Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

नेकपा बैठकले गर्‍याे ६ बुँदे निर्णय

नेकपा बैठकले गर्‍याे ६ बुँदे निर्णय


  • 827
    Shares

    • images
    नेकपा बैठकले गर्‍याे ६ बुँदे निर्णय
    images

    काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक सम्पन्न भएकाे छ। 

    शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता तथा पार्टीका सहसंयोजक क. माधव कुमार नेपालको सञ्चालनमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बैठक सम्पन्न भएकाे हाे  ।

    १. हालै सुनसरी, सिरहा लगायत तराई–मधेशका विभिन्न क्षेत्रमा विभिन्न समूहबीच भएको द्वन्द्वका कारण तीन जनाको मृत्यु तथा ठूलो संख्यामा मानिसहरू घाइते भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । सुनसरी तथा सिरहाका घटनामा ज्यान गुमाउनुभएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस्तो गम्भीर परिस्थिति उत्पत्तिका कारणहरू, झडपका घटनाहरू तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न यो बैठक सरकारसँग माग गर्दछ।

    २. नेपाली समाज धार्मिक, सामाजिक, सांस्कृतिक सहिष्णुता, आपसी सद्भाव र पारस्परिक एकताको बलियो आधारमा उभिएको समाज हो । इतिहासका जटिल समयमा समेत नेपाली जनताले विविधतामा एकताको अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् । वर्तमान परिस्थितिमा पनि देशका विभिन्न भूभागका जनताले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको पक्षमा देखाएको ऐक्यबद्धता स्वागतयोग्य छ । परिस्थितिलाई सामान्य बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सामाजिक क्षेत्रबाट व्यक्त भएको साझा प्रतिबद्धता र पहल प्रशंसनीय छन् । पार्टीको यो बैठक सबै पक्षबाट भएका यस्ता प्रयासको निरन्तरता रहने विश्वास व्यक्त गर्दछ ।

    . धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न नेपालमा सबै जाति, भाषा, धर्म, वर्ग र भूगोलबीचको सहअस्तित्व, पारस्परिक सम्मान र साझा विश्वासबाट नै साँचो अर्थमा राष्ट्रिय एकता सुदृढ हुन्छ । हाम्रो पार्टी सामाजिक, धार्मिक र सांस्कृतिक विविधता र त्यस क्षेत्रको राष्ट्र निर्माणको आधार बन्नुपर्छ, विभेद, द्वेष र हिंसाको आधार बनाउनु हुँदैन भन्ने मान्यतामा दृढ छ । अझ नेपालजस्तो संवेदनशील भूराजनीतिक स्थितिमा रहेको हाम्रो देशमा कुनै बाह्य शक्तिले चलखेल गर्ने स्थिति नबनोस् भन्नेतर्फ समेत सजग रहन सम्बन्धित सबैमा विशेष आग्रह गर्दछौं । यस सन्दर्भमा राज्य सञ्चालनको जिम्मेवारीमा रहेका सरकारको भूमिका प्रमुख, निर्णायक र अत्यन्त महत्त्वपूर्ण रहन्छ। तर प्रधानमन्त्री र सरकारले परिस्थितिको गम्भीरतालाई आवश्यक राजनीतिक संवेदनशीलताका साथ पहल र सम्बोधन गर्नुको सट्टा यसको केवल प्रशासनिक, प्राविधिक र शक्ति प्रयोगद्वारा समाधान खोज्नेतर्फ बढी केन्द्रित हुनु दुःखद छ। परिस्थितिको यथोचित मूल्याङ्कन गर्दै उचित पाइला चाल्नेतर्फ सरकारको नेतृत्व गर्नेहरू संवेदनशील भएर तत्पर रहेको देखिएन । अतः यो बैठक सरकारलाई राजनीतिक रूपमा नागरिकसँग संवाद गर्न, सबै सरोकारवालालाई विश्वासमा लिन तथा समस्याको राजनीतिक र दिगो समाधानका लागि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दछ ।

    ४. हाल विकसित भएको असामान्य तथा संवेदनशील परिस्थितिको आडमा सामाजिक द्वन्द्व र घटनालाई उपयोग गर्दै नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर पार्ने, स्थानीय अवस्थालाई थप भड्काउने, विभिन्न समुदायबीच वैमनस्य, घृणा, अविश्वास र तनाव सिर्जना गरी आफ्नो निहित राजनीतिक स्वार्थ पूरा गर्न खोज्ने कुनै पनि प्रवृत्ति, षड्यन्त्र वा गतिविधिप्रति केन्द्रीय कार्य संयोजन समितिको यो बैठक गम्भीर रूपमा सचेत रहन सम्पूर्ण नेपाली जनतासमक्ष आह्वान गर्दछ । साथै यस्ता विभाजनकारी र उत्तेजनात्मक हरेक प्रयासलाई असफल पार्न सबै लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरू एवं हाम्रो पार्टी पङ्क्तिलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछ ।

    ५. सामाजिक सद्भाव र एकता कायम गर्दै देश र जनताको हित रक्षा गर्न केन्द्रीय कार्य संयोजन समितिको यो बैठक हाम्रो पार्टीका विभिन्न स्तरका पार्टी समितिहरु, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल र संघसंस्थाहरूसँग संवाद गर्दै संवाद, बैठक र सद्भाव र्याली जस्ता कार्यहरू गर्न अग्रसर रहन हार्दिक आग्रहका साथ निर्देशित गर्दछ ।

    ६. तराई–मधेशमा उत्पन्न परिस्थितिलाई देश र जनताको हित अनुरूप समाधान गर्नुपर्छ । यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो । शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको रक्षा गर्दै संविधान तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्नु सबैको साझा दायित्व हो । त्यसैले केन्द्रीय कार्य संयोजन समितिको यो बैठक सरकार, सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली जनतालाई आपसी विश्वास, संयम, निरन्तर संवाद र जिम्मेवारीपूर्ण व्यवहारका साथ अघि बढ्न पुनः हार्दिक अपिल गर्दछ। 

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १८:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij