भयो । अध्यक्ष अन्सारीकाअनुसार सुनसरीमा डिजेको विषयलाई लिएर भएको सामान्य विवादले साम्प्रदायिक रूप लिनु र गोली चल्नेसम्मको परिस्थिति सिर्जना हुनु देशकै लागि घातक छ । भेटका क्रममा अन्सारीले गोली चलेको विषयमा प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइप्रति पनि प्रश्न उठाउनु भयो । शुरुमा प्रहरीले गोली नचलाएको दाबी गरे पनि भोलिपल्टै प्रधानमन्त्री कार्यालयबाट प्रहरीले गोली चलाएको कुरा आउनुले घटनालाई रहस्यमय बनाएको उहाँको तर्क छ ।
२५. अमेरिका र इरानलाई ‘इस्लामावाद समझदारी’मा फर्काउन पाकिस्तान सक्रिय
अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न र दुवै पक्षलाई ‘इस्लामावाद समझदारी पत्र’ को दायरामा फर्काउन पाकिस्तानले आफ्नो कुटनीतिक प्रयासलाई तीव्रता दिएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्ड्राबीले बिहीवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो । प्रवक्ता अन्ड्राबीकाअनुसार हर्मुज जलडमरुमध्यको अवस्थालाई सामान्य बनाउन र विद्यमान तनाव न्युनिकरणका लागि सम्बन्धित पक्षहरूबीच वार्ता जारी छ ।
२६. अस्ट्रेलियाको मुद्रास्फीति दर घटेर ३.८ प्रतिशतमा सिमित
अस्ट्रेलियाको वार्षिक उपभोक्ता मुद्रास्फीति दर जुन महिनामा घटेर ३.८ प्रतिशत कायम भएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीतिमा आएको यो गिरावट अर्थशास्त्रीहरूको अनुमानविपरीत देखिएको हो । अर्थशास्त्रीहरूले जुन महिनामा मुद्रास्फीति ४.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए । यसअघि मे महिनामा अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ४.० प्रतिशत रहेको थियो । अस्ट्रेलियाको केन्द्रिय बैंक ’रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए) ले भने जुन महिनामा मुद्रास्फीति दर ४.८ प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण गरेको थियो । त्यस्तै, केन्द्रीय बैंकले मुद्रास्फीति मापनका लागि बढी प्राथमिकता दिने ‘ट्रिम्ड मीन’ (अन्तरनिहित मुद्रास्फीति) ३.८ प्रतिशत पुग्ने अनुमान गरे पनि जुन महिनामा यो ३.६ प्रतिशतमा नै स्थिर रहेको एबीएसले जनाएको छ ।
२७. इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति
मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्दै जाँदा अमेरिकी सेनाले बुधवार राति इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ । तेहरानले अघिल्लो दिन गरेको मिसाइल आक्रमणको जवाफमा अमेरिकाले यो सैन्य कारबाही गरेको हो । अमेरिकी सेन्ट्रल कमान्डकाअनुसार बुधवार राति पूर्वी समय १० बजे (जीएमटी बिहीवार ०२०० बजे) इरानका विभिन्न सैन्य लक्ष्यहरूमाथि ‘ठूलो स्तरको आक्रमण’ गरिएको थियो । यो कारबाही इरानले गरेको मिसाइल प्रहारको प्रयासको प्रतिक्रियास्वरुप गरिएको सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेको छ । यस कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित दर्जनौँ स्थानहरूलाई निशाना बनाएको छ । आक्रमणमा मुख्यतया सैन्य कमान्ड सेन्टर, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी तथा रक्षा साइटहरू र सामुद्रिक सैन्य क्षमता भएका क्षेत्रहरूलाई लक्षित गरिएको सेन्ट्रल कमान्डले जनाएको छ ।
२८. जापानको कुमामोतो भूकम्पः मृतकको संख्या ३४ पुग्यो
जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । कुमामोतो प्रान्तीय सरकारले बिहीवार दिएको पछिल्लो जानकारीअनुसार खोजी तथा उद्धार कार्य जारी रहँदा मृतकको संख्यामा थप वृद्धि भएको हो । गत केही दिनयता क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर आएका शक्तिशाली भूकम्प र त्यसपछिका निरन्तर पराकम्पहरूका कारण उक्त क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । भूकम्पका कारण कयौँ घर तथा भौतिक संरचनाहरू ध्वस्त भएका छन् भने विभिन्न स्थानमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको छ । अधिकारीहरूकाअनुसार भग्नावशेषमा अझै केही मानिसहरू पुरिएको आशंकामा उद्धारकर्मीहरूले खोजी कार्यलाई तिब्रता दिएका छन् । प्रभावित क्षेत्रका हजारौँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
२९. सिरियाको दारा प्रान्तमा इस्राइली सैन्य हस्तक्षेपः कृषि र जनजीवन प्रभावित, स्थानीयमा त्रास
सिरियाको दक्षिणी प्रान्त दाराका बासिन्दाहरूले बारम्बार भइरहेको इस्राइली सैन्य घुसपैठका कारण आफ्नो दैनिक जनजीवन र जीविकोपार्जनमा गम्भीर असर परेको बताएका छन् । इजरायली सेनाको उपस्थितिले कृषि कार्यमा अवरोध पुग्नुका साथै स्थानीय परिवारहरूमा त्रास फैलाएको छ । हालैको एक सैन्य अभियानका क्रममा इस्राइली सेनाले सैन्य वाहन र बुलडोजर प्रयोग गरी यार्मुक बेसिन अन्तर्गतका मारिया र अल–आर्डा गाउँहरूमा प्रवेश गरेको थियो । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इस्राइली बलले त्यहाँ नयाँ सडक निर्माण गर्नुका साथै अस्थायी चेकपोइन्ट स्थापना गरेको छ । साथै, सैन्य गतिविधिमा अवरोध नगर्न चेतावनी दिँदै स्थानीय बासिन्दाहरूलाई पर्चाहरू समेत वितरण गरिएको छ ।
३०. उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्यको भएको शिक्षामन्त्री पोखरेलको दाबी
शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा भएका राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिष्पर्धामार्फत पदपूर्ति गरिएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार हाल नौ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् भने बाँकी विश्वविद्यालयहरुमा नियुक्ति प्रक्रिया अगाडि बढेको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, सदस्यसहित अन्य उच्च पदस्थ पदाधिकारीको नियुक्ति सम्पन्न भइसकेको तथा बाँकी रिक्त पदहरूको पदपूर्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
३१. कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’
नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुन आग्रह गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले संसद चलिरहेको समयमा मुलुकमा उत्पन्न विषयहरुमा प्रधानमन्त्रीले संसदमार्फत नागरिकलाई सम्बोधन गर्न नचाहाँदा गम्भीर आशंका उत्पन्न भएको बताउनु भयो । उहाँले किन प्रधानमन्त्रीजी पर्दाभित्रबाट देशको शासन चलाउन चाहानुहुन्छ ? उहाँलाई के गाह्रो भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्रीले पारदर्शी र उत्तरदायी भएर काम किन कठिनाई भइरहेको छ भन्ने कुरा भन्न सक्नुपर्ने बताउनु भयो । उहाँले सरकारलाई मुलुक र जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने कुरामा आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।
३२. प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले उत्पादनशील प्रतिफल नदिने पूर्वाधारमा अन्धाधुन्ध ऋण लगानी गर्दा मुलुक दीर्घकालीन ऋण संकटतर्फ धकेलिने चेतावनी दिनुभएको छ । बिहीबार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘सार्वजनिक ऋणः परिमाण, परिचालन, उत्पादकत्व र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक वा वाह्य ऋण लिने विषयलाई केवल अर्थ मन्त्रालयको जिम्मेवारीका रूपमा मात्र नहेरी संसद, नागरिक समाज र सरोकारवाला निकायले यसको औचित्य, उपयोग र प्रतिफलमाथि निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जलविद्युत, सिंचाइ र शिक्षाजस्ता क्षेत्रमा लगानीका लागि ऋण लिने गरिए पनि सुशासन, शासन प्रणालीमा सुधार र कानुनी शासनको सुदृढीकरणका क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको टिप्पणी गर्नुभयो ।
३३. प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर बुझ्नुस्, भाउ नखानुस्’
नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले अल्पसंख्यक समुदायले आफूलाई असुरक्षित र बहुसंख्यक समुदायले आफूलाई असम्मानित महशुस गर्ने अवस्था सिर्जना हुँदा तथा राज्यले दंगा रोकथामका अग्रिम उपाय बेवास्ता गरी बल प्रयोगलाई प्राथमिकता दिँदा सुनसरीको कप्तानगञ्जमा भएको घटना मधेशभर फैलिएको आरोप लगाउउनु भयो । उहाँले मधेसमा उत्पन्न तनावबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहनुले सरकारको जवाफदेहितामाथि थप प्रश्न उठाएको टिप्पणी गर्नुभयो ।
३४. फरेन्सिक नमूना भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छः मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले फरेन्सिक तथा जैविक नमुना दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पुनले यस्तो फरेन्सिक नमूना सुरक्षित रुपमा दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथिको छलफलका क्रममा उहाँले नमूना भण्डारण अवधि र व्यवस्थापनसम्बन्धी प्रावधान नियमावलीमार्फत स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले विधेयकमा फरेन्सिक नमूना भण्डारणको व्यवस्था गर्नुपर्ने व्यवस्था राख्दै नियमावलीमार्फत कुन प्रकारको नमुना कति समयसम्म भण्डारण गर्ने भनि निर्धारण गर्नुपर्ने बताउनु भयो ।
३५. मधेशमा उत्पन्न साम्प्रदायिक घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले साम्प्रदायिक उन्माद कुनै पनि समाज र राष्ट्रका लागि घातक हुने चेतावनी पनि दिनुभयो । उहाँले सुनसरी र सिरहासहित मधेशी जिल्लामा उत्पन्न तनाव कम गर्न राज्यको प्रतिक्रियामा ढिलाई भएको टिप्पणी गर्नुभयो । सरकारले अहिले देखाइरहेको संवेदनशीलता दुई दिनअघि नै देखाएको भए अवस्था यति जटिल नबन्नसक्ने उहाँको दाबी छ । सांसद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम गर्न खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँलाई धन्यवादसमेत दिनुभयो ।
३६. मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालद्वारा चिन्ता व्यक्त
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उर्मिला अर्यालले मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्न सबै राजनीतिक दल र नागरिक समाजका अगुवाले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुनसरीसहित मेधशी जिल्लामा उत्पन्न धार्मिक दंगा नियन्त्रणमा सरकारको सुरक्षा संयन्त्रको कमजोरी भएको समेत बताउनु भयो । उहाँले तनाव सिर्जना हुनेबित्तिकै सरकारले हस्तक्षेप गरेर संवाद गरेको भए यस्तो अवस्था नआउने बताउनु भयो । उहाँले मधेशमा विभिन्न धर्मावलम्बीहरुका धार्मिकस्थल समेत रहेको उल्लेख गर्दै सोहीअनुसार सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सक्नुपर्ने बताउनु भयो ।
३७. विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमा डीएनए डाटा बैंकसम्बन्धी व्यवस्था थप स्पष्ट गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा डिएनए डाटा बैंकमा डिजिटल नमूनाहरु भण्डार गर्न मिल्ने कि नमिल्नेबारेमा स्पष्ट व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले फरेन्सिक भण्डारको लागि कुन प्रकारको नमूना प्राकृति रुपमा कति समयसम्म भण्डारण गर्न मिल्छ सोहीअनुसार भण्डारको अवधि तोकिनुपर्ने बताउनु भयो । सांसद थापाले अन्य डिजिटल प्रमाणका हकमा भने कानुनले तोकेको अवधिसम्म मात्र सुरक्षित राखी त्यसपछि नष्ट गर्ने व्यवस्था हुनुपर्ने बताउनु भयो ।
३८. सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको सांसद झाँक्रीको आरोप
नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसावले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारको संघीयतासम्बन्धी धारणा सकारात्मक दिशामा नरहेको टिप्पणी गर्नुभयो । उहाँले सुनसरीसहित मधेशमा उत्पन्न धार्मिक तनाव उत्पन्न हुनुमा पहाडी–मधेशी भनेर विभाजित गर्ने प्रवृत्तिको उपज भएको बताउनु भयो । उहाँले नेपालको विशिष्ट राजनीतिक र सामाजिक परिस्थितिका कारण संघीय व्यवस्था आएको उल्लेख गर्दै यसको मूल उद्देश्य राज्यको सेवा प्रवाह र अधिकारको विकेन्द्रीकरण रहेको स्पष्ट पार्नुभयो ।
३९. सरकारी वार्ता टोलीलाई लघुवित्त पीडितले बुझाए १४ बुँदे मागसहित ज्ञापन पत्र
आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच दोस्रो दिनको वार्ता जारी छ । बिहीवार निष्कर्षमा पुग्न नसकेपछि शुक्रवारदेखि पुनः शुरु भएको हो । यही बिच लघुवित्त पीडितको अर्को समूहले सरकारी वार्ता टोलीलाई १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न तत्काल कदम चाल्न माग गरेको छ । त्यस्तै, लघुवित्त संस्था खारेज गरी अन्यायपूर्ण ऋण मिनाहा गर्न, बैंक तथा वित्तीय संस्थाले गरिरहेको धितो लिलाम तत्काल रोक्न, कालोसूची व्यवस्था खारेज गर्न तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समेत माग गरेको छ ।
४०. सार्वजनिक ऋणलाई अनावश्यक डरको विषय बनाइयोः पूर्वगभर्नर नेपाल
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा विस्तार गर्नुहुँदैन भन्ने भाष्य निर्माण हुँदा मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताउनुभएको छ । बिहीवार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित सार्वजनिक ऋणः परिमाणा, परिचालन, उत्पादकत्व र भावी रणनीति विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला तीन–चार वर्षयता कर्जा विस्तार ६–७ प्रतिशतभन्दा माथि जान नसक्नु मुलुकको अर्थतन्त्रका लागि चिन्ताको विषय भएको बताउनु भयो । उहाँले नेपालमा सार्वजनिक ऋणलाई लिएर अनावश्यक नकारात्मक धारणा बनाइएको टिप्पणी गर्दै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव ४५ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण अन्तर्राष्ट्रिय मापदण्डअनुसार धेरै नभएको बताउनु भयो ।
४१. सुनसरी घटनालाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना
सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सभाको शुक्रवारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरुले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । मधेसमा उत्पन्न धार्मिक तनावबारे सदनलाई जवाफ दिनको लागि सरकारलाई रुलिङ गर्न अध्यक्षको समेत ध्यानाकर्षण गराए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई जवाफ दिनुपर्ने बताउनु भयो ।
४२. सुनसरी घटनामा सरकारको व्यवहार ‘आफैँ धामी, आफैं झाँक्री’जस्तोः सांसद बिष्ट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सुनसरीलगायत मधेुका जिल्लामा भएका हिंसात्मक घटनामा सरकार जिम्मेवार रहेको अरोप लगाउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिष्टले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गृहमन्त्री सुधन गुरुङ स्वंय पीडित परिवारसँग सहमति गर्दै हिँडेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले प्रमुख जिल्ला अधिकारीमार्फत गर्नुपर्ने काम गृहमन्त्रीले आफैँ गर्नु वााञ्छनीय नभएको बताउनु भयो । मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा भइरहेका घटनाहरु सरकारको गम्भीर कमजोरीको परिणाम भएको उहाँको भनाइ छ । सांसद बिष्टले सरकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका अभिव्यक्तिले जनतामा थप निराशा पैदा गरेको आरोप पनि लगाउनु भयो ।
४३. सुनसरीसहित मधेशी जिल्लामा उत्पन्न धार्मिक तनाव कम गर्न सरकारले तत्काल समाधान खोजोस्ः सांसद ढुंगाना
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीलगायत मधेशी जिल्लामा उत्पन्न धार्मिक तनाव कम गर्न तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद ढुंगानाले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सुनसरीको नेपालगञ्जमा गोली चलाउनुपर्ने अवस्था किन आयो ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले गृहमन्त्री सुधन गुरुङले सुनसरीमा सातबुँदे सहमति गरेको जानकारी पाए पनि उक्त सहमति के उद्देश्यका लागि भएको भन्नेबारे सदनलाई जानकारी दिनुपर्ने समेत बताउनु भयो । उहाँले ढुंगानाले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले जातीय तथा धार्मिक सद्भाव खल्बलिने घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले स्वयं अग्रसरता लिएर उत्पन्न तनाव कम गर्नुपर्नेमा वक्तव्य जारी गरेर पन्छिन खोजेको आरोप पनि लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij